डढुवा रोगले आलुखेती सखाप

Read Time = 5 mins

म्याग्दी । म्याग्दीको आलुखेतीमा डढुवा रोगको प्रकोप फैलिएको छ । यहाँका अधिकांश क्षेत्रमा लगाइएको आलुमा डढुवाको प्रकोप देखिएको हो । डढुवाले आलु सखाप भएपछि किसान चिन्तित बनेका छन् । कात्तिक महिनामा लगाइएको आलुमा माघ महिनामै डढुवा लागेर सखाप भएपछि आलु उत्पादन घट्ने भएको छ ।

व्यावसायिकरूपमा आलुखेती गर्दै आएका बेनी नगरपालिका, मालिका, रघुगंगा र मंगला गाउँपालिकाका किसानको आलु डढुवाले सखाप पारेको कृषि प्राविधिकहरूले बताएका छन् । अधिकांश किसानले लगाएको आलुमा मौसम परिवर्तनसँगै डढुवाको प्रकोप फैलिएको हो । चिसो मौसमको सुरुवातपछि किसानले आलुखेतीमा ध्यान नदिँदा कतिपय किसानको आलुखेती नष्ट भएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत् बानियाँले बताउनुभयो । रघुगंगा गाउँपालिका-६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डढुवाको संक्रमण फैलिएको ठाडाखानीका किसान दलबहादुर छन्त्यालले बताउनुभयो ।

खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाहअनुसार समयमै खेतीपातीको रेखदेख गर्ने गरेमा आलुलाई रोगकिराबाट बचाउन सकिने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देल बताउनुहुन्छ ।

म्याग्दीमा व्यावसायिकरूपमा एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा आलुखेती गरिएको छ । आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बीउमा अनुदान पाई किसानले करिब एक हजार क्विन्टल आलुको बीउ लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
पछौटे डढुवा आलुबालीमा लाग्ने रोगमध्ये प्रमुख रोग भएको कृषि प्राविधिक बानियाँले बताउनुभयो । बानियाँका अनुसार डढुवाबाट हुने क्षतिको क्रम हरेक वर्ष विकरालरूपमा बढिरहेको छ । पहाडी जिल्लाका साथै तराईका जिल्लामा समेत डढुवा रोग महामारीरूपमा फैलिसकेको छ ।

सुरु अवस्थामा पातमा हल्का हरियो रङका विभिन्न आकारका थोप्ला देखिने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले बताउनुभयो । सिग्देलका अनुसार ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्लावरिपरि कपासको घेराजस्तो देखिन्छ । रोग बढी हुँदै गयो भने पूरै पात सुकेर डढेजस्तो हुन्छ भने अनुकूल वातावरण रहृयो भने पात, काण्ड, डाँठ र दानामा समेत संक्रमण हुन्छ । फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारक तत्व भएको विशेषज्ञले बताएका छन् । यस प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाति नेपालमा पाइएका छन् ।

वायुमण्डलको सापेक्षिक आर्द्रता ८०.९५५ र रातको तापक्रम १०.१२ डिग्री सेल्सियस, लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बीउ र माटोको माध्यमबाट यो रोग देखापर्ने विशेषज्ञको भनाइ छ । रोग व्यवस्थापनका लागि म्यान्कोजेब वा बेभिस्टिन दुई ग्राम एक लिटर पानीमा हालेर आधा घण्टासम्म बीउ भिजाइ छायामा सुकाएर रोप्ने र ट्राइकोड्रामा आधा र ५० केजी कम्पोस्टमा मिसाएर दुईदेखि तीन रोपनीमा मिलाएर खेत जोतेर मौसम प्रतिकूल हुने संकेत देखिनेबित्तिकै कपरअक्सिक्लोराइड दुई ग्राम एक लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोट हटाइदिनुपर्ने कृषि विज्ञको सुझाव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?