राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

सरकार गठन गर्दाको राजनीतिक परिस्थिति विश्वासको मत लिँदा फेरिएको निष्कर्ष

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिअनुसार राष्ट्रपति चयन हुनुपर्ने निर्णय गरेको हो । बिहीबार र शुक्रबार दुई दिनसम्म चलेको बैठकको सुरुमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै पार्टी पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा कांग्रेसको समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनेर राय माग्नुभएको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले मागेको सुझावमा अधिकांश स्थायी कमिटी सदस्यहरूले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न सुझाव दिएको जानकारी दिँदै एकजना स्थायी कमिटी सदस्यले भन्नुभयो, ‘हामीले अध्यक्षलाई सबै दल मिलाएर लैजाने पहल गर्न सुझाव दिएका छौँ । यहीअनुसार पार्टीले निर्णय गरेको छ । राष्ट्रपतिमा सहमति खोजेरै अघि बढ्छौँ ।’

बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी उपाध्यक्षसमेत रहनुभएका प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो, ‘स्थायी कमिटीमा बोल्ने अधिकांश नेताहरूले राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । यस विषयमा औपचारिक निर्णय गर्न बाँकी छ । राष्ट्रिय सहमति भनेको कांग्रेस र एमालेसहित सबैको सहमति भन्ने हो । राष्ट्रिय सहमतिका लागि पहल गर्ने औपचारिक निर्णय गर्न बाँकी छ ।’ पुस १० गते एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको सहमतिमा राष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी भएको एमालेले दाबी गर्दै आएको छ । तर, प्रधानमन्त्री प्रचण्डले भने सत्तासमीकरण निर्माणको बेला कुनै सहमति नभएको औपचारिक रूपले अभिव्यक्ति दिइसक्नु भएको छ । एमालेका नेताहरूले भने माओवादी केन्द्रको स्थायी कमिटीको निर्णयले पूर्ववत् सहमतिबाट हट्न खोजेको आशंका गरेका छन् । प्रवक्ता महराले भन्नुभयो, ‘राष्ट्रिय सहमति हुन्छ कि हुँदैन त्यो अहिले भन्न सकिँदैन । तर, त्यो भनेको एमालेसहितको राष्ट्रिय सहमति हो । हामीले राष्ट्रिय सहमति खोजेर एमालेलाई धोका दिएको होइन ।’

संविधानअनुसार राष्ट्रपतिको निर्वाचन माघ २८ गतेभित्र भइसक्नुपर्छ । वर्तमान राष्ट्रपतिको पदावधि फागुन २८ गते समाप्त हुने भए पनि संविधानमा पदावधि सकिनु १ महिनाअगावै नयाँ राष्ट्रपति चयन भइसक्नुपर्ने व्यवस्था छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका प्रवक्ता महराले राष्ट्रपतिको चुनाव माघ २६ देखि २८ भित्र हुने जिकिर गर्नुभएको छ । निर्वाचन समीक्षा, सांगठनिक अवस्था र पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी बैठक माघ १६ गते बिहान ११ बजे पुनः बस्ने बताइएको छ ।

तीनवटा प्रतिवेदन पेस
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा तीनवटा प्रतिवेदन पेस भएका छन् । शुक्रबारको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, नेता जनार्दन शर्माले संगठनसम्बन्धी र गिरिराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको हो । अध्यक्ष प्रचण्डले पहिलो दिन पेस गरेको प्रतिवेदनमाथि शुक्रबारसम्म २७ जनाले धारणा राखेका छन् । स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र बैठक जारी राख्ने तर केही दिन स्थगित भएको जानकारी दिँदै महासचिव देव गुरुङ र उपमहासचिवहरूलाई बैठकमा उठेका विषयहरूबारे केन्द्रीय समितिको कार्य विभाजन, पोलिटब्युरोको पूर्णता, पार्टी एकतालगायत सबै विषयमा कंक्रिट रूपमा आगामी बैठक पेस गर्न निर्देशन दिनुभएको प्रवक्ता महराले जानकारी दिनुभयो । महराका अनुसार डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी लगायतसँग एकताका लागि वार्ता भइरहेको बारे स्थायी समिति बैठकमा जानकारीसमेत गराइएको छ । माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत कम्युनिष्ट पार्टीहरूसँग एकताको प्रयास गरिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति भइसकेको छ । नेकपा एस, विप्लव लगायतका दलहरूसँग पनि संवाद जारी राखेको छ । बैठकमा गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीभित्र असहयोग र अन्तर्घात गर्नेहरूमाथि छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने प्रस्ताव नेताहरूले गरेका छन् । यसअघि माओवादी केन्द्रले नेता टंक राईको संयोजकत्वमा गठन गरेको छानबिन समिति त्यसै सेलाएको थियो । बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण र विस्तार लगायतको विषयमा छलफल भएको नेताहरूले जनाएका छन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहमाथि आर्थिक अनियमितताको आरोप
नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । अध्यक्ष सिंहले पोखरा विश्वविद्यालय र सिटिइभिटीमा आर्थिक चलखेल गरेको भन्दै संगठनकै लेखा आयोगले २४ घण्ट स्पष्टीकरण सोधेको हो । शुक्रबार लेखा आयोगका उपप्रमुख गम्भीर साउदले आर्थिक पोखरा विश्वविद्यालय र सिटिइभिटीमा संगठन विस्तार गर्ने नाममा आर्थिक लेनदेन र बार्गेनिङ गरेको कुरा बाहिर आएको भन्दै त्यसबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन सिंहलाई अनुरोध गर्नुभएको छ । साउदले जारी गरेको विज्ञप्तिमा कसमस कलेजमा समानान्तर गतिविधि गरेको भन्ने विषयमा पनि स्पष्ट पार्न आग्रह गरिएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?