वैदेशिक व्यापार, लगानी वृद्धि गर्ने चीनको योजना

Read Time = 7 mins

बेइजिङ । चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तीव्रता ल्याउने योजना अघि सारेको छ । चिनियाँ प्रधानमन्त्री लि.केकाङको अध्यक्षतामा सम्पन्न राज्य परिषद् बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो ।

बैठकले केन्द्रीय आर्थिक सम्मेलनले हालै अनुमोदन गरेको आर्थिक सुधारसम्बन्धी निर्णयहरूको कार्यान्वयन गर्ने प्रस्तावलाई पनि अघि बढाएको छ । आर्थिक वृद्धि, रोजगारी र उपभोग्य वस्तुको मूल्यमा स्थिरता सुनिश्चित गर्नेतर्फ बैठकले ध्यान केन्द्रित गरेको छ । अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न अघि बढाइएका नीतिगत प्याकेजको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्न ठोस कदम अगाडि बढाइनेछ । मुख्य परियोजना र वित्तीय नीतिको अग्रसरताका उपकरणलाई अद्यावधिक गरी बढी भौतिक प्रगति गर्नेतर्फ अगाडि बढ्नेतर्फ बैठकले ध्यान दिएको छ ।

साना करदाताका उपलब्ध गराइएको भ्याट र सहुलियतपूर्ण ऋणको राहतलाई साना व्यवसायका लागि थप प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइनेछ । सार्वजनिक क्षेत्रलाई थप संगठित र विकास गर्नुपर्नेमा पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दै बैठकले गैरसार्वजनिक क्षेत्रको विकासलाई सहयोग र नीतिगत मार्गदर्शन गर्न प्रोत्साहित गरिने जनाएको छ । विश्वस्तरीय बजारमुखी व्यावसायिक वातावरण निर्माण गर्न निजी व्यवसायको कानुनी अधिकार र चासोलाई संरक्षण गरिने बैठकमा सहमति भएको छ ।

बैठकले स्प्रिङ चाड पछिको अवस्थामा व्यवसाय र उत्पादन क्षेत्रलाई थप व्यवस्थित रूपमा खुला गर्न सहजीकरण आवश्यक रहेकामा जोड दिएको छ । साथै आप्रवासी कामदारलाई उनीहरूका पूर्ववत् काममा फर्कन र नयाँ रोजगारी खोज्ने गरी सहजीकरण गर्नुपर्ने कुरामा बैठकले ध्यान दिएको उल्लेख छ । चिनियाँ अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको दैनिक उपभोग्य वस्तुको खपत बढाउन बैठकले जोड दिएको छ । वस्तुको मागका सन्दर्भमा वैदेशिक व्यापार र लगानी बढाउनेतर्फ ध्यान दिन राज्यका सबै निकाय अग्रसर हुनुपर्ने निर्णय बैठकले गरेको छ ।

उपभोग्य वस्तुको मागलाई तीव्रता दिने सन्दर्भमा सेवामूलक व्यवसाय तथा स्वरोजगारमा आबद्ध व्यक्तिलाई मद्धत गर्नेगरी नीतिहरू अघि बढाइनेछ । बैठकले कार र अन्य मूल्यवान सामानको उपभोग वृद्धिलाई प्रबद्र्धन गर्न जोड दिएको छ । उपभोग्य सामानको खरिदमा सहज ऋण उपलब्ध गराउने प्रावधान अघि बढाइएको छ । कुनै खास शहरी क्षेत्रलाई प्राथमिकता दिइने, घर खरिदका चाहनालाई ध्यानमा राख्ने, घरहरूको अवस्थामा सुधार ल्याउने, पहिल्यै बिक्री गरिएका घरहरूको अवस्थामा सुधार ल्याइनेछ ।

‘उपभोगलाई व्यापक तुल्याउन देशभित्रै मागलाई विस्तार गर्नु मुख्य कदम हो । अर्थतन्त्रमा उपभोगलाई मुख्य प्राथमिकतामा राख्नु जरुरी छ’, प्रधानमन्त्री लीले भन्नुभयो, ‘चिनियाँ अर्थतन्त्रको सर्वाधिक महत्वपूर्ण क्षमता भनेकै एक अर्ब ४० करोड मानिसले गर्ने उपभोग नै हो ।’
बैठकले आर्थिक खुलापनको राष्ट्रिय नीतिप्रति चीनको प्रतिबद्धतालाई पुनःजोड दिँदै वैदेशिक व्यापारलाई मजबुत बनाउने ठोस उपायहरू आहृवान गरेको छ । देशभित्र वस्तुहरूको प्रदर्शनीहरूलाई थप खुला गरिने तथा विदेशमा हुने औद्योगिक तथा व्यापारिक प्रदर्शनीमा सहभागिताका लागि व्यवसायीलाई सरकारले मद्धत गर्ने बैठकले निर्णय गरेको छ ।

वैदेशिक व्यापारमा सहुलियत, ऋण र बीमासमेतका सुविधा उपलब्ध गराउने नीतिको प्रभावकारी कार्यान्वयन गरिने तथा चिनियाँ मुद्रा (आरएमबी) को परिवत्र्य दरलाई सकेसम्म स्थिर र सन्तुलित राखिने छ । व्यवसायीलाई बजारका अवसरको खोजी गर्न सरकारले थप राहत र सुविधा उपलब्ध गराउनेछ । सिमापार ई–कमर्सको विकासलाई थप प्रबद्र्धन गरिनेछ । वैदेशिक व्यापारको प्रतिस्पर्धात्मक क्षमता बढाउन प्रोत्साहित गरिनेछ । आवश्यकता अनुसार आयातलाई विस्तार गरिनेछ ।

वैदेशिक लगानी आकर्षित गर्न सक्रियतापूर्वक प्रयत्न गरिनेछ । व्यवसाय र लगानीमा आकर्षिक गर्नेगरी स्थानीय सरकारहरूलाई मद्धत गरिनेछ । स्वतन्त्र व्यापार क्षेत्र र अन्य प्लेटफर्मको प्रयोगमा सहुलियत दिइनेछ । वैदेशिक लगानीमा सञ्चालित व्यवसायको सेवामा सुधार ल्याउन दिगो प्रयत्न गरिनेछ । बैठकले फेब्रुवरी महिनाको प्रारम्भमै विस्तृत योजना तयार गर्न सरकारका सम्बद्ध निकायलाई आग्रह गरेको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?