सिटीले आर्सनललाई हरायो

Read Time = 2 mins

लण्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनललाई एफए कपको चौथो राउण्डमा पराजित गरेको छ । प्रिमियर लिगको दोस्रो स्थानमा रहेको सिटीले आर्सनललाई एक-शून्यले पराजित गर्दै अर्काे राउण्डमा पुगेको हो । घरेलु मैदानमा सिटीको जितमा नाथन एकेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

इतिहाद स्टेडियममा शुक्रबार राती भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नाथन एकेले ६४औँ मिनेटमा गोल गर्दै सिटीलाई एक-शून्यको अग्रता दिलाउनुभयो । उहाँले ज्याक ग्रेलिसको पासमा गोल गर्नुभएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

यता, जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले जित निकालेको छ । शुक्रबार राती भएको खेलमा लाइपजिगले स्टुटगार्डलाई दुई-एक गोलअन्तरले हराएको हो । खेलको २५औँ मिनेटमा डोमिनिक सोबोस्लाइले गोल गर्दै लाइपजिगलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ४९औँ मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो गोल गर्दै लाइपजिगलाई दुई-शून्यको अग्रता दिलाउनुभयो ।

त्यसपछि खेलको ६८औँ मिनेटमा स्टुटगार्डका क्रिस फुरिचले पेनाल्टीमा गोल गरे पनि लाइपजिग दुई-एकले विजयी भयो । जितसँगै लाइपजिग दोस्रो स्थानमा उक्लिएको छ । लाइपजिगले १८ खेलमा ३५ अंक जोडेको छ । स्टुटगार्ड १६ अंक जोडेर १५औँ स्थानमा रहेको छ । एजेन्सी ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?