अलैंची प्रवद्र्धन गर्न अलैंची परिकार रेसिपी बुक

Read Time = 4 mins

काठमाडौं । वाह, अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन अलैंची प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ । पुस्तकमा मास्टर सेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य सेफबाट विशेषरूपमा छानिएका ४० भन्दा बढी रेसिपी समावेश छन् । साथै रेसिपी बुकमा सेकुवा, चिया र खिर जस्ता सदावहार व्यञ्जनका लागि मसला तयार गर्ने विधिसमेत समावेश गरिएका छन् । पुस्तकमा समावेश गरिएका रेसिपी वाह, अलैंची अभियानअन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीबीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो । प्रतियोगितामा अलैंचीलाई मुख्य सामग्रीका रूपमा प्रयोग गरिएको थियो, जसमा विराटनगर, सौराह र काठमाडौंका होटलका प्रोफेसनल सेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थी उत्साहसाथ सहभागी भएका थिए ।

प्रत्येक रेसिपीलाई काठमाडौंका प्रोफेसनल सेफको टोलीद्वारा सावधानीपूर्वक चयन र परीक्षण गरिएको थियो । सन् २०२२ जुलाईमा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा होटल एसोसिएसन नेपालसँगको सहकार्यमा वाह, अलैंची अभियान शुभारम्भ गरेको थियो । अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामाझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ । साथै अभियानले नेपाली घरपरिवारलाई अलैंचीका फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य लिएको छ ।

हाल दोस्रो चरणमा रहेको अभियानले नेपाली बजार र घर-घरमा अलैंची प्रयोग र उपभोग प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ । अभियान अलैंची प्रवद्र्धन गर्न प्रमुख सरोकारवालासँगको सहकार्यमा केन्द्रित हुने र रेसिपी बुक प्रवद्र्धन गर्न सञ्चारमाध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्ने बताइएको छ । अलैंची व्यवसायी महासंघ नेपालमा अलैंची व्यवसायी उद्यमीको छाता संगठन हो । विसं २०६४ मा स्थापित महासंघको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ भने महासंघमा एक हजार एक सयभन्दा बढी सदस्य(निर्यातकर्ता, व्यापारी, संकलनकर्ता र किसान) आबद्ध छन् । देशभर एक लाख २५ हजारभन्दा बढी किसान परिवारले अलैंचीखेती गर्दै आएका छन् ।

नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण नेपाल सरकार र स्विजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा रहेको छ । जसको कार्यान्वयन स्विस कन्ट्याक्ट (लिड एजेन्सीका रूपमा) र वातावरण तथा कृषि नीति, अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड) संयुक्तरूपमा गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?