गजेन्द्रबाबु विनाको मधेस राजनीति

Read Time = 14 mins

✍️ श्रीमन नारायण

नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेसी नेता गजेन्द्रनारायण सिंहको निधन भएको २१ वर्ष बितिसकेको छ । उनको निधनपश्चातका दुई दशकमा देशको राष्ट्रिय राजनीतिमा धेरै आरोह-अवरोध तथा घटना भए । जननिर्वाचित संविधानसभामार्फत देशको संविधानको निर्माण भएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । देशमा राजनीतिक स्थायित्व कायम भई स्थायी शान्तिको अनुभूति जनताले गरिरहेका छन् । जननिर्वाचित प्रतिनिधिहरू संघीय सरकार तथा प्रादेशिक सरकारको नेतृत्व गरिरहेका छन् ।

मधेसवादी दलहरू पटक–पटक सरकारमा सहभागी भएका छन् । मधेस प्रदेशमा लगातार दोस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर पनि यसले प्राप्त गरेको छ तर तराई मधेसका आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा खासै प्रगति भएको छैन । गजेन्द्रनारायण सिंह जुन मूल्य, मान्यता एवं सिद्धान्तमा आधारित राजनीति गरिरहेका थिए त्यसको अब पटाक्षेप भइसकेको छ । स्वयं उनकै अनुयायीहरूले पनि परिवारवाद र जातिवादको राजनीतिलाई महत्व दिएका छन् तथा मधेसको मुद्दालाई मागिखाने भाँडो बनाएका छन् । गजेन्द्रनारायण सिंहद्वारा स्थापित नेपाल सद्भावना पार्टीको अस्तित्व पनि अब नेपालको राजनीतिमा छैन ।

एउटा राजनीतिक व्यक्ति आफ्नो विचारबाट जिउँदो रहन्छ उनको नाममा खोलिएका अस्पताल तथा विद्यालयबाट होइनन् । महात्मा गान्धी, माक्र्स, लेनिन, बीपी कोइराला र मदन भण्डारीहरू आफ्ना विचारका कारण आदर्श पुरुष मानिन्छन् । अस्पताल तथा विद्यालयबाट होइन ।

विस २०४७ सालमा नेपाल सदभावना पार्टीको स्थापना गरी उनले अघि सारेका कतिपय मागको सम्बोधन भइसकेको छ भने कतिपय मागप्रति मधेसी नेताहरू नै गम्भीर छैनन् । गजेन्द्रनारायण सिंह मधेसवादी नेता थिए तर देश एवं लोकतन्त्र उनको निम्ति सर्वोपरि थियो । इमानदारी, नैतिकता, सदाचार, अनुशासन एवं दलित प्रेम उनको राजनीतिको प्रमुख अस्त्र हने गर्दथ्यो । जातिवाद, परिवारवाद र भ्रष्टाचारका उनी घोरविरोधी थिए । मधेसी समस्याको समाधानको निम्ति उनले शान्तिपूर्ण संघर्षको बाटोलाई रोजेका थिए । नेपालको भूगोलभित्र तथा देशको संविधानअन्तर्गत मधेसी समस्याको समाधान होस् भन्ने उनको चाहना थियो । उनले देशमा व्याप्त आर्थिक, सामाजिक एवं राजनीतिक असमानताको अन्तय भएको हेर्न चाहन्थे ।

वर्तमान अवस्थामा उनीद्वारा स्थापित नेपाल सद्भावना पार्टी समाप्त भएको पनि सात वर्ष बितिसकेको छ । उनले अघि सारेका ‘जय मातृभूमि’ को राजनीतिक अभिवादनलाई हृदेश त्रिपाठी नेतृत्वको नवगठित जनता प्रगतिशील पार्टीबाहेक अरू सबै मधेसी दलले तिलाञ्जलि दिइसकेको अवस्था छ । गजेन्द्रनारायण सिंहको नाम अब केही व्यक्तिको निम्ति कमाई खाने भाँडोमात्रै सावित भइरहेको छ । उनीद्वारा स्थापित राजनीतिक पार्टीलाई समाप्त गर्नेहरू अब उनको नाममा प्रतिष्ठान खोलिरहेका छन् तथा त्यस प्रतिष्ठानको आवरणमा पैसा कमाउने काम भइरहेको छ ।

एउटा राजनीतिक व्यक्ति आफ्नो विचारबाट जिउँदो रहन्छ उनको नाममा खोलिएका अस्पताल तथा विद्यालयबाट होइनन् । महात्मा गान्धी, माक्र्स, लेनिन, बीपी कोइराला र मदन भण्डारीहरू आफ्ना विचारका कारण आदर्श पुरुष मानिन्छन् । अस्पताल तथा विद्यालयबाट होइन । गजेन्द्रनारायण सिंहको राजनीतिक यात्रा राणाविरोधी आन्दोलनमा सक्रिय सहभागिताबाट सुरु भएको थियो । नेपाली कांगेसमा आबद्ध रहेर उनले राजनीतिक यात्राको थालनी गरे । विसं २०१५ सालको आमनिर्वाचनमा उनी नेपाली कांगेस सप्तरीका जिल्ला अध्यक्ष थिए । विसं २०१७ सालको घटनापश्चात निर्वाचनमा उनी भारत गए ।

प्रजातन्त्रवादी भएकै कारण उनलाई पटक-पटक जेलमा राख्ने काम भएको थियो । उनी जेलमा छँदा नै उनकी आमाको निधन भएको थियो । प्रहरीले हातमा हतकडीसहित नै उनलाई आमाको दाहसंस्कारमा सहभागी गराएको थियो । उनी हिरासतमै हुँदा उनको एकमात्र छोराको निधन भएको थियो । त्यसपछि बाँचुञ्जेलसम्म उनी सन्तानविहीन भएर बाँचे । विसं २०३२ सालतिर नेपाली कांग्रसका केही शीर्ष नेताहरूसित मतभेद हुँदा उनले भद्रकाली मिश्रसित मिलेर पूर्वाञ्चल कांग्रेसको स्थापना गरे । विसं २०३६ सालमा बहुदलीय संसदीय व्यवस्थाको पक्षमा उनी खुलेर लागे तर त्यस निर्वाचनमा निर्दलीय व्यवस्थाको जित भएको थियो ।

विसं २०४० सालमा तत्कालीन पञ्चायती शासकले देशमा बढ्दो जनसंख्याको बारेमा कारण पत्ता लगाउन जनसंख्याविद् डा.हर्कबहादुर गुरुङको संयोजकत्वमा एउटा आयोगको गठन गरेको थियो । त्यस आयोगको प्रतिवेदनको विरोधमा गजेन्द्रनारायण सिंहले रामजनम तिवारीसित मिलेर राजदरबारमा ज्ञापन दिएका थिए । तराई-मधेसका जिल्ला सदरमुकाममा यसको विरोध भएको थियो । अन्ततः त्यो प्रतिवेदन कार्यान्वयन भएन । त्यतिबेला नै उनले नेपाल सद्भावना परिषद्को गठन गरेका थिए । यसको उद्देश्य तराई-मधेसको भाषा संस्कृतिको विकास गर्नु थियो । विसं २०४३ सालको आमनिर्वाचनमा उनी सप्तरीबाट राष्ट्रिय पञ्चायतको सदस्यको रूपमा निर्वाचित भए । राष्ट्रिय पञ्चायतका सदस्य भएका नाताले उनी राजाको प्रशंसा त गर्दथे तर आफ्नो प्रत्येक सम्बोधनमा उनले देशमा कायम आर्थिक, सामाजिक एवं राजनीतिक भेदभावको विरोध गर्दै त्यसको अन्त्य हुनुपर्ने माग पनि गर्दथे ।

विसं २०४६ सालको अन्त्यमा पञ्चायतीविरोधी आन्दोलनमा नेपाल सद्भावना परिषदुका नेता एवं कार्यकर्ताहरूको सहभागिता रहेको थियो । जनआन्दोलनको सफलतापश्चात् २०४७ साल वैशाखको पहिलो सातामा नेपाल सद्भावना पार्टीको स्थापना भएको थियो । गजेन्द्रनारायण सिंह विसं २०४७ सालको जनकपुर, २०५० सालको वीरगञ्ज, विसं २०५४ सालको विराटनगर महाधिवेशनबाट पार्टीको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टीको स्थापना गर्दा अघि सारेका महत्वपूर्ण मागमध्ये नागरिकता समस्याको समाधान भइसकेको छ भने देशमा मधेसी, दलित, खसआर्य, महिला एवं जनजातिहरूको निम्ति आरक्षण (समानुपातिक समावेशी) लागू भइसकेको छ । सामाजिक, आर्थिक एवं सामुदायिक एकरूपताको आधारमा उनले नेपालमा पूर्वी पहाड, पूर्वीतराई, काठमाडौं-उपत्यका, पश्चिमी पहाड एवं पश्चिमी तराई गरी पाँच प्रदेशको वकालत गरेका थिए तर त्यो सम्भव भएन ।

अब आठ जिल्लाको मधेस प्रदेश घोषित गरिएको छ । देश संघीय संरचनामा जानु पनि गजेन्द्रनारायण सिंहको सपना साकार हुनु हो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको गठनसम्बन्धी उनको महत्वपूर्ण मागको पनि सम्बोधन करिब करिब भइ नै सकेको छ । नेपाली सेनामा मधेसी युवाहरूको प्रवेशप्रति सरकारले लचिलो नीति अपनाएको छ । गएको तीन दशकमा कतिपय मधेसी युवाहरू सेनामा सहभागी पनि भएका छन् । प्रहरीको तुलनामा सेनामा प्रवेशको बाटो त्यति सहज र सरल हुँदैन किनभने त्यहाँ कठिन शारीरिक अभ्यास एवं प्रशिक्षणहरू गर्नुपर्ने हुन्छ, शायद त्यही भएर होला पढेलेखेका मधेसी युवाहरू अध्यापन, प्रशासन एवं प्राविधिक पदको जागिरमा बढी ध्यान केन्द्रित गर्ने गर्दछन् ।

उनी बाँचुञ्जेलसम्म तराई मधेसमा कुनै सशस्त्र समूह अस्तित्वमा आएको थिएन र कसैले राष्ट्र«विखण्डनको कुरा पनि गरेको थिएन । उनी बाँचुञ्जेलसम्म उनको पार्टीले बन्द, हड्ताल तथा हिंसक प्रदर्शन जस्ता विरोधका कार्यक्रम गरेन ।

संघीय लोकतान्त्रिक शासन प्रणालीलाई विश्वमा अहिलेसम्मकै सर्वाधिक उत्तम शासन प्रणाली मानिएको छ किनभने यसमा जननिर्वाचित प्रतिनिधिहरूको नेतृत्वमा सरकारको गठन भएको हुन्छ । जननिर्वाचित प्रतिनिधिहरू देशको संसदप्रति जिम्मेवार हुन्छन् । गजेन्द्रनारायण सिंहले उठाएका केही प्रमुख मुद्दामध्ये मधेसी भूमिहीनलाई पनि बसोवासको निम्ति अन्य सुकुम्बासीले पाउने गरेका सुविधा प्रदान गरिनु, हिन्दीलाई नेपालको दोस्रो राष्ट्रभाषाको दर्जा तथा मातृभाषामा प्राथमिक शिक्षाको प्रावधान जस्ता विषय अहिले त्यति बढी प्राथमिकतामा रहेको देखिँदैन ।

गजेन्द्रनारायण सिंह शान्तिपूर्ण एवं अहिंसक राजनीतिको माध्यमबाट समस्याको समाधान चाहन्थे । उनी बाँचुञ्जेलसम्म तराई मधेसमा न त कुनै सशस्त्र समूह अस्तित्वमा आएको थियो न त कसैले राष्ट्रविखण्डनको कुरा नै गरेको थियो । उनी बाँचुञ्जेलसम्म उनको पार्टीले बन्द, हड्ताल तथा हिंसक प्रदर्शनजस्ता विरोधका कार्यक्रम गरेन । विसं २०५० सालमा गजेन्द्रनारायण सिंह आफ्नै नेतृत्वमा नौ दिनसम्म राजधानी काठमाडौंमा अनशनमा बसेका थिए जबकि विसं २०५५ सालमा पार्टीका नेताहरू १० दिनसम्म आमरण अनशनमा बसेका थिए । नेपालमा अनशनको राजनीतिलाई बढी चर्चामा ल्याउने काम गजेन्द्रनारायण सिंहले नै गरेका थिए । गजेन्द्रनारायण सिंहले बाँचुञ्जेलसम्म माओवादीको सशस्त्र संघर्षलाई आर्थिक, सामाजिक एवंं राजनीतिक असमानताका कारण उत्पन्न समस्या मानेका थिए र शान्तिपूर्ण वार्ताका माध्यमबाटै यस समस्याको समाधान भएको हेर्न उनी चाहन्थे । आखिर उनकै चाहनानुसार समस्याको समाधान पनि भएको थियो ।

गजेन्द्रनारायण सिंह, जातिवाद, परिवारवाद एवं भ्रष्टाचारको घोरविरोधी थिए । नेपाल-भारत मित्रताका उनी पक्षधर थिए । देशमा लोकतन्त्र, संघीयता तथा सामाजिक न्यायको स्थापनाका लागि उनले गरेका योगदान सदैव अविष्मरणीय रहनेछन् । उनी बाँचुञ्जेलसम्म नेपालको राजनीतिमा मधेसवाद शब्दको प्रयोग भएको थिएन । वर्तमान अवस्थामा गजेन्द्रनारायण सिंहको नाम, उनीद्वारा स्थापित पार्टी, उनको योगदानलाई समाप्त गर्ने अभियान नै चलेको छ तर देश एवं समाजको हितलाई सर्वोपरि ठान्नेहरूको योगदानलाई इतिहासले बिर्सन सक्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?