अधिकारी चौरमा बल्यो केन्द्रीय लाइन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । बागलुङको अधिकारीचौर गाउँमा विद्युत् पुगेको १४ वर्ष पुग्यो । बुढाथोक लघु जलविद्युत् आयोजनाबाट सुरु-सुरुमा उज्यालो पाएका स्थानीयले वर्षौंदेखि अन्धकारमा बस्दै आएका थिए । हिउँदमा मर्मत गर्ने र बर्खामा भुजीखोलाले हाइड्रोपावर बगाउँदा अधिकारीचौरवासी आजित भएका थिए । अधिकांश रातहरू अँध्यारोमा बिताएका स्थानीयले अब त्यो नियति भोग्नुपर्ने छैन ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले अधिकारीचौर, नाथुरी, भैँसीखर्क लगायतका गाउँहरूमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । गाउँमा केन्द्रीय लाइन बल्न थालेपछि स्थानीय दंग परेका छन् । वि.सं. २०६५ सालमा बुढाथोक लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि गाउँमा विद्युत् त पुगेको थियो तर बाह्रै महिना बाल्न भने स्थानीयले पाएका थिएन । केन्द्रीय विद्युत् जडान भइसकेको हुँदा अब बर्खामा पनि बिजुली बत्ती बाल्न पाइने स्थानीय शालिकराम कँडेल बताउनुहुन्छ ।

विद्युत् प्राधिकरणको तीन महिनादेखि लगातारको प्रयासले गाउँमा केन्द्रीय लाइन आइपुगेको कँडेल बताउनुहुन्छ । उहाँले स्थानीय हाइड्रोपावर हरेक वर्ष बाढीले बगाउँदा आफूहरू अन्धकारमा बस्न बाध्य भएको सुनाउनुभयो । कँडेलले पटक-पटक बाढीले नहर तथा विद्युत् गृह बगाउँदा यस क्षेत्रका हजारौँ नागरिकहरूले वर्षौंदेखि दुःख पाएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘हिउँदभरी बनाउन लाग्थ्यो, बर्खा लागेपछि बगाइदिन्थ्यो, अब त बाढीले बगाउला भन्न पनि परेन, ठूलै मेसिनहरू चलाउँदा पावर नपुग्दा भन्न पनि परेन, अब त गाउँमा पनि केन्द्रीय लाइन आयो, हामीहरूलाई धेरै खुसी लागेको छ, अब अँध्यारोमा टुकी, दियालो बालेर बस्न पर्ने छैन, कहिले काँही बिग्रिने कुरा त स्वाभाविकनै भयो ।’

गत असोजमा आएको बाढीले ६० किलोवाटको बुढाथोक लघुजल विद्युत् आयोजनाको नहरसहित टंकीमा ठूलो क्षति पु¥याएको थियो । केन्द्रीय लाइनले स्थानीयलाई अँध्यारोबाट उज्यालोमा फर्काइको बुढाथोक लघुजल विद्युत आयोजनाका अध्यक्ष नरेन्द्र कुँवरले बताउनुभयो । उहाँले भूजीखोलाले बर्सेनि विद्युत् नहर तथा गृहमा क्षति पु¥याउँमा स्थानीय अन्धकारमा बस्न बाध्य हुनुका साथै लाखौँको नोक्सान हुने गरेको बताउनुभयो ।

स्थानीय शिवराज कँडेलले स्थानीय हाइड्रोपावर समय-समयमा बिग्रँदा साना तथा मझौला उद्योगीहरू समस्यामा पर्ने भन्दै अब उनीहरूलाई ठूलो राहत मिल्ने बताउनुहन्छ । झण्डै तीन महिनादेखि अन्धकारमा रहेका अधिकारीचौर क्षेत्रका हजारौँ नागरिक केन्द्रीय लाइनले घर उज्यालो बनाउँदा खुसी बनेको कँडेलको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले यहाँका नागरिक महिनौँदेखि अन्धकारमा बस्दै आएको हुँदा तत्काल यहाँको समस्या समाधान गरेको बताउनुभयो । उहाँले अधिकारीचौर, भैँसीखर्क, नाथुरीमा विद्युत् बलिसकेको भन्दै प्याङ्खोला, मस्ती, चौर लगायतका ठाउँमा जडान भइरहेको बताउनुभयो ।

यी गाउँहरूमा पनि केही दिनमै केन्द्रीय लाइन बल्ने मरासेनी बताउनुहुन्छ । यहाँ विद्युत् विस्तार गर्दा ५० लाख बढी खर्च भइसकेको उहाँको भनाइ छ । यस वर्ष बागलुङमा विद्युत् प्राधिकरणबाट एक करोड र नेपाल सरकारबाट ९३ लाख विनियोजन भएको भन्दै जिल्लाको सबै ठाउँमा काम तीव्र रूपमा भइरहेको मरासेनी बताउनुहुन्छ ।

उहाँले अहिले अधिकारीचौर क्षेत्रमा काम भइरहेको भन्दै केही हप्ता अगाडि मात्रै यहाँको २५० घरमा केन्द्रीय लाइन बलेको जानकारी दिनुभयो । पश्चिम बागलुङका लागि गलकोटमा सभ स्टेसन निर्माण गरेर सुचारु गरेको र बुर्तिबाङमा पनि १३२ केभीको सभ स्टेसन निर्माण भइरहको बताउनुभयो । यस वर्ष नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्‍याउने गरी काम तीव्र गतिमा गरिरहेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि आफू विगतदेखि लागेको बताउनुभयो । भौगोलिक विकटताका कारण यतिका समयसम्म निसी, भूजी र तमान क्षेत्रमा विद्यतीकरणका लागि आफूले पटक-पटक मन्त्रालय तथा प्राधिकरणका निर्देशकसँग आग्रह गर्दै आएको बताउनुभयो । अहिले गाउँमा केन्द्रीय लाइन बल्न थालेपछि यहाँका नागरिकमा खुसी छाएको बताउनुभयो । दूर दराजका गाउँहरूमा विद्युत् पुर्‍याउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?