स्वस्थानी र दक्षले गरेको शिवनिन्दा

Read Time = 9 mins

✍️ तोयराज नेपाल

स्वस्थानी परमेश्वरी भनेकी को हुन् भन्ने विषयमा वेद, शिवपुराण, देवीपुराण, देवीभागवत, महाभारत आदि विभिन्न ग्रन्थमा दक्षपुत्री सतीदेवी नै शिवकी प्रथम पत्नी भन्ने बताइएको छ । तर कालिकापुराण, बृहद्धर्मपुराण, स्कन्दपुराण, त्रिपुरारहस्य आदि ग्रन्थका अनुसार सृष्टिका आदिमा ज्ञानस्वरूप परमेश्वर एकमात्र हुनुहुन्थ्यो । परमेश्वरलाई क्रीडा गर्ने इच्छा जागृत भएपछि परमेश्वरकी पराशक्ति प्रकृति अलग हुनुभयो ।

परमपुरुष शिव र प्रकृतिस्वरूपिणी भगवती गौरी सर्वप्रथम स्वयं दिव्यरूपमा उत्पन्न हुनुभएको थियो । अनि गौरी नै शिवकी प्रथम शक्तिका रूपमा शिवका साथमा रही विभिन्न लीला गर्दै आउनुभएको थियो ।
सृष्टौ या सर्गरूपा जगदवनविधौ पालनी या च या च रौद्री ।
संहारे चापि यस्या जगदिदमखिलं क्रीडनं या पराख्या ।।
पश्यन्ती मध्यमाक्थो तदनुभगवती वैखरी वर्णरूपा
सास्मद्वाचं प्रसन्ना विधि-हरि- गिरिशाक्क्राधिताक्लंकरोतु ।।
जुन भगवती आदिशक्तिरूपा स्वस्थानी परमेश्वरी सृष्टिकालमा स्वयं नै सृष्टिरूप भएर विविधप्राणीका रूपमा जगत्मा प्रकट हुनुहुन्छ । सम्पूर्ण प्राणीहरूको पालकरूपमा अन्न, पान, माता पिता तथा विविध सहयोगीको रूप लिएर उहाँले नै सबैको पालन गर्नुहुन्छ, स्वनिर्मित जगतको व्यवस्थापन गर्न प्रलयकालमा विभिन्न निमित्त खडागरी जगतलाई संहार गरेर आफैंमा लीन गराउनुहुन्छ । जसरी माकुराले आफैंले जालोको सृष्टि गर्छ, त्यसै जालामा विभिन्न खेल खेल्दछ र अन्त्यमा त्यस जालोलाई आफैंले खाएर निली आफैंमा लीन गर्दछ, त्यसैगरी भगवतीले पनि खेल गर्ने आफ्नै इच्छाक्तिद्वारा जगतको सृष्टि गर्नुहुन्छ । आफूले सिर्जना गरेका जगत्मा आफू नै विविध रूप लिएर खेल खेल्नुहुन्छ र अन्त्यमा आफ्नै स्वरूप त्यस जगतलाई संहार गरी आफूभित्रै लीन गराउनुहुन्छ । संसारको सृष्टिस्थिति र पालन भन्नु नै भगवतीको क्रीडारूप वा खेलरूप मात्र हो । सारा जगतलाई जीवनदान गर्ने पराशक्ति पहिले नादस्वरूप परावाणी नामक प्राणकासाथमा षड्चक्रमध्येको आधार मूलाधार चक्रमा प्रवेश गर्नुहुन्छ । त्यसपछि नाभिस्थानको मणिपूरचक्रमा प्रवेश गरी पश्यन्ती वाणीको मनोमय सूक्ष्मरूप धारण गर्नुहुन्छ । त्यसपछि कण्ठदेशमा रहने विशुद्धि चक्रमा प्रवेश गरेर मध्यमा वाणीका रूपमा प्रकट हुनुहुन्छ ।

दक्षले शिवनिन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हाम्फाली सतीदेवीले प्राण त्याग गर्नुभयो । आफ्ना पतिको निन्दा सहन नसकी पतिप्रति अत्यन्त श्रद्धाभाव राखेर पतिका लागि सतीदेवीले प्राण त्याग गर्नुभएको हुँदा सती शब्द पतिप्रति श्रद्धा एवं भक्ति गर्ने पतिव्रता महिलामा रूढ भएर अहिलेसम्म पनि पतिव्रता नारीलाई सती भन्ने परम्परा चलेको छ ।

अन्त्यमा मुखस्थानमा आएर ह्रस्वदीर्घादि मात्रा, उदात्त अनुदात्त र स्वरित् रूपका अकारादि स्वर तथा ककारादि वर्णरूप स्थूलवाणी वैखरीरूपमा प्रकट हुनुहुन्छ । त्यस्ती ब्रहृमा, विष्णु र शिवद्वारा पनि आराधना गरिनेभएकी भगवती आदिशक्ति स्वस्थानीपरमेश्वरीले हाम्रा वाणीलाई अलंकृृत गराऊन्, पवित्र गराऊन् ।

शिव शक्तिस्वरूप लिएर क्रीडा गर्दै रहेका बेला कुनै समयमा दक्षप्रजापतिले स्वस्थानी स्वरूपिणी भगवती गौरीको तपस्या आराधना गर्न लागे । त्यसै बेला परमपुरुष शिव अन्तर्धान हुनुभयो । अनि भगवती गौरीले सबैतिर खोज्दा शिवलाई नभेटी दुःखित भएर गौरीले पनि आफ्नो स्वरूप विलुप्त गरी आकाशस्वरूपिणी हुनुभयो । भनिएको छ-
अथ गौरी महादेवं मृगयित्वा तु सर्वतः ।
वियुक्ता देवदेवेन दुःखेनात्यन्तभूयसा ।
देहं विलोपितवती गगनैकस्वरूपिणी ।
दक्षप्रजापतिर्देवीं तपसातोषयच्छिवाम् ।
तदा गौरी देहहीना गगनैकस्वरूपिणी ।
तुष्टा तं छन्दयामास वरेण वरवर्णिणनी ।
स वव्रे तनया भूत्वा गृहे मे वस शंकरी ।
समुत्पन्ना ततो गौरी सती दक्षात् प्रजापतेः ।।
दक्षप्रजापतिले भगवती गौरीको धेरै दिनसम्म ठुलो तपस्या गरे । तपस्याबाट खुशी भएकी गगनरूपा गौरीले वर मागभन्दा दक्षले हजुर मेरी छोरी भएर मेरा घरमा जन्म लिइदिनुहोस् भन्ने अनुरोध गरे । गौरीले तथास्तु भनी वरदानद दिनुभयो । त्यसपछि गौरी दक्षका घरमा सतीदेवी नामले जन्म लिएर शिवसँग विवाह गर्नुभएको हुँदा शिवकी दोस्री पत्नी भएर केही समय विहार गर्नुभयो । त्यसपछि दक्षले शिवनिन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हाम्फाली सतीदेवीले प्राण त्याग गर्नुभयो । आफ्ना पतिको निन्दा सहन नसकी पतिप्रति अत्यन्त श्रद्धाभाव राखेर पतिका लागि सतीदेवीले प्राण त्याग गर्नुभएको हुँदा सती शब्द पतिप्रति श्रद्धा एवं भक्ति गर्ने पतिव्रता महिलामा रूढ भएर अहिलेसम्म पनि पतिव्रता नारीलाई सती भन्ने परम्परा चलेको छ । सतीजानु भनेको पनि पतिको वियोग सहन नसकी प्राण त्याग गर्नु हो ।

यसरी यज्ञकुण्डमा प्राण त्याग गरेपछि हिमालयकी पुत्री पार्वती भएर जन्म लिनुभयो र शिवकी तेस्री श्रीमतीका रूपमा शिवसँग विवाह गर्नुभयो । परम पुरुष शिव र शिवकी शक्तिरूपा उनै गौरी नै विभिन्न समयमा विभिन्न रूपले जन्म लिएर कहिले मधुकैटभ विनाशकारिणी, कहिले योगमाया, कहिले महिषासुरमर्दिनी, कहिले शुम्भनिशुम्भविनाशिनी आदि विभिन्न रूप लिएर लोककल्याणका लागि विभिन्न लीलाहरू गर्नुहुन्छ । स्वस्थानीपरमेश्वरी भनेकी पनि भगवती गौरीमाताको नै यौटा स्वरूप हो । ॐ सदाशिवसहितायै श्रीस्वस्थानीपरमेश्वर्यै नमः भनी यस नाममन्त्रले जसको श्रद्धा एवं भक्तिपूर्वक पूजा गर्दा मनुष्यहरूका विभिन्न मनोकामनाहरू पूर्ण हुन्छन् । त्यसकारण हामी पनि आफ्ना शक्तिअनुसार स्वस्थानीको व्रत गरी पूजाआराधना गरियौं भने हामी सबैको कल्याण हुन्छ ।
ॐ श्रीस्वस्थानीपरमेश्वर्यैनमः। श्रीकृष्णार्पणमस्तु ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?