सभामुखको कार्यालय हाइज्याक भयो, संसदमा कुनै प्रतिपक्ष छैन : दिनेश त्रिपाठी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली काँग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताउनु भयो । उहाँले नेकपा एमाले र सरकार सभामुखसँग चाँडो भन्दा चाँडो काँग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताउनु भयो ।

उहाँले संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप लगाउनु भयो । संसदमा कुनैपनि प्रतिपक्ष नरहेको जिकीर गर्दै संसदलाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको बताउनु भयो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरुसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताउनु भयो । उहाँले पार्टीहरु सत्ता र पदको लागि अवसरको खोज्ने काममा नै लागिपरेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भुमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरु केन्द्रित भएको पुष्टि गरेको बताउनु भयो । उहाँले राजनीतिक पार्टीहरु एजेण्डा र विचार बिहीन भइसकेको बताउँदै पार्टीहरुलाई दासहरुको कुम्भ भेलाको संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको छ । संविधानको विद्यार्थीले संविधान पढ्ने हो भने उसलाई कुनैपनि पावर छैन भन्छ तर बाहिरको कुरा हेर्ने हो भने सिंहदरबारबाट पावर सिस्टम नै शितलनिवासतिर सिफ्ट भयो । राष्ट्रपतिले दुई दुई पटक सरकारबाट गएको विधेयक पनि पास गर्नुभएन । संविधान नै गोजीमा राखेर हिँड्नुभएको जस्तो भयो । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन, तर उहाँ नै जनताबाट सबैभन्दा धेरै मतले जितेर आउनुभयो । अर्को कुरा संसद भाइब्रेण्ट हुनुपर्छ तर हामीले संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइदियौँ । किनभने कोही पनि संसदमा प्रतिपक्ष छैन, सारा सत्ता पक्ष , झनै हाइज्याकमा परेको छ । यो संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार हो । नर्थ कोरियको जनकंग्रेस जस्तो बनायौँ । अपोजिसनको संवैधानिक भुमिका छन् भन्नेकुरा पनि हेक्का राखिएन । सत्ता पक्षलाई भोट हाल्ने प्रतिपक्ष हुँ भन्ने कन्स्टियुसन मोडालिटी भएन । हतारमा सभामुखसँग मिलेमतो गरेर एउटा राजनीतिक पार्टीको समर्थनमा यो सरकार बनेको त्यसको चाहनामा नेपाली काँग्रेसलाई अपोजिशनको दर्जा दिन लगाइएको छ, सभामुखको प्रयोग गरेर, त्यो एमाले पार्टीको चाहनामा भएको छ । सभामुखको कार्यालय पनि हाइज्याक भएको छ, किनभने चाँडो भन्दा चाँडो नेपाली काँग्रेसलाई अपोजिशनमा धकेल भनिएको छ । त्यो भयो भने एमालेकै चाहनामा सरकार हुने भयो । पार्टीहरुसँग नेशन्स बिल्डिङर ट्रान्सफरमेसनको कुनै एजेण्डा छैन । पार्टीहरुमा मात्र मौका कुरिरहने कुरा प्राथमिकतामा छ । सत्ताको लागि र अवसरको लागि कुनैपनि ठाउँमा उभिने कुरा छ । राजनीतिक पार्टीहरु एजेण्डा विचार बिहीन भइसके । पार्टीहरु भनेको दासहरुको कुम्भ भेला जस्तो भयो । कुनै पनि डिबेट नै छैन ।’

वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको र संविधानका विद्यार्थीले राष्ट्रपतिसँग कार्यकारी अधिकार नरहने भनेपनि पछिल्लो समय कार्यकारी अधिकार सिंहदरबारबाट सरेर शितलनिवास पुगेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?