व्यवसायीको मनोबल उच्च राख्न आग्रह

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्मदाह/आत्महत्या गरेको दुखद् घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको भन्दै उद्योगी, व्यवसायीको उच्च मनोबल रहने वातावरण बनाउन आग्रह गरेको छ । महिनौंदेखि शिथिल रहेको नेपाली अर्थतन्त्र गतिशील बनाउन सरकार र निजी क्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक प्रयास सुरु भएको अवस्थाबीच पछिल्ला दिनमा घटेका (आत्मदाह/आत्महत्याका) घटनाले अर्थतन्त्रको विकास र व्यावसायिक वातावरणमा सुधारसँग सरोकार राख्ने सबैलाई झक्झक्याएको सिएनआईको भनाइ छ ।

सिएनआईका अनुसार विगत केही समयदेखि नेपाली अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेलामा सरकारबाट चालु पुँजी कर्जा मार्गदर्शन परिमार्जन, आयात फुकुवा, एलसी मार्जिन र निक्षेपमा ब्याजदर घट्ने जस्ता कदमले अर्थतन्त्र चलायमान गर्ने संकेत दिएको छ । साथै पर्यटक आवागमन तथा रेमिट्यान्स वृद्धि, शोधनान्तर स्थितिमा आएको सुधारलगायतले अर्थतन्त्रमा सकारात्मक सन्देश दिएका छन् । सकारात्मक कदमहरू सरकारले क्रमशः अघि बढाउँदै लैजाने सिएनआईको विश्वास छ ।

केही महिनामै सरकारले लिएका र लिने कदमले तरलता स्थिति र समग्र मागमा वृद्धि ल्याई अर्थतन्त्र चलायमान हुने सिएनआईले जनाएको छ । सिएनआईद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उद्योगी व्यवसायीको मनोबल उच्च राख्ने र अर्थतन्त्र चलायमान बनाउने सबैको दायित्व हो । यो जिम्मेवारी निजी क्षेत्रमात्रै नभई राजनीतिज्ञ, कर्मचारीतन्त्र, वित्तीय संस्था, नागरिक समाजलगायत सबै सरोकारवालाको हो । अर्थतन्त्र नाजुक परिस्थितिबाट गुज्रिरहेका बेला सबै सरोकारवालालाई संयमता अपनाई उद्योगी व्यवसायीलाई यो परिस्थितिबाट माथि उकास्न मद्दत गर्न परिसंघ अनुरोध गर्छ । मानिसको आशा नै जीवनको बाँच्ने आधार भएकाले अगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पात्र र प्रणाली दुवैमा प्रभावकारी ढंगबाट सुधारका काम तत्काल थाल्न सरकारीसहित मुख्य सरोकारवालालाई एकीकृत पहल गर्दै अघि बढ्न अपिल गर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?