वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी

हिमालय टाइम्स
Read Time = 3 mins

सिरहा । सिरहामा सब-डिभिजन कार्यालयकै कर्मचारीको मिलेमतोमा काठ तस्करी हुने गरेको आरोप स्थानीयहरूले लगाएका छन् । जिल्लास्थित डिभिजन वन कार्यालय लहान र मातहतका सब-डिभिजन कार्यालयका कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरूले आरोप लगाएका हुन् । डिभिजन वन कार्यालयको मातहतमा रहेका सब-डिभिजन कार्यालयको कर्मचारीहरूकै मिलेमतोमा यस क्षेत्रबाट व्यापकरूपमा काठ तस्करी गराउने गरेको स्थानीयहरू बताउँछन् ।

जिल्लाको गोलबजार नगरपालिका-३ जम्दहको चोरपानेबाट दुई ट्याक्टरभन्दा बढी अवैधरूपमा तस्करहरूले फडानी गरी राखिएको अवस्थामा खयर जातको काठ बरामद गरेको वन कार्यालय लहानले जनाएको छ । इन्द्रेणी सेवा समाजद्वारा संरक्षित ऐलानी पर्ती जमिनमा लगाइएको खयरको रुख तस्करले कटान गरी लुकाएर राखेको अवस्थामा स्थानीयले जानकारी गराएपछि काठ नियन्त्रणमा लिइएको हो ।

यहाँका सामुदायिक वनको काठ सब-डिभिजन वन कर्मचारीको सेटिङमै अवैधरूपमा फडानी गरी चोरीनिकासी हुने गरेको स्थानीय आनन्दकुमार सुनाउनुहुन्छ । उहाँले रुख फडानी भइरहेको विषयमा स्थानीयहरूले सब-डिभिजन वन कार्यालयका कर्मचारीलाई पटक-पटक जानकारी गराउँदासमेत बेवास्ता गरेको गुनासो पोख्नुभयोे । काठ तस्करी रोक्न डिभिजन र सब-डिभिजनका प्रमुखहरूलाई समेत जानकारी गराउँदा बेवास्ता गरेको उहाँको गुनासो छ । ‘काठ तस्करी र नियन्त्रणमा न वनले सक्रियता देखाएको छ न प्रहरीले नै,’ उहाँले थप्नुभयो, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फडानीबारे जानकारी गराउँदा वन कर्मचारी सुन्दैनन् । तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् । वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरूको सेटिङ प्रष्ट देखिन्छन् ।’

खबर पाउनासाथ डिभिजन वन कार्यालयको टोलीले शुक्रबार करिब ७० क्युफिट काठ बरामद गरेको सिरहाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत शैलेन्द्रकुमार मिश्रले बताउनुभयो । बरामद काठ ल्याउने काम भइसकेको र फडानी गर्नेको परिचय पनि छिट्टै जानकारी दिइने अधिकृत मिश्रले बताउनुभयो । अनुसन्धानकै क्रममा रहेकाले तत्काल सबै कुरा भन्न नसक्ने वन कार्यालय प्रमुख मिश्रले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?