आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आज माघ १६ गते । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ। प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भएको जनाइएको छ।

वन तथा वातावरण मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागिएको छ ।

प्रधानमन्त्री प्रचण्डले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो। त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ। शहीदगेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?