सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटनाः नैनसिंह महर

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा-भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गर्नुभएकाे छ ।

कपिलवस्तु कांग्रेसले चन्द्रौटामा सहिदको सम्झनामा आयोजना गरेको एक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता महरले थरिथरिका अनुहारको थरिथरि भूमिका भएकाले जनतामा चरम निरासा बढेको बताउनु भएकाे हाे ।

'संसद भवन रहेको क्षेत्र सुरक्षाका दृष्टिकोणले उच्च सुरक्षित स्थान हो । एक नागरिकले त्यही सुरक्षा घेराबीच संसद भवनको मूल गेटमै आत्मदाह गर्नू निकै निराशाको कुरा हो । यो क्रम बढ्दो छ । सरकारले आफ्ना नागरिकप्रति गम्भीर भएर सोच्नुपर्नेमा सरकारमा बस्ने व्यक्तिहरू नै विभिन्न मुद्दा र काण्डमा मुछिएका कारण जनताले भरोसा गर्ने ठाउँ देखिँदैन,' उहाँले भन्नुभयाे ।

नयाँ शक्ति र युवाको नारा दिएर सत्तामा पुगेकाहरू नै पछिल्ला दिनमा एकपछि अर्को काण्डमा मुछिँदै विवादित बन्नुले उनीहरूभित्र लुकेको स्वार्थ छरपस्ट भइरहेको महरले आरोप लगाउनुभयाे ।

यस्तो अवस्थामा कांग्रेस जनताको विश्वासिलो पार्टी बनेर उभिनुपर्ने उहाँको धारणा छ । 'कांग्रेस एकमात्र त्यस्तो पार्टी हो जो सधैँ जनताको सुखदुखमा साथमै उभियो । फेरि हामी जनताको ढाडस बनेर उभिनुपर्ने बेला आएको छ । जनताको चरम निराशालाई कांग्रेसले सम्बोधन गर्न सक्नुपर्छ । र, कांग्रेस सो दिशामा अग्रसर पनि हुन्छ । तपाईंहरू कांग्रेसमाथि भरोसा गर्नुहोला,' नेता महरले भन्नुभयाे ।

उहाँले मुलुकको समृद्धिका लागि सहिदहरूले प्राणको आहुति दिएको स्मरण गर्दै सरकार सहिदको त्याग, बलिदानी र सपनाप्रति जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयाे । नेताहरूको मुलुकको विकास र जनताप्रतिको समर्पण भएमात्र सहिदहरूप्रतिको सच्चा सम्मान हुने बताउनुभयाे।

हिजो सत्ता बाहिर हुँदा ठूलो-ठूलो स्वरमा कराउनेहरू अहिले लम्पसार बनेको देख्दा दोहोरो भूमिकाले उनीहरूको चरित्र छरपस्ट हुँदै गएको महरको टिप्पणी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?