तेजपत्ताका ग्राहक खोज्दै बलबहादुर

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । निधारमा नाम्लो र पिठ्यूँमा तेजपत्ताको भारी । माघको चिसोयाममा खल्खल्ती पसिना । सात घण्टा पैदल हिँडेर सिन्धुलीमाडी आइपुग्नुभएका किसान बलबहादुर रानामगर यस्तै अवस्थामा भेटिनुभयो ।

‘तेजपत्ता गाउँमा बिक्दैन । यहाँ ल्याए, भारीको छ सयमा बिक्छ । गाडीमा ल्याउँदा भाडा तिदैँ सकिन्छ,’ उहाँले भन्नुभयो ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ तीनकन्या फोक्सीनाथबाट शनिबार विहान पाँच बजे हिड्नुभएका किसान रानामगर ११ बजे सिन्धुलीमाडीमा अवस्थित धुराबजारमा भेटिनुभएको हो ।

उहाँकाअनुसार दुर्गम क्षेत्रमा जाने बाटो कच्ची छ । ठूला सार्वजनिक सवारी साधन चल्दैनन् । साना निजी सवारी साधन रिजर्भ गर्नुपर्दा पाँच हजारले पनि पुग्दैन ।

घरेलु औषधीले भरिपूर्ण गुण भएको एक प्रकारको जडीबुटी (तेजपत्ता) बिक्रीका लागि उहाँसँग १६ बर्षीय छोरो अमरबहादुर रानामगर पनि आउनुभएको थियो । ९ कक्षामा पढ्ने अमरबहादुरले शनिबार विदाको दिन तेजपत्ताको एक भारी बोकेर बजारसम्म ल्याइदिन सहयोग गरेको बताउनुभयो ।

‘कपी, कमल किन्न पैसा मलाईनै चाहिन्छ । खेती गर्ने जमिन थोरै छ । यही जमिनमा फलफूल, जडिबुटी लगायतका अन्तरबाली लगाउँछौँ । त्यहाँको उत्पादनले घरखर्च, हाम्रो पढाई खर्च पुर्याउनु पर्छ,’ अमरबहादुरले भन्नुभयो, यस अलवा बुबाको कमाई गर्ने उपाय केही छैन, त्यसैले आफ्नो उत्पादन आफँै बजार ल्याएर बेच्छौँ ।’

गाउँमा पुग्ने बिचौलियाले किसालाई राम्रो मुल्य नदिने उहाँले बताउनुभयो ।

रानामगरका अहिले तेजपत्ताका पाँच वटा बोट छन् । समस्यालाई संर्घषले जित्छ भन्ने मान्यताले अगाडी बढ्नु भएको उहाँ अब व्यावसायिक रुपमा तेजपत्ताको खेती विस्तार गर्ने तरखरमा हुनुहुन्छ ।

पाखाभित्तोमा अन्नबाली लगाउँदा जंगली जनावरले अत्यन्तै दुख दिएकाले तेजपत्ताको व्यावसायिक खेती अगाडी बढाउन थालेको उहाँले बताउनुभयो । भन्नुभयो ‘बालीनाली लगायो, जंगली जनावरले विनास गरिदिन्छ । अब थप जमिनमा तेजपत्ताका अरु बोट थप्न थालेको छु,’ यसले बजार मुल्य राम्रो पाए हुन्थ्यो ।’

जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने तेजपत्ता अर्थात सिन्कौलीको पात भौगोलीक विकटताका कारण सात घण्टाको उक्कालोउरालो गरेर माडीबजार ल्याउँदा पनि विकाउन भने समस्या नै रहेको उहाँको भनाई छ ।

तेजपत्तालाई चिया वा तरकारीमा राखेर स्वाद लिने गरिन्छ । खानेकुरामा मसलाकाृ रुपमा प्रयोग हुने तेजपत्ताले स्वादको मात्रै होइन, अचुक औषधीको पनि काम गर्छ । यसको खेती गर्न खासै झन्झटिलो हुँदैन । बारी, पाखो वा भिरालो स्थान सबैतिर खेती गर्न सकिन्छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?