एकल महिलाले उठाएको माग सरकारले सम्बोधन गर्छ: प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दाहरू सम्बोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएकाे छ ।

आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘तपाईंहरूको यो कार्यक्रम अरु कार्यभन्दा पृथक र मौलिक लाग्यो। यहाँ तपाईहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे-जति मुद्दा उठाउनुभएको छ । त्यसलाई सम्वोधन गर्ने मेरो प्रयास हुनेछ।'

संविधानमा नै व्यवस्था गरेर एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित रहेको भन्दै उहाँले यसका लागि छलफल गरेर सम्बोधन गरिने बताउनुभयाे । ‘एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जे-जति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन् । तिनीहरू सम्वोधन गरिनेछ,’ प्रधानमन्त्रीले भने ।

२७ वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘२७ वर्षको अवधिमा तपाईहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाहरूको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु।'

महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भएको भन्दै उहाँले गरीब, पिछडिएका महिलाहरूले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको संघर्षकै कारण समाज र राजनीतिले उपलब्धि हासिल गरेको बताउनुभयाे ।

‘उनीहरूले संघर्ष नगरेको भए, बलिदानीको उच्च कीर्तिमानी नराखेको भए, रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ,’ उहाँले भन्नुभयाे, ‘महिलाहरूको सहभागीता र भूमिकाबिना संसारमा कहिँ पनि परिवर्तन भएको छैन । महिलाहरूकै संघर्षका कारण आज राज्यका सबै अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ । स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व छ । अझै यो पर्याप्त छैन । पुरूषसरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?