भैरहवा भन्सार कार्यालयमा राजस्व संकलनमा कमी

हिमालय टाइम्स
Read Time = 4 mins

भैरहवा । भन्सार हुँदै नियमितरूपमा आउने मालवस्तुमा अनिवार्य मार्जिन र आयातमै प्रतिबन्ध लगाउँदा भैरहवा भन्सार कार्यालयमा राजस्व संकलनमा असर परेको छ । जिप, कार र भ्यानलगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै राजस्व संकलनको मुख्य आधार रहेका ती वस्तुको आयात नहुँदा भन्सारको राजस्व लक्ष्यमा ठूलो गिरावट आएको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजस्व संकलनमा कमी आएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म एक खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड राजस्व संकलन भएकोमा यो आर्थिक वर्ष २०७९/८० मा एक खर्ब १२ अर्ब ९३ करोडका मालवस्तु आयात हुँदा ३५ अर्ब ४४ करोड राजस्व संकलन भएको छ । जसबाट गत वर्ष लक्ष्यभन्दा तीन प्रतिशत बढी राजस्व संकलन गरेकोमा अहिले लक्ष्यको ५२ प्रतिशतले कमी छ ।

आयात गर्दा अनिवार्य मार्जिन आयातमा प्रतिबन्ध लगाएका कारण राजस्व संकलनमा कमी आएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाकाका रूपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १३ महिनादेखि निरन्तर राजस्व संकलन लक्ष्यअनुरूप गर्न नसकेर घटोत्तरीतर्फ जाँदैछ । भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार २०७८ मंसिरसम्म लक्ष्यअनुरूप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घट्दै गएको छ ।

आर्थिक वर्ष २०७९/८० को सुरुवातसँगै लक्ष्य निरन्तर घट्दोक्रममा छ । पहिलो महिना साउनमा लक्ष्यको ७० दशमलब ९८ प्रतिशत राजस्व संकलन भए पनि भदौमा ६७, असोजमा ४१, कात्तिकमा ४०, मंसिरमा ३९ र पुसमा ४० दशमलब ५७ प्रतिशतमा सीमित रहृयो । यसको मुख्य कारण राजस्वमा योगदान गर्ने मुख्य वस्तु भन्सार यार्डमा नआउनु नै हो । २०७८ पुस ५ गतेदेखि नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैंक र ‘ख’ वर्गको विकास बैंकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको वस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागू गरेसँगै लक्ष्य पार गर्न सकस भएकोमा अहिले आएर खोलिएको र यसले लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा रहेको भन्सार कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

चालु आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई गत आर्थिक वर्षभन्दा ३४ प्रतिशत बढी अर्थात् एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजस्व संकलनको लक्ष्य दिएको छ । ६ महिना बितिसक्दा पनि लक्ष्यको २२ दशमलब ७८ प्रतिशत अर्थात् ३५ अर्ब ४४ करोड २२ लाख १२ हजार राजस्व संकलन गर्न सकेको छ । अबको ६ महिनामा ७७ प्रतिशत राजस्व संकलन गर्न सकेमात्रै लक्ष्य प्राप्तिमा भन्सार पुग्नेछ, जुन असहज छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?