गीत संगीत मनोरञ्जन मात्र होइन, आत्मसन्तुष्टि पनि हो : ओम सुनार

Read Time = 16 mins

नेपाली गीत संगीतको फाँटमा थुप्रै लोकप्रिय गीतमार्फत् श्रोता/दर्शकको मनमस्तिष्कमा राज गर्न सफल नाम हो ओम सुनार । विगत एक दशकदेखि यो क्षेत्रमा रहेर उहाँले दुई दर्जनभन्दा धेरै गीतमा स्वर दिनुभएको छ भने उहाँको संगीतमा रहेका गीत पनि त्यत्तिकै रहेका छन् । चलचित्र, आधुनिक, लोकपपलगायतका विधामा उहाँका गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँको स्वरमा जति मिठास छ, संगीत पनि त्यत्तिकै सुमधुर रहेको छ भने केही गीतको भिडियोमा अभिनय पनि गर्नुभएको छ । गायन, संगीतसँगै अभिनयमार्फत् पनि प्रशंसा बटुल्न सफल सुनार सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । गीत संगीत मनोरञ्जनमात्र होइन, आत्मसन्तुष्टि पनि हो भन्नुहुने ओम सुनारसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
नयाँ गीतहरूको रेकर्डमै व्यस्त भइरहेको छु । गीत संगीतप्रेमी मनहरूले मेरो कामलाई मन पराइरहनुभएको छ, माया गरिरहनुभएको छ । श्रोता÷दर्शक भनेको मेरा लागि भगवान् हो । उहाँहरूलाई मैले सधैँ खुसी बनाइरहनु छ । नयाँ-नया गीत संगीत उहाँहरूलाई दिनु छ । भगवान्रूपी मेरा श्रोता/दर्शकको आशीर्वाद लिइरहनु छ ।

कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
गीत संगीत भनेपछि हुरुक्कै हुने म यो क्षेत्रमै केही गर्छु भनेर औपचारिकरूपले यो क्षेत्रमा लागेको एक दशक पूरा भएको छ । म विसं २०६६ को वैशाख १० मा यही क्षेत्रमा लाग्छु भनेर काठमाडौं आएको थिएँ । निरन्तर काम गरिरहेको छु । आगामी दिनमा पनि यसरी नै गीत संगीतको काम गरिरहनेछु । आफ्नो आवाजको माध्यमबाट लाखौं दर्शक-श्रोताहरूको मनमुटुमा बसिरहन पाइयोस् ।

कसरी आउनुभयो गीत संगीतको क्षेत्रमा, केले प्रेरित गर्‍यो ?
रेडियो तथा टिभीमा अग्रजहरूको गीत बज्दा ती गीत संगीतका धुनहरूले मेरो मनलाई पनि तरंगित बनाइदिन्थ्यो र त्यसरी नै रेडियो तथा टिभीमा गुञ्जिने अनि देखिने रहर बढ्दै गयो र यो क्षेत्रमा संगीत सिक्ने र केही नयाँ सिर्जना गर्ने रहरै रहरले लागेँ । मलाई संगीतमा लाग्न प्रेरणा दिने स्रोत भनेको अग्रज व्यक्तित्वहरू नै हो । म उहाँहरूलाई गुरु मान्दछु । यदि मैले उहाँहरूलाई सुन्दिन थिएँ भने देख्दिन थिएँ भने म गायक बन्दिन थिएँ र यो क्षेत्रमा पनि लाग्दिन थिएँ होला र यसरी राष्ट्रियस्तरको पत्रिकामा आफ्नो विचार राख्न पनि पाउँदैन थिएँ । धन्यवाद दिन चाहन्छु, नमन गर्न चाहन्छु सम्पूर्ण हाम्रा अग्रजहरूलाई ।

यहाँको पछिल्लो समय श्रोता/दर्शकमाझ आएको गीत ‘लाहुरे सिपाही दाइ’ को कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
‘लाहुरे सिपाही दाइ’ गीत मेरो जीवनका लागि गीतमात्र नभएर मेरो जीवनको एउटा उपलब्धि पनि हो । यो गीतलाई एपिएफ पुलिस क्लबले निर्माण गरेको हो । नेपालको शान्तिसुरक्षा क्षेत्रमा दिनरात खटिने संस्थाले आफ्नो संस्थाका लागि मलाई योग्य ठानेर आफ्नो संस्थाबाट सक्ने सहयोग गर्नुभयो र गीत निर्माण गर्नुभयो । यत्रो विशाल संस्थासँग जोडिएर काम गर्न पाउँदा म आफूले आफैंलाई शौभाग्यशाली सम्झन्छु । दर्शक-श्रोताहरूले पनि यो गीतलाई माया गर्नुभयो । म यसै गीतबाट सर्वोत्कृष्ट लोक पप गायकको अवार्डबाट सम्मानित पनि भएँ । मेरा लागि यो धेरै नै ठूलो उपलब्धि हो, दर्शक-श्रोताहरूको माया पाइरहेको छु ।

गीत संगीत मनोरञ्जनमात्र होइन, आत्मसन्तुष्टि पनि हो । संगीतले परमात्मासँग हाम्रो मनलाई जोड्ने काम गर्छ । संगीतमा ईश्वरको बास हुन्छ । ईश्वरसँग जोडिएको मनबाट निस्कने भावहरू पवित्र हुन्छन्, जसले जगत्को भलो गर्दछ ।

तपाईं गायकसँगै संगीतकारका रूपमा पनि उत्तिकै चर्चामा हुनुहुन्छ, यी दुवै विधालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मैले गायनसँगसँगै संगीतलाई पनि अगाडि बढाइरहेको छु । लामो समय संगीतको अध्ययन-अनुसन्धान गरिरहेको छु । साथै गीत-संगीतकै काममा व्यस्त भइरहँदा फुर्सद मिलेको बेला संगीत सिर्जनालाई समय दिने गर्छु । गीत संगीत मेरा लागि पहिलो प्राथमिकताको क्षेत्र हो । मेरो जीवन यसैबाट चलिरहेको छ । मैले एक दशकदेखि गीत संगीतबाहेक केही सोचेको छैन । मेरो चाहना छ सारा जीवन गीत संगीतमै बिताउन पाइयोस् । आफ्नो सिर्जनाले नेपाली गीत संगीत क्षेत्रलाई सिञ्चित गरिरहन पाइयोस् ।

यहाँलाई विभिन्न गीतको भिडियोमा पनि देखिन्छ, यो यहाँको सौख हो कि यसलाई के भन्ने ?
भिडियोतिर देखिने मेरो रहरमात्र हो । धेरै सिनेमाका गीतहरू गाएको भएर सिनेमाको गीतमा हिरो हिरोइनहरू नाच्नुहुन्छ, गाउने मान्छे देख्न सकिँदैन, त्यही भएर एल्बमका गीतहरूमा यसो देखिने गर्छु । यसले गर्दा मेरो आवाज सुनेर माया गर्ने मेरा भगवान्रूपी दर्शक-श्रोताको दर्शनभेट पनि गर्न पाउँछु साथै आफूले गरिरहेको भन्दा फरक काम गर्दा केही नयाँ किसिमको आनन्दको महसुस पनि गर्न पाउँछु, भिडियोमा देखिने मेरो विधाभन्दा फरक विधा हो । त्यसैले भिडियोमा देखिनु मेरो रहर हो ।

गायक र संगीतकारमा आफूलाई बढी आत्मविश्वास कुन क्षेत्रमा पाउनुहुन्छ ?
पक्कै पनि गायन नै मेरो रोजाइको पहिलो प्राथमिकतामा छ किनभने मेरो आवाज लाखौं दर्शक-श्रोताहरूले मन पराइरहनुभएको छ । मेरो हरेक दिनको अभ्यासले गायन क्षमतामा मेरो आत्मबल बढाइरहेको छ । गायनमा नै मेरो बढी आत्मविश्वास बढी देख्छु । मैले दर्जनौं गीतहरू गाइरहँदा लाखौं दर्शक-श्रोताहरूले माया दिनुभएको छ । त्यसैले मेरो गायन क्षेत्रमा बढी आत्मविश्वास जगाइदिनुभएको छ श्रोता-दर्शकले । तर, गायनसँगसँगै मेरो संगीत साधनाको पाटो भएको हुनाले यसलाई पनि त्यत्तिकै महत्व दिन्छु । साथै संगीत सिर्जना गरिरहन्छु । संगीत सिर्जना र गायन एक सिक्काका दुई पाटा हुन्, एकबिना अर्को अधुरो छ ।

कुनै एउटा रोज्नुपर्‍यो भने कुन रोज्नुहुन्छ ?
ओहो, कडा प्रश्न आयो यो त । वर्षौैं साधना गरेपछि मात्रै एउटा असल गायक र सर्जक बन्न सकिन्छ भन्ने मेरो बुझाइ छ । दुवै विषयमा निखारिन लामो समय लाग्ने गर्दछ । हाम्रा अग्रजहरूलाई हेर्दा सुन्दा उहाँहरूको त्याग, तपस्या देख्दा मैले पनि उहाँहरूकै बाटो अनुशरण गरेको छु । विगत एक दशकदेखि निरन्तर गायन र संगीत सिर्जनामै अहोरात्र खटिरहेको छु । मिहिनेत गरिरहेको छु ताकि जीवन्त चिज दिन सकूँ । क्षणिक सस्तो लोकप्रियताभन्दा पनि सदावहार गीत संगीत गाउनु र बनाउनुपर्छ मलाई ।

यहाँका अहिलेसम्म श्रोता/दर्शकमाझ कति गीत आएका छन् ?
विसं २०६६ सालदेखि औपचारिक संगीतको शिक्षा लिन सुरु गरेको मैले आजसम्म दुई दर्जनभन्दा धेरै गीतहरू गाइसकेको छु । मैले गाएका गीतहरू बजारमा निकै चर्चित पनि भएका छन् । चलचित्र ‘नेप्टे’को सुपारी काँचो बोलको गीत, त्यस्तै चलचित्र ‘झमक बहादुर’को ‘आमैले भन्थे धाराको पानी’ बोलको रिमिक्स गीत, त्यसैगरी मेरो ‘सुगन्ध’ एल्बमको ‘तिमीबिना’ बोलको गीत पनि निकै चर्चित भयो । त्यसैगरी ‘बारीको पाटामा’ बोलको तीज गीतलगायत मेरा अन्य गीतहरूले पनि लाखौं भ्युज पाउन सफल छन् । मेरा दुई दर्जनभन्दा बढी गीतहरू बजारमा आएका छन् ।

आफ्ना गीतमध्ये तपाईं आफैंलाई मन परेको ?
यो निकै अप्ठ्यारो प्रश्न । आफ्ना सिर्जना आफ्ना सन्तानजस्तै हुन् । सबै त्यत्तिकै मन पर्छ । फेरि पनि मलाई ओम सुनार भनेर चिनाउने गीतमा मेरो सुगन्ध एल्बमको ‘मैले माया लगाएँ’ त्यसैगरी चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ शीर्ष गीत ‘बुद्ध बर्न इन नेपाल’ र चलचित्र ‘नेप्टे’को ‘सुपारी काँचो’ साथै ‘लाहुरे सिपाइ दाइ’, ‘डार्लिङ’, ‘कोलम्बसकी कान्छी’, ‘यो मन’, ‘चन्द्रमाझैँ राम्री छौ’, ‘बारीको पाटामा’, ‘तिम्रो कसम’ लगायतका थुप्रै गीतहरू छन् ।

गाउन सजिलो हो कि संगीत भर्न ?
संगीत विशाल छ । जति सजिलो गाउन छ त्यति नै सजिलो संगीत भर्न पनि छ, त्यो चाहिँ सिकेर आएको छ भने । नत्र त दुवै विधा त्यति नै गाह्रो छ । गायन र संगीत एक सिक्काका दुई पाटा हुन् । एकबिना अर्को अपुरो छ । मेरा लागि दुवै बराबर छन् ।

यहाँ आफूलाई कस्तो गायक/संगीतकारका रूपमा लिनुहुन्छ, आफैंले आफैंलाई मूल्यांकन गर्दा ?
मैले आफैंलाई आफैं कसरी म यस्तो भनेर भन्नु । त्यसो भन्न सुहाउला जस्तो लाग्दैन । मैले गाएका गीतहरू र मैले भरेका संगीतहरूलाई युट्युबमा हेर्दा मेरा सिर्जनालाई खुलेर तारिफ गरिरहनुभएको हुन्छ । तपाईं बहुप्रतिभाशाली, भर्सटायल गायक भन्दै प्रशंसकहरूले तारिफ गरिरहँदा पुलकित हुन्छु । यो देख्दा खुसी लाग्छ र अझ फरक-फरक कामहरू गर्न मन लाग्छ ।

आउँदा दिनमा कस्ता गीत ल्याउने योजनामा हुुनुहुन्छ ?
आगामी दिनमा बजारको अवस्था, श्रोता/दर्शकको मागअनुसारको गीत संगीत लिएर आउनेछु । आजसम्म मैले सबै खाले गीतहरू गएको छु गाउनलाई तर अब अलिक फरक धारबाट अघि बढ्ने सोच बनाएको छु । छिट्टै केही नयाँ लिएर आउनेछु ।

यहाँले यस क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप थुप्रै मान-सम्मान र अवार्ड प्राप्त गर्नुभएको छ, यसलाई कसरी लिनुहुन्छ ?
यो मेरा लागि शौभाग्यको कुरा हो । मैले गरेको कामबाट मलाई सम्मान, अवार्ड मिल्नु भनेको मलाई थप हौसला, ऊर्जा थपिएको मैले महसुस गरेको छु । आगामी दिनहरूमा अझै राम्रा-राम्रा गीत संगीतहरू गाउने, सिर्जना गर्ने हौसला मिलेको मैले महसुस गरेको छु । मेरो मिहिनेतको फल हो । मेरो त्याग तपस्याको परिणाम हो भन्ने लाग्छ । सम्मान र अवार्ड मेरो शक्ति हो जसले मलाई अझै राम्रो काम गर्न प्रोत्साहित गरिरहन्छ ।

यहाँ सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय भएर लागेको देखिन्छ, यस्ता कार्यलाई केले प्रेरित गर्दछ ?
सामाजिक कार्यहरूले मलाई आनन्द मिल्छ । त्यसैले म यस्ता कार्यहरूमा सरिक भइरहन्छु । आफूले सकेको सहयोग गरिरहेको हुन्छु । यस्ता कार्य हामी सबैले गर्नुपर्छ आ-आफ्नो ठाउँबाट जे जसरी गर्न सकिन्छ त्यसरी नै सामाजिक कार्यहरू गर्दै जानुपर्छ भन्ने लाग्छ ।

यहाँको अबको योजना ?
केही दिनमा नै नयाँ चलचित्रको गीत सार्वजनिक हुने तयारी अवस्थामा छ । अञ्जु पन्त दिदी र मेरो स्वरमा रहेको उक्त गीत यहाँहरूले छिट्टै सुन्न सक्नुहुनेछ । साथै मेरा अन्य फुटकर गीतहरू पनि छन्, पालैपालो यहाँहरूमाझ पस्किने तयारी गरिरहेको छु ।

अन्त्यमा ?
गीत संगीत मनोरञ्जनमात्र होइन, आत्मसन्तुष्टि पनि हो । संगीतले परमात्मासँग हाम्रो मनलाई जोड्ने काम गर्छ । संगीतमा ईश्वरको बास हुन्छ । ईश्वरसँग जोडिएको मनबाट निस्कने भावहरू पवित्र हुन्छन् । जसले जगत्को भलो गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?