शहीदको सम्मानका लागि देश विकासको संकल्प गरौँः प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको छ ।

सोमवार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताउनु भयो । उहाँले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताउनु भयो ।

उहाँले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको श्रोत भएको बताउनु भयो । उहाँले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सिमित नभइ शहीदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताउनु भयो । आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छाैँ । यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ । देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर हुन्, अजर हुन्छन् । उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन् । अघि बढ्न, प्रगतिको लागि, राष्ट्र र जनताको सेवामा समर्पित हुनको लागि एउटा प्रेरणाको श्रोतको रुपमा भुमिका खेलिरहेका हुन्छौँ । माघ १६ लाई हामीले त्यसै रुपमा स्मरण गर्ने गर्र्छौं । स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान शहीदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन पनि हो । म यही संकल्पको निम्ति सबैसँग अपिल गर्दछु ।’

प्रधानमन्त्री दाहालले आज माघ १६ गते शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?