औषधीय गुणले भरिपूर्ण अदुवा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हाम्रो भान्सामा प्रयोग हुने धेरै मसला र खाद्य पदार्थमा कुनै न कुनै रूपमा औषधि रहेका हुन्छन् । हामीले जानेर वा नजानेर हाम्रा भान्सामा प्रयोग भएका धेरै खाद्य पदार्थ औषधीय गुणले भरिपूर्ण रहेका हुन्छन् । यसमा १०० भन्दा बढी रोगहरूमा फाइदा पुग्ने विभिन्न समयका अध्ययनहरूबाट प्रमाणित भएका छन् । अदुवालाई काँचो, सुक्खा, पाउडर, तेल वा जुसका रूपमा प्रयोग गर्न सकिन्छ ।

अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधिका रूपमा प्रयोग गरिएको लामो इतिहास छ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रूपमा प्रयोग गर्न सकिन्छ । अदुवालाई अंग्रेजीमा जिन्जर भनिन्छ ।

अमेरिकाको ‘मिसिगन युनिभर्सिटी कम्प्रिहेन्सिभ क्यान्सर सेन्टर’ ले गरेको एक अध्ययनले अदुवाले पाठेघरको क्यान्सर कोशिकालाई नष्ट गर्ने मात्र नभई केमोथेरापीमा प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने तथ्य बाहिर आएको छ । यस अध्ययनमा शोधकर्ताहरूले अदुवाको धुलो र पानीको पेस्ट डिम्बाशयको क्यान्सर कोशिकाहरूमा लगाए । प्रत्येक परीक्षणले अदुवाको मिश्रणको सम्पर्कमा आउँदा क्यान्सर कोशिकाहरू नष्ट भएको पत्ता लगाएको थियो । स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर र पेटको क्यान्सरको उपचारमा पनि अदुवा निकै फाइदाजनक रहेको पाइएको छ ।

अदुवा स्वादिष्ट मसलाभित्र पर्छ । त्यसैले अदुवालाई विश्वभर मसलाका रूपमा प्रयोग गर्दै आएको पाइन्छ । औषधीय गुण भएको अदुवाको प्रयोगबाट स्वास्थ्यलाई लाभैलाभ हुन्छ । आयुर्वेदमा अदुवालाई महाऔषधको नाम दिइएको छ ।

यस्तै, अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीमा गरिएको एक अनुसन्धानमा अदुवा मधुमेहका बिरामीका लागि प्रभावकारी रहेको पाइएको छ । अदुवाका तत्वहरूले इन्सुलिनको प्रयोगबिना मांसपेशी कोशिकाहरूमा ग्लुकोज ढुवानी गर्ने प्रक्रिया बढाउने गर्दछ । यसरी यसले उच्च चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

त्यस्तै, अदुवा हृदय रोगको उपचारमा धेरै वर्षदेखि प्रयोग हुँदै आएको छ । चिनियाँ चिकित्सामा अदुवाको निको पार्ने गुणले मुटुलाई बलियो बनाउँछ भनिएको छ ।

त्यसैगरी, मांसपेशी दुखाइमा पनि यो लाभकारी मानिएको छ । अनुसन्धानका अनुसार घुँडाको ओस्टियोआर्थराइटिसको समस्या भएका केही व्यक्तिले अदुवाको रस सेवन गरेपछि आराम मिलेको बताइएको छ । त्यस्तै, महिनावारीको दुखाइ अदुवाको धुलोले कम गर्न सकिन्छ ।

महिनावारीको समयमा एक ग्राम अदुवाको धुलो तातोपानीमा राखेर दैनिक सेवन गर्दा दुखाइ कम हुने गर्दछ ।आयुर्वेदमा अदुवालाई महाऔषधको नाम दिइएको छ । अदुवालाई ताजा र सुकाएर प्रयोग गर्न सकिन्छ । रुघाखोकी लागेका बेलामा अदुवाको रस निकालेर कागती र महसँग मिसाएर खानाले खोकी कम हुन्छ । कागती, मह र अदुवा मिसाएर बनाइएको झोल बालबालिकालाई पनि खुवाउन सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?