अन्तरिक्ष पर्यटन : पृथ्वीमाथिको उडानले विज्ञानलाई फाइदा वा पर्यावरणलाई हानी ?

विज्ञान, गणित र कलाका व्यवधान तोड्नेबारे अध्ययन गरिरहेका विश्वभरका २४ वर्षमुनिका युवाहरूको समूह द मार्स जेनेरेशनकी एक सदस्य सन्दली कुमारासिङ्घे । तस्बिर : बीबीसी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अन्तरिक्षमा जान सकिने अवधारणा प्रारम्भ भएदेखि नै अन्तरिक्ष पर्यटन अति धनाढ्यहरूले मात्रै खर्च गरेर जान सक्ने गतिविधिका रूपमा रहँदै आएको छ।

विगत ६ दशकमा अन्तरिक्षको यात्रा गरेका मानिसको संख्या झण्डै ६०० पुगेको छ। तीमध्ये सातजना अति धनी वा चर्चित अन्तरिक्ष पर्यटकबाहेक अन्य सबै अन्तरिक्षयात्री हुन्। र, अहिले बिस्तारै अन्तरिक्ष पर्यटनले गति लिन थाल्दैछ।

एमजनका जेफ बेजोस, भर्जिन एट्लान्टिकका सर रिचर्ड ब्रान्सन र टेस्लाका इलोन मस्कको कम्पनीहरूले पृथ्वी(बाहिरको, एक्स्ट्रा टेरेस्ट्रिअल यात्राको अवसर उपलब्ध गराउँछन्।

दुईवटा कम्पनीले पृथ्वीभन्दा ठ्याक्कैमाथि १५ मिनेटको ‘उपकक्षीय’परिक्रमामा लैजाने भए पनि अन्तरिक्षमा केही दिन राख्ने गरी लैजाने इलोन मस्कको स्पेसएक्स मात्रै हो।

त्यसका लागि टिकटको रकम २५०,००० डलरदेखि लाखौँ डलरसम्म पर्छ।

केवल धनीका लागि ?

एरोस्पेसकी २१ वर्षीय विद्यार्थी तथा अन्तरिक्ष पर्यटक बन्ने इच्छा राख्ने सन्दली कुमारासिंह श्रीलङ्काकी हुन् र उनको पृष्ठभूमि सामान्य छ। उनको जीवनशैलीमा धनाढ्य पर्यटकको कुनै छनक देखिँदैन।

अन्तरिक्ष पर्यटनले ‘सबैलाई अन्तरिक्षसम्मको पहुँचतर्फ डोर्याउने’आशा आफूले गरे पनि अहिलेका लागि भने यो ‘केवल धनीले पाउने सुविधा’मात्रै भएको उनी स्विकार्छिन्।

सन्दलीले स्पेस क्याम्प नामक तालिमको छात्रवृत्ति पाइन्। स्पेस क्याम्प अमेरिकाको अन्तरिक्ष निकाय नासाको आलाबामास्थित अन्तरिक्ष अखाडामा हुने एउटा तालिम कार्यक्रम हो।

त्यसयता ‘डियर मुन प्रोजेक्ट’ले खर्च बेहोरेर चन्द्रको वरिपरि घुम्न पाउने नामहरूको प्रारम्भिक सूचीमा उनको नाम पनि परेको छ। उक्त प्रोजेक्टको प्रायोजन जापानी अर्बपति यासाकु मेजावाले गरेका हुन्।

सन् २०२१ को मार्च महिनामा मेजावाले चन्द्रमातर्फको यात्रा सित्तैमा गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन सार्वजनिक रूपमा आमन्त्रण गरेका थिए। स्पेसएक्सको स्टारशिप यानबाट हुने उक्त यात्रा सन् २०२३ मै हुने तय भएको छ।

यता, पृथ्वीका छैटौँ अन्तरिक्ष पर्यटक रिचर्ड गेरिअटले वैज्ञानिक अनुसन्धान र मानव जातिको भविष्यका लागि धनी पर्यटकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

‘चार्ल्स डार्विन’ का विश्वभरका लगभग सबै वैज्ञानिक अभियानको प्रायोजन धनी व्यक्ति वा संस्थाले गरेका छन्, उनले व्याख्या गरे।

१,००० गुणा सस्तो

सुरु सुरुमा जलयात्रा र हवाई यात्रा पनि निकै महँगो र अत्यधिक खतरापूर्ण रहेको उल्लेख गर्दै गेरिअटले अन्तरिक्ष यात्राले पनि आफ्नो विकासमा सुरुको चरण पार गरिसकेको बताए।

अभ्यास थाल्नुभन्दा अहिले अन्तरिक्षको यात्रा ‘१,००० गुणा सस्तो’ भएको उल्लेख गर्दै उनले भने, ‘धनी व्यक्तिहरू अन्तरिक्षमा उड्नका लागि इच्छुक नहुँदासम्म अर्को चरणमा प्रवेश गर्न सकिने छैन।’

ती एक्स्प्लोरर क्लबका अध्यक्षको पुन : अन्तरिक्षको यात्रा गर्ने योजना रहे पनि उनी भाडा कम होस् भनेर पर्खिरहेका छन्।

 पर्यावरणमा असर ?

त्यसो भए अन्तरिक्ष पर्यटनले पर्यावरणमा कस्तो क्षति पुर्याउँछ ?

असर नगण्य हुने विश्वास गर्ने रिचर्ड गेरिअट भन्छन्, ‘एउटा रकेट प्रक्षेपण गर्दा विमानले एउटा महासागर पार गरेर गर्ने यात्राभन्दा कम कार्बन उत्सर्जन हुन्छ।’

उनले केही रकेट भने हाइड्रोजनमा चल्ने गरी बनेका र त्यसले पर्यावरणलाई असर गर्ने कार्बन उत्सर्जन नगर्ने बताए। तर सन्दली भने यसबारे चिन्तित छिन्।

‘प्रकृतिमा अन्तरिक्ष पर्यटनको असर धेरै हुनसक्छ। खराब असर कम गर्नका लागि थप नियमन, प्रतिबन्ध भयो भने राम्रो हुने थियो।

 

स्रोत : बीबीसी

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?