प्रमुख राजनीतिक दलहरू राष्ट्रपति निर्वाचन केन्द्रित दाउपेचमा

पुनः सत्तामा फर्किने कांग्रेसको रणनीति

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । पुस १० गतेको अनपेक्षित राजनीतिक घटनाक्रमबाट उत्पन्न वर्तमान सत्तासाझेदार सात राजनीतिक दलहरूले प्रधानमन्त्री, सभामुख र मुख्यमन्त्रीसहितका धेरैजसो राजकीय पद हात पारिसकेको छ । तर, मुलुकको प्रमुख राजकीय पद राष्ट्रपतिको लागि मुख्य राजनीतिक दलहरूबीच दाउपेच सुरु भएको छ । भावी राष्ट्रपति आफूअनुकूल बनाउन प्रमुख राजनीतिक शक्तिहरू तीव्र गृहकार्यमा जुटेका छन् । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको छ । तर, भावी राष्ट्रपतिको तस्बिर अझै स्पष्ट हुन सकेको छैन । नेकपा एमालेसहितका सात राजनीतिक दलको प्रस्तावमा पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यो बेला नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमालेलाई र प्रधानमन्त्री तथा सभामुख आधा-आधा कार्यकाल लिने सहमति भएको बताइएको छ । तर, पुस २६ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिँदा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि अनपेक्षित रूपमा प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक परिस्थिति फेरिएको तर्फ बलियो बन्दै गएको छ ।

प्रतिपक्षमा बस्ने अपेक्षाविपरीत कांग्रेसले विश्वासको मत दिएसँगै २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डको विपक्षमा जम्मा दुई मत मात्र पर्‍यो । कांग्रेसले विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमै राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अभिव्यक्ति दिइरहनु भएको छ । राष्ट्रिय सहमतिको सन्दर्भमा कांग्रेस र माओवादीबीच एक मत देखिँदा प्रचण्डलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेको एमाले भने सशंकित बनेको छ । पुस १० गते भएको सहमति अक्षरंश पालना हुनुपर्ने भन्दै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डामाथि निरन्तर दबाब बढाइरहनु भएको छ । एमालेको दबाबबीच माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने संस्थागत निर्णय गरेसँगै एमाले थप झस्किएको छ । एमालेका नेताहरूले भने पूर्ववत् सहमतिविपरीत गएर प्रधानमन्त्रीले धोका दिन नपाउने चेतावनी दिइरहेका छन् ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु र प्रधानमन्त्रीले विश्वासको मत दिएका दलहरूको संयुक्त बैठक तथा संसद् बैठकमा समेत आफूले संवैधानिक पदहरूमा राष्ट्रिय सहमति गर्न खोजेको बताएपछि राष्ट्रपति कुन दलबाट र को हुने भन्ने थप अनिश्चित बनेको छ । भावी राष्ट्रपति प्राप्त गर्न प्रमुख सत्तासाझेदार दल एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसको मुख्य चासो रहँदा अंकगणितमा माओवादी निर्णायक छ । राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र आ-आफ्नो रणनीतिमा छन् । नेकपा एमाले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा भएको राष्ट्रपति र सभामुख आफूले पाउने अलिखित सहमति कार्यान्वयन हुनुपर्ने अडानमा छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस जसरी पनि एमालेलाई राष्ट्रपतिमा रोक्ने दाउमा छ । राष्ट्रपतिमा एमालेलाई रोक्न सके जुनसुकै बेला पनि सत्ता आरोहणको अवसर आउने कांग्रेसको ठम्याइ छ । राष्ट्रपति चयनमा निर्णायक माओवादी केन्द्र भने आगामी दिनमा आफूअनुकूल राष्ट्रपति बनाउने रणनीतिमा छ । विपक्षी दल कांग्रेसले राष्ट्रपतिका लागि २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै तीव्र प्रयत्नमा छ । सभामुख र उपसभामुखको निर्वाचनलगत्तै कांग्रेस प्रधानमन्त्री प्रचण्डको पहलमा सहमतिको अपेक्षासहित राष्ट्रपति निर्वाचनमा केन्द्रित बनेको हो ।

कांग्रेसको नेतृत्वमा कुनै पनि दिन सरकार बन्ने सम्भावना छ ः कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस जुनसुकै बेला सरकारमा जान सक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको शनिबार विराटनगरमा उद्घाटन गर्दै नेता कोइरालाले भन्नुभयो, ‘योभन्दा अगाडि साढे तीन वर्ष कांग्रेस विपक्षमै थियो तर एमाले र माओवादीकै कारण सरकारको नेतृत्व पाएको थियो । यसपटक देशको ठूलो दल हुँदाहुँदै पनि सरकारमा जानबाट वञ्चित हुनुपरेको छ र राजनीतिमा यस्ता घटना भइरहन्छ । त्यसैले यो विषयमा धेरै चिन्ता लिनु पर्दैन किनकि जुनसुकै बेला सरकारमा जान सक्छौँ ।’

नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुनुपर्ने बताउनुभयो । फागुन २८ अघि राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुने जिकिर गर्दै नेता कोइरालाले संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले संविधानभित्र रहेर नै काम गर्नुपर्ने बताउनुभयो । उहाँले भावी राष्ट्रपतिको लागि कांग्रेसले उम्मेदवारी दिनेसमेत स्पष्ट पार्नुभयो ।

कांग्रेसले धमिलो पानीमा माछा मार्न खोज्दै छ : ज्ञवाली
नेकपा एमालेका उपमहाविच प्रदीप ज्ञवालीले कांग्रेसले राष्ट्रपति निर्वाचनमा धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाउनुभएको छ । सत्ता गठबन्धनको सहमतिअनुसार एमालेबाटै राष्ट्रपति निर्वाचित हुनेमा आफू ढुक्क रहेको दाबी गर्दै ज्ञवालीले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको आधारमा राष्ट्रपति पदमा सम्झौता नगरेको जिकिर गर्नुभयो । प्रेस चौतारी नेपाल पाल्पा शाखाले शनिबार तानसेनमा राखेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले वर्तमान गठबन्धनलाई कमजोर गराउने कुनै पनि प्रयास सफल नहुने दाबी गर्दै भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनका विषयमा छलफलहरू हुन सक्छन् । प्रतिपक्षीको हैसियतले कांग्रेसले कोसिस गर्नु एउटा कुरा होला तर त्यो कोसिस सार्थक हुनेवाला छैन । सत्तालाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा नै कांग्रेसले सबै पद गुमाएको हो । अझै पनि धमिलो पानीमा माछा मार्ने दाउमा लागेको छ । त्यसैले राष्ट्रपतिको दाउ ताकेको हुन सक्छ ।’

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक : डा. भट्टराई
माओवादी केन्द्र र उक्त पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डको राष्ट्रिय सहमतिको प्रयासमा बल पुग्ने गरी पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपाल समाजवादी पार्टी (नेसपा) का डा. बाबुराम भट्टराईले पनि राष्ट्रपति निर्वाचनमा सर्वसम्मत भए उपयुक्त हुने बताउनुभएको छ । शनिबार गृहजिल्ला गोरखा पुग्नुभएका डा.भट्टराईले पत्रकारसँगको कुराकानीमा राष्ट्रपतिमा प्रमुख शक्तिबीच राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘राष्ट्रिय राजनीतिका अहम् मुद्दामा सहमति गराएर जानु उपयुक्त हुन्छ, राष्ट्रपति जस्तो संस्थालाई चाहिँ धेरैभन्दा धेरै सहमति चाहिन्छ । सर्वसम्मत नहुन पनि सक्छ, अधिकतम सहमति हुने तवरले जानु उपयुक्त हुन्छ । कम्तीमा कांग्रेससहित एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका शक्तिहरूबीच राष्ट्रिय सहमति बन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?