सात खेलाडी बन्द प्रशिक्षणमा फर्किए

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ । जसमा सात खेलाडीले पुनरागमन गरेका छन् । घरेलु मैदानमा हुने आइसिसी विश्व क्रिकेट लिगअन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिजका लागि ती खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

बन्द प्रशिक्षणमा बोलाइएको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, ललितनारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अभिनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी हुनुहुन्छ ।

त्यसमध्ये शरद भेषवाकरले गत वर्ष ओमान भ्रमणपछि टोलीमा पुनरागमन गर्नुभएको हो । यस्तै, विक्रम सोबले पछिल्लोपटक जेठमा भएको अमेरिका भ्रमणपछि बन्द प्रशिक्षणमा स्थान बनाउनुभएको हो । प्रधानमन्त्री कपमा उहाँले पाँच खेलमा ११ विकेट लिनुभएको थियो ।
अर्र्का अलराउण्डर भुवन कार्कीले झण्डै तीन वर्षपछि बन्द प्रशिक्षणमा स्थान बनाउनुभयो । उहाँले अन्तिमपटक २०२० इस्टर्न रिजनमा थाइल्याण्डविरुद्ध खेल्नुभएको थियो । प्रधानमन्त्री कपमा एपिएफलाई च्याम्पियन बनाउन भुवनले ६ खेलमा १० विकेट लिनुभएको थियो ।

यस्तै, विकेटकिपर अनिलकुमार शाह पनि क्याम्पमा फर्किनुभएको छ । अनिल पछिल्लोपटक नेपाली टोलीमा गत मार्चमा पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलको सिरिजमा नेपाली टोलीमा फर्कनुभएको थियो । प्रधानमन्त्री कपमा उहाँले पाँच खेलमा १३९ रन बनाउनुभएको थियो ।

त्यसबाहेक सिद्धान्त लोहनीले २०१७ पछि नेपाली टोलीको प्रशिक्षणमा मौका पाउनुभयो । प्रधानमन्त्री कपमा सिद्धान्तले प्रदेश १ बाट चार खेलमा दुई अर्धशतकसहित १४६ रन बनाउनुभएको थियो । यस्तै, युवा ब्याटर सन्दीप जोरा पनि लामो समयपछि क्याम्पमा फर्किनुभएको छ । जोरा अन्तिमपटक नेपाली टोलीमा २०२१ को अप्रिलमा टियु मैदानमा भएको नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–२० आई सिरिजमा हुनुहुन्थ्यो ।

उहाँहरूबाहेक तीन खेलाडी पहिलोपल्ट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्नुभएको छ । युवा ओपनर अंकित सुवेदी, स्पिनर सूर्य तामाङ र मौसम ढकाल पहिलोपटक टोलीमा पर्नुभएको हो ।

प्रदेश १ बाट घरेलु क्रिकेट खेल्ने अंकित, बागमती प्रदेशबाट खेल्ने स्पिनर सूर्य, नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्ने लिग स्पिनर मौसम ढकाल पहिलोपटक बन्द प्रशिक्षणमा पर्नुभएको हो ।

अंकितले प्रधानमन्त्री कपमा चार खेलमा एक शतक र एकमा अर्धशतकसहित कुल १८६ रन बनाउनुभएको थियो । अंकितले बागमती प्रदेशविरुद्ध ११० रनको शतकीय इनिङ खेल्नुभएको थियो । मौसम ढकालले प्रधानमन्त्री कपमा ६ खेलमा १५ विकेट लिँदै शीर्षस्थान लिनुभएको थियो । उहाँले नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सबाट खेल्नुभएको थियो ।

बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने बायाँ हाते स्पिनर सूर्य तामाङले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ ।
त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । सिरिजको पहिलो खेलमा नेपालले फेब्रुअरी १४ मा नामिबियासँग खेल्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?