राजधानीमा नक्कली मदिरा कारोबारको बिगबिगी

ख्यातिप्राप्त ब्राण्डको नाममा नक्कली मदिरा उत्पादन गर्ने तीनजना पक्राउ

अनिल क्षेत्री
Read Time = 7 mins

काठमाडौं । ललितपुरमा ख्यातिप्राप्त विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि नक्कली मदिरा कारोबारको रहस्य खुलेको हो । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको छ । यस्तै, उक्त कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको छ । उपत्यकामा स्वदेशी र विदेशी ब्रान्डका नक्कली तथा गुणस्तरहीन रक्सी उत्पादन गरी कालोबजारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका नीरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एकजना सञ्चालक र दुईजना बिक्रेता भएको प्रहरीले जनाएको छ ।

नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्क लगायतका क्षेत्रबाट बिक्री हुने गरेको खुलेको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नक्कली रक्सी उत्पादन गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखा घर भई ललितपुरको कुपण्डोल बस्दै आएका २७ वर्षीय निरज उप्रेती, स्याङ्जा घर भई टोखा बस्ने २६ वर्षीया धर्मी गौडेल र सिन्धुली घर भई ललितपुरको टीकाथली बस्ने २६ वर्षीय गणेशबहादुर रानामगर छन् । उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली तथा गुणस्तरहीन रक्सी उत्पादन गरी कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयले अपरेशन लिमा-२ सञ्चालन गरी प्रहरी खटाएको थियो ।

उप्रेतीले कुपण्डोलमा नेक्स्ट टेष्ट लिक्वेयर स्टोर सञ्चालन गर्दै आएका थिए । गत शुक्रबार प्रहरीले उनको पसलमा छापा मारेको थियो । त्यहाँबाट नक्कली रक्सी ‘खुकुरी रम’ बरामद गरेको हो । यस्तै, अनुसन्धानको क्रममा प्रहरी काठमाडौंको एसटी लिक्वेयर स्टोरमा पनि पुगेको थियो । उक्त स्टोर धर्मीले सञ्चालन गर्दै आएकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूले ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथलीस्थित टहरामा बसेर नक्कली रक्सी बनाउने गरेको खुलेको हो । रक्सी उत्पादन गर्ने ठाउँ पनि उनीहरूले फेरिरहने गरेको पाइएको जानकारी दिँदै एसएसपी केसीले भन्नुभयो, ‘एकचोटिमा १० देखि १२ कार्टुनसम्म नक्कली रक्सी बनायो । अनि बजारमा पठाइहाल्ने गरेको देखिन्छ । एकै ठाउँमा बसेर उत्पादन पनि नगर्ने देखियो । ठाउँ पटक-पटक सरिरहेको पायौँ ।’

प्रहरीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खाली बोतल, राजस्व अन्तरशुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिनलगायत अन्य विभिन्न सामग्रीहरू बरामद गरेको छ । नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरेको जानकारी दिनुभयो । उहाँले डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलहरू पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

यसरी भइरहेको थियो व्यापार
अनुसन्धानमा संलग्न एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूले बोतलमा केही मात्रा सक्कली रक्सी नै हाल्थे र त्यसमा थप रसायन, रंगलगायत हालेर प्याकेजिङ गर्ने गरेको बताउँदै भन्नुभयो, ‘ठमेलका होटल, रेष्टुरेन्ट, क्लबहरूमा ठूलो मात्रामा रक्सीको व्यापार हुन्छ । त्यहाँबाट बोतलहरू उठाउने पनि छुट्टै व्यक्तिहरू छन् । ती व्यक्तिहरूसँग सम्पर्क गरी उनीहरूले बोतल ल्याएको देखिन्छ । स्टिकरहरू पनि फेरि प्रयोग गर्न मिल्ने निकाल्ने गरेको देखिन्छ ।’

नक्कली मदिरा उत्पादन गर्ने उनीहरूले बोतलको प्रयोग गर्दा अन्तशुल्कका स्टिकरहरू पनि पुरानै प्रयोग गरेको देखिएको छ । प्रहरीले यसअघि पनि नक्कली रक्सीहरू बरामद गरेको थियो । एकैचोटि धेरै खपत हुने हुँदा त्यस्ता रक्सीहरू पार्टी प्यालेसमा बेच्ने गरिन्थ्यो । तर, उनीहरूले यसपालि पसलहरूमै लगेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले यसरी मदिरा बेच्दा पसल सञ्चालकको पनि मिलेमतो हुने गरेको प्रहरी बताउँछ । बजार मूल्यभन्दा सस्तोमा बेचेर पनि ठूलो नाफा कमाउन उनीहरूले यसरी कालोबजारी गरेको एसएसपी केसीले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । उनीहरूलाई कालोबजारी ऐन अनुसारको कारबाही र भन्सार छलीको मुद्दा हालेर कारबाही गर्ने प्रहरीको तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?