शिक्षक नै नमुना कृषक

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-४ झिम्पामा पुग्दा गाउँकै बीचमा दुई/तीनवटा प्लास्टिक टनेल देखिन्छ । टनेलभित्र लटरम्म फलेका गोलभेडा, कलकलाउँदा सागसब्जी र टिपेर खाऊँ-खाऊँ लाग्ने फलफूलहरू पनि । हरेक दिन बिहान र बेलुका यहीँ भेटिनुहुन्छ, गोपीकृष्ण क्षेत्री । यहाँ पुगेर देख्दा धेरैलाई लाग्न सक्छ, यो त अनुभवी कृषकको करेसाबारी हो । तर, उहाँ आफूलाई कृषिबारे धेरै ज्ञान नभएको बताउनुहुन्छ । यद्यपि उहाँको पौरख देख्दा अनुभवी कृषकको भन्दा कम देखिँदैन ।

क्षेत्री कृषकभन्दा बढी ‘मास्टर’ भनेर परिचित हुनुहुन्छ । उहाँको मुख्य पेशा शिक्षण हो । २०६८ सालदेखि शिक्षण पेशामा आबद्ध हुनुभएका उहाँले व्यावसायिक कृषि पेशालाई पनि आत्मसात गरिरहनुभएको छ । दिनभर विद्यालयमा शिक्षण गर्ने क्षेत्री बिहान-बेलुका आफ्नो कृषि फर्ममा खटेर काम गर्नुहुन्छ । उहाँको त्यो खटाइ र कृषि उत्पादन देख्दा छरछिमेकी पनि दंग पर्छन् । कृषि कर्ममा क्षेत्रीलाई परिवारको पनि राम्रो साथ-सहयोग छ । यसले गर्दा अझ बढी उहाँ हौसिनुभएको छ ।

क्षेत्रीले शिक्षणसँगै कृषिलाई बढावा दिने हिसाबले २०७४ सालदेखि ‘झिम्पा फलफूल तथा तरकारी कृषि फर्म’ दर्ता गर्नुभएको छ । आठ वर्षदेखि शिक्षण पेशालाई अँगाल्दै आए पनि तीन वर्षअगाडि मात्रै प्रावि तहको स्थायी शिक्षक बन्नुभएको थियो । हाल उहाँ जनजीवराज सुशिला माध्यमिक विद्यालय झिम्पामा शिक्षण गरिरहनुभएको छ । यसभन्दा पहिले जागृति प्राथमिक विद्यालय निसीखोला गाउँपालिका-७ को प्रधानाध्यापकसमेत हुनुभयो ।

बिहान-बेलुकाको समयलाई सदुपयोग गर्नका लागि ५० हजार लगानीबाट सुरु भएको कृषिफर्ममा हालसम्म आउँदा सात लाखभन्दा बढी लगानी गरेको उहाँको भनाइ छ । बिहान–बेलुकाको खाली समयको सदुपयोगका लागि आफूले कृषि गर्न थालेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘स्कुल नजिक छ, दिउँसोभरि पढाए पनि बिहान-बेलुका खाली नै भइन्छ, खाली समयमा किन यत्तिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुवात गरेको अहिलेसम्म आउँदा सात लाख बढी लगानी गरेको छु, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी बढाउँदै छु ।’

विशेषगरी फलफूल र तरकारी उत्पादनलाई जोड दिनुभएका क्षेत्री आम्दानी पनि राम्रो हुँदै गएको बताउनुहुन्छ । ‘त्यसरी धेरै आम्दानी त गर्न सकिएको छैन, सुरु गरेको पनि धेरै भएको छैन, जेहोस् लगानीअनुसारको आम्दानी हुन थालेको छ,’ उहाँले भन्नुभयो, ‘लगानी बढाउँदैछु, आम्दानी पनि विस्तारै बढ्ने अपेक्षा छ ।’

क्षेत्रीको बारीमा अहिले रहरलाग्दा तरकारी र फलफूलहरू देख्न सकिन्छ । उहाँले हाइटेक टनेल निर्माण गरेर तरकारी र फलफूललाई फलाउन र उब्जाउन सुरु गर्नुभएको छ । तरकारी र फलफूल बेचेर वार्षिक करिब तीनदेखि पाँच लाख आम्दानी गरेको उहाँको भनाइ छ ।
उत्पादित तरकारी र फलफूलहरू झिम्पा गाउँलगायत कानाबजार, झिवाखोला बजार, निसी, भल्कोट, बुर्तिबाङलगायतका स्थानमा खपत हुने गरेको छ । ग्राहक बारीमै पनि तरकारी खरिद गर्न आउने क्षेत्रीले बताउनुभयो ।

कृषिप्रतिको लगाव र जाँगरलाई देखेर गत वर्ष कृषि ज्ञान केन्द्रले उहाँलाई दुई लाख ५५ हजार अनुदान दिएको थियो भने वडा कार्यालयले पनि विभिन्न फलफूलको बिरुवा दिँदै आएको छ । यस क्षेत्रमा कृषि प्राविधिक नहुँदा केही समस्यासमेत आउने गरेको उहाँको गुनासो छ । कुनै कृषि प्राविधिक भएको भए यस क्षेत्रमा काम गर्नका लागि थप सहज हुने क्षेत्रीको भनाइ छ । कृषकलाई स्थानीय तहले समय-समयमा कृषि परामर्श, मल, बीउलगायतको व्यवस्था गरिदिने भए आफू र आफू जस्ता कृषकलाई थप राहत पुग्ने उहाँको भनाइ छ । ३० वर्षीय क्षेत्री आफू जस्ता युवालाई स्वदेशमै व्यावसायिक बन्न सुझाव दिनुहुन्छ । उहाँले विदेशमा गर्ने दुःख र लगानीले आफ्नै भूमिमा राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?