कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध हुन्छः वरिष्ठ नेता पौडेल

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 3 mins

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आज आयोजित ‘अल्ट्रा म्याराथन’को शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । “ राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो की भन्ने लागेको छ तर त्यस्तो होइन ।”

गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने जनाउँदै वरिष्ठ नेता पौडेलले पर्यटन प्रवर्द्धनबाट त्यो सम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याराथनले दुई ऐतिहासिक गाउँ जोड्ने प्रयास गरेको बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य राखिएको बताउनुभयो । व्यास नगरपालिका-५ मानुङदेखि व्यास नगरपालिका-८ पुलिमराङसम्म ४४ किमि दूरीको म्याराथनमा ५७ धावकको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ६१ हजार, द्वितीय हुनेलाई रु ५१ हजार, तृतीय हुनेलाई रु ३८ हजार र सान्त्वना हुने तीन जनालाई जनही रु १२ हजार पाँच सय प्रदान गरिनेछ ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर समाप्त हुनेछ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?