नेपालमा भोकमरीको अवस्था सुधार

Read Time = 2 mins

काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालको भोकमरी अवस्थामा सुधार हुँदै गएको छ । विश्वव्यापी भोकमरी सूचांक ग्लोबल हंगर इण्डेक्सका अनुसार नेपालमा व्याप्त भोकमरीको अवस्थामा क्रमिक सुधार हुँदै गएको हो । कुल एक सय २१ देशमा गरिएको सर्वेक्षणमा नेपाल ८१औँ स्थानमा रहेको छ भने हाल नेपालको ग्लोबल हंगर सूचांक स्कोर १९.१ रहेको छ ।

सूचकांकअनुसार नेपालमा मध्यमस्तरको भोकमरी रहेको छ । सन् २०१४ मा गरिएको सर्वेक्षणमा नेपालमा भोकमरीको अवस्था गम्भीर र तुरुन्त सुधारका काम गर्नुपर्ने देखिएको थियो भने सन् २००७ मा नेपालमा भोकमरीको अवस्था जटिल थियो । सन् २००० देखि २००७ को समयमा भोकमरीकै कारण नेपालमा शिशु मातृ मृत्युदर पनि उच्च थियो । भोकमरी सूचांकले कुपोषण, उचाइअनुसार तौल नपुगेका पाँच वर्षमुनिका बालबालिका, उमेर बढे पनि उचाइ नबढेका पाँच वर्षमुनिका बालबालिका र बाल मृत्युदरका आधारमा देशहरूलाई श्रेणीबद्ध गर्दै आएको छ ।

शून्यदेखि ९.९ सम्मको स्कोरले भोकमरीको अवस्था सामान्य वा न्यून भन्ने बुझाउँछ भने १०-१९.९ सम्मको स्कोरले अवस्था गम्भीर भन्ने बुझाउँछ । २०-३४.९ सम्मको स्कोरले भोकमरीको अवस्था गम्भीर, ३५-४९.९ सम्मको स्कोरले आपत्कालीन र ५० माथिको स्कोरले एकदमै जटिल रहेकोे बुझाउँछ । नेपालमा भोकमरीको अवस्था तुलनात्मकरूपमा अन्य दक्षिण एसियाली देशभन्दा सुधारोन्मुख रहे पनि श्रीलंकाको तुलनामा नेपाल पछि रहेको छ । श्रीलंका १३.६ स्कोरसहित ६४औँ स्थान, भारत २९.१ अंकसहित १०७औँ स्थान, पाकिस्तान २६.१ अंकसहित ९९औँ स्थानमा र अफगानिस्तान २९.९ अंकसहित ११९औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?