लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नूस् : मन्त्री किराँती

Read Time = 8 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।

आईतवार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिनुभएको हो ।

उहाँले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका गर्न आग्रह गर्नुभयो । मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताउनु भयो । उहाँले नेपालको संविधान कानून अनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार सात दिन,एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिनुभयो । उहाँले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताउनु भयो । मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गर्नुभयो । उहाँल नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । मन्त्री भएर होइन लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दै छु । विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतम बुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिए । लुम्बिनीमा गाउँहरु ल्याएर चराइन्छ रे त्यहाँ गाईको गोब्बर मात्रै छ भन्छन् । गौतम बुद्ध भगवान होइनन् भगवान फोहोरमा बस्नुहुन्छ । यति ठूलो जिम्मेवारीमा राज्यले पत्याएर लुम्बिनी विकास कोषमा काम गर्न पठाएको छ । लुम्बिनी विकास गर्न बजेट छ,कार्यक्रम छ तर काम किन छैन ? नेपालको संविधान अनुसार कानून छ,कानून अनुसार संरचनाहरु निर्माण भएका छन,संरचनाहरुमा कर्मचारीहरु छन् तर काम किन छैन ? अब काम चाहियो । लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार कार्ययोजान चाहिन्छ । दायाँबायाँ केही छैन । सात दिन,एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने क्यालेण्डर अनुसार कार्ययोजना चाहियो । लुम्बिनीलाई विकास गर्ने नाममा मागी खाने भाडो बनाउनु भएन । विश्वमा सबैभन्दा बढी बौद्धधर्मसँग सम्बन्धित धर्मालम्बीहरु रहेका छन् । गौतम बुद्ध बौद्ध धर्मलम्वीहरुको नाभी हो । ढुकढुकी हो । हाम्रो चाहीँ मागी खाने भाँडो हो त ? कर्मचारीहरुले पवित्र थलोमा बसेर अपवित्र कर्म गर्नु हुँदैन । हामीले गौरवका साथ विकासमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने लुम्बिनीमा नै अपवित्र काम गर्ने ? लुम्बिनी विकास कोषका कर्मचारी माथि विश्वको आँखा रहेको छ । त्यसकारण कर्मचारीहरु गम्भिर हुनुहोला ।’

उहाँले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने बताउनु भयो । उहाँले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीहरुबाट क्यालेण्डर अनुसार कामको परिणाम ल्याउने बताउनु भयो । मन्त्री किराँतीले कर्मचारीहरुले जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न आग्रह गर्नुभयो । उहाँले आफू देशको हीत विपरित हुने कुनैपनि क्रियाकलापसँग सम्झौता नगर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ हामी कोही कर्मचारी सरुवा गरेर रमिता देखाउने छैनौं । तर काम चाहियो । कर्मचारी थर्काएर केही बुझ्न नपाई सरुवा गर्ने पुराना प्रवृत्ति हो । हामी पुरानो प्रवृत्ति दोहो¥याउने वाला छैनौं । हामीलाई काम चाहियो । तर क्यालेण्डरको आधारमा रिजल्ट ल्याउन सकिएन भने अन्य धेरै तिर बल नगर्नु होला । जस्केला वा झ्यालबाट छिर्ने कोशिस नगर्नुस् । केही छैन । वडा अध्यक्ष पनि हुदिन भन्ने थियो । मन्त्री भए पद गए जान्छ तर सम्झौता देशको हीत विपरित हुने क्रियाकलापसँग हुँदैन । सरकारले नीतिमा कहाँ सहयोग गर्नु पर्ने हो । यहाँ भन्नुस् । हामी नीतिमा सहयोग गर्न तयार छौं । आफूसँग कुनै स्वार्थ छैन । म आफैँ फाइल बोकेर जानु नपरोस् ।’

कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजना भन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गर्नुभयो । उहाँले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताउनु भयो । उहाँले लुम्बिनी विकासको गुरुयोजना निर्माणमा ढिलाई भइरहेको पनि बताउनु भयो । सचिव अधिकारीले बजेटको कमी,बजेट समयमा नै निकासा नहुने मात्रै नभइ कोषको काम प्राथमिकतामा भरपर्ने बताउनु भयो ।

उहाँले लुम्बिनी क्षेत्रभित्रका विभन्न जग्गाहरु अन्तर्राष्ट्रिय धार्मिक संस्थाहरुलाई बाँडफाँट भएकाले समस्या भएको बताउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?