आत्मदाह ‘दुस्साहसपूर्ण विद्रोह’, : देशमा गरिखानेका लागि ठाउँ छैन !

डा. डीआर उपाध्याय
Read Time = 11 mins

जुनसुकै प्रकारबाट गरिएको भए पनि आत्महत्या आफैंमा गलत र निन्दनीय कार्य हो । आफैंले आफैंलाई हत्या गर्ने कार्यलाई कुनै पनि अर्थमा सही मान्न सकिँदैन । आफैंले आफ्नो जीवन नष्ट गर्ने कार्य किमार्थ सही होइन । तर, यही मंगलबार देशको राजधानीको मुख्य ठाउँ नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवाले भिडभाडबीच दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले सबैलाई स्तब्ध तुल्याएको छ भने राज्य सञ्चालन गर्ने ठेक्का लिएकाहरूलाई थुप्रै प्रश्न तेस्र्याइदिएको छ । साथै यो घटनाले राज्य लज्जित भएको छ । आफ्नो वा अरूको ज्यान लिने काम अपराध हो । तर, कतिपय बेला यस्ता कसुरहरू विद्रोहमा बदलिन्छन् ।

इलामका ३७ वर्षीय युवा प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले मनमा अनेक कुरा खेलिरहे । उनले उठाएका विषय र प्रसंग पढिरहँदा मन धेरै ठाउँमा अमिलो भएर भक्कानिएर आयो भने हाम्रो सिस्टमप्रति आक्रोश दन्कियो । उनको आत्मदाहको घटनाले मनमा अनेकन कुरा खेलिरहे । सिर्जित बाध्यात्मक अवस्थालाई पहिल्याउँदा वर्तमान राज्य व्यवस्थाकै असफलता उनको मृत्युको कारक बनेको यथार्थमा परिणत हुन्छ । यसले अझ झन् कारुणिक बनायो । आफ्नै देशमा उद्यमी बन्ने प्रयत्नमा हरेक मोडमा भोगिएका अनगिन्ति पीडा, सम्बन्धित निकायबाट पाएका असहयोग, निराशा र राज्यको नागरिकप्रतिको गैरजिम्मेवारपनले सिर्जित अवस्था हो यो घटना भन्ने प्रष्ट हुन्छ । सरसर्ती हेर्दा आत्मदाहको कारणा उनी आफैंजस्तो देखिए पनि हाम्रो सिस्टमको उपज हो यो घटना भन्न सकिन्छ ।

आचार्यले उठाएका सवालहरू र उनले भोगेका यावत् समस्याका कारण हाम्रो देशको भ्रष्ट राजनीति, निकम्मा कर्मचारीतन्त्र, बजार माफिया र बिचौलिया साथै समग्रमा हाम्रो विद्यमान सामाजिक संरचना नै दोषी छ । यसमा कसैको दुई मत नहोला । यो राज्य संयन्त्र र सिस्टमको असफलताको एउटा भयावह एवं दारुण दृश्य हो भन्न सकिन्छ ।

आचार्यलाई यो हदसम्म पुर्‍याउन दुरुत्साहन गर्ने पक्ष भनेको हाम्रै राज्यप्रणाली हो । सामाजिक सञ्जालमा उनले व्यक्त गरेका पीडादायी क्षण र मार्मिक कथनबाट स्वयं स्पष्ट हुन्छ कि हाम्रो राज्यप्रणालीले नै यसका लागि दुरुत्साहन गरिरहृयो । यो त बाहिर आयो, भित्रभित्रै यस्ता घटना कति होलान !

उनलाई यो हदसम्म पुर्‍याउन दुरुत्साहन गर्ने पक्ष भनेको हाम्रै राज्यप्रणाली हो । सामाजिक सञ्जालमा उनले व्यक्त गरेका पीडादायी क्षण र मार्मिक कथनबाट स्वयं स्पष्ट हुन्छ कि हाम्रो राज्यप्रणालीले नै यसका लागि दुरुत्साहन गरिरहृयो । यो त एउटा घटना बाहिर आयो, भित्रभित्रै पिल्सिएका यस्ता घटना कति होलान ! आचार्यले उठाएका प्रश्न र भोगेका अनगिन्ति पीडा आमनेपाली युवाले पनि भोग्दैआएका छन् । धेरै राजनीतिक दल र नेताहरू युवालाई अनेकौं मीठा-मीठा सपना बाँडेर आफू सत्तामा पुगे । केही पार्टीले हजारौं युवाहरूको बलि चढाएर सत्तामा उक्लिए तर हाम्रो अवस्था भने अझ दुस्कर हुँदै गयो । देशमा अनेकौं पटक व्यवस्था बदलियो तर जनताको जीवनस्तर झन्झन् खस्कँदो क्रममा छ, अवस्था भने बदलिएन ।

विदेशमा युवाहरूले पसिना बगाएर पठाएको रेमिट्यान्सले देश चलेको छ । त्यसमा पनि भ्रष्टाचार मौलाउँदो छ । रेमिटान्समात्रै भित्रिएको छैन हरेक दिन परदेशिएकाहरूको सपना लाशमा परिणत भएर हाम्रो अन्तर्राष्ट्रिय एयरपोर्टमा आइपुग्छन् । अन्तर्राष्ट्रिय एयरपोर्टमा देखिने आफ्न्तहरूको कारुणिक हृदयविदारक दृश्यमा हाम्रो देशको मुहार देखिन्छ । देशमा परिवर्तनको बाहनामा हरेक पटक नयाँ-नयाँ सरकार गठन हुने गर्छन् । यो गर्छौं र त्यो गर्छौं भन्दै आमजनतालाई रनभुल्लमा पार्नेबाहेकको केही उपलब्धि भएको देखिँदैन । नेता खोक्रा आश्वासन बाँड्न व्यस्त छन् भने आमजनसमुदाय चह¥याइरहेका पीडादायी घाउ लिएर आफ्नो जीवन घिसार्न बाध्य छन् ।

आचार्यको आत्मदाह र त्यसपछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति नदोहोरिनका लागि राज्य सजग हुनुपर्छ तर हामीकहाँ त्यसतर्फ ध्यान जाने गरेको पाइँदैन । राज्य सञ्चालन गर्नेहरूले सत्ताको जोडघटाउ र लाभका पदमा आफ्ना मान्छे कसरी पुर्‍याउन सकिन्छ भन्ने बारेमै चिन्तन मनन् गरेको पाइन्छ । यो नै हाम्रो विडम्बना हो । आचार्यले नागरिकसँग जोडिएका विभिन्न सबालबारे ६ हजार ५ सय शब्दको बयान लेखेर ध्यानाकर्षण गराएकोतर्फ सम्बन्धित निकायले गम्भीरतापूर्वक लिन जरुरी छ । आचार्यको घटनाले एउटा जबर्जस्त प्रश्न राज्यका सामु तेस्र्याएको छ- यो देशमा गरिखानेका लागि किन ठाउँ छैन ?

देशमा प्रत्येक दिन औसतमा २२ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ । आफूले आफैँलाई समाप्त गर्ने प्रायः सबैमा चरम निराशा र जीवनप्रतिको मोह भंग नै रहेको हुन्छ । उनीहरूले आफ्नो आत्महत्यामा आफूभित्र रहेका विषयलाई बाहिर नल्याइकन गरे । तर, आचार्यले गम्भीर विषयलाई बाहिर ल्याएका छन् । राज्य संयन्त्र भ्रष्ट हुँदै जाँदा आममानिसको जीवनमा परिवर्तन आउन सकेन जसले चरम निराशा व्याप्त भएको छ । त्यसैको परिणाम हो आचार्यको घटना भन्न सकिन्छ । मानिसको जुनी एक पटक आउँछ । कोही पनि अहिलेसम्म मरेर फेरि बाँचेको छैन । केही धर्मले पुनर्जन्ममा विश्वास गर्ने गरेका भए पनि आधिकारिक रूपमा पुष्टि हुन सकेका छैनन् ।

हामीले पाएको यो जुनीलाई सही सदुपयोग गर्नुपर्छ । जीवन संघर्ष हो र संघर्ष गर्दै जिउनु नै जीवन हो । जन्मसँगै मृत्यु छ । मृत्युलाई हामीले कुनै पनि हालतमा टार्न सक्दैनौँ । यसलाई सहर्ष स्वीकार गरेर अघि बढ्नु नै जीवन हो । जन्म र मृत्युको बीचको समय नै जीवन हो । हामीले यस धर्तीमा आइसकेपछि केही असल कार्य गरेर जानुपर्छ । हाम्रा कार्य आउने पिँढीलाई केही शिक्षा र मार्गदर्शन हुन जरुरी छ ।

सरकारले आचार्यले उठाएका विषय छानविन गर्ने निर्णय गरेको छ जुन स्वागतयोग्य छ । तदारुकताका साथ छानविन गरी सत्यतथ्य बाहिर आओस् । छानविनपछिको निष्कर्ष अनुसार सरकारले कदम अघि बाढाओस् जसले यस्ता घटनालाई न्यूनीकरण गरोस् ।

सामान्य जीवन जिउनुभन्दा केही पृथक गर्ने कार्य सोच्नु नै राम्रो हुन्छ । जीवनमा हरेक क्षण दुःख छ, त्यसलाई सहज तरिकाले लैजानु नै बुद्धिमत्ता हुन्छ । जीवन जिउनेक्रममा देखापरेका समस्या र आइपरेका चुनौतीलाई डटेर सामना गर्नुको साटो हरेस खाने, आफैंले आफैंलाई समाप्त गर्ने कार्यलाई कदापि राम्रो मान्न सकिँदैन । फेरि पनि आमनागरिको जीवनलाई सहज बनाउने कार्य भनेको राज्य संयन्त्रको हो । राज्य संयन्त्रणले जिम्मेबारीपूर्ण ढंगले कार्य गर्न नसक्दा आचार्यका जस्ता घटाना घटित हुने गर्दछन् ।

यस्ता घटनालाई न्यूनीकरण गर्न समयमै राज्य संयन्त्र सचेत हुन जरुरी छ । कोही पनि व्यक्तिले केही कारण देखाउँदै आत्मदाह गर्नुपर्ने अवस्था आउनु कुनै पनि दृष्टिले उपयुक्त होइन । तर, यस्तो अवस्था आउनुमा व्यवस्था, प्रणाली के-केमा कमीकमजोरी छ भन्नेबारे सरोकारवालाले ध्यान दिनु अत्यावश्यक छ । सरकारले आचार्यले उठाएका विषय छानविन गर्ने निर्णय गरेको छ जुन स्वागतयोग्य छ । तदारुकताका साथ छानविन गरी सत्यतथ्य बाहिर आओस् । छानविनपछिको निष्कर्ष अनुसार सरकारले कदम अघि बाढाओस्, जसले यस्ता घटनालाई न्यूनीकरण गरोस् । यही कामना । ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मामृतं गमय ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?