भारतलाई यू-१९ विश्वकपको उपाधि

Read Time = 2 mins

लण्डन । भारतले दक्षिण अफ्रिकामा भएको यू-१९ महिला विश्वकपको उपाधि उचालेको छ । फाइनलमा इंग्ल्याण्डलाई सात विकेटले हराउँदै भारतले उपाधि उचालेको हो । जितका लागि ६९ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । भारतकी सौम्या तिवारी ३७ बलमा तीन चौकासहित सर्वाधिक २४ रनमा अविजित रहनुभयो । कप्तान शफाली बर्मा ११ बलमा एक चौका र एक छक्कासहित १५ रनमा आउट हुनुभयो ।

गोंगडी तृषा २९ बलमा तीन चौकासहित २४ रनमा आउट हुनुभयो । इंग्ल्याण्डकी हन्ना बेकेर ग्रेस स्क्रिभेन्स र एलेक्सा स्टोनहाउसले एक–एक विकेट लिनुभयो ।

त्यसअघि सेनवेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड १७.१ ओभरमा ६८ रनमा अल आउट भयो । इंग्ल्याण्डकी रियाना म्याकडोनाल्ड गेले २४ बलमा तीन चौकासहित सर्वाधिक १९ रन बनाउनुभयो । नियाम हल्याण्ड १०, एलेक्सा स्टोनहाउस र सोफिया स्मालेले ११-११ रन बनाउनुभयो ।

भारतकी तितास साधुले चार ओभरमा ६ रन खर्चेर दुई विकेट लिनुभयो । अर्चना देवीले ३ ओभरमा १७ रन खर्चेर दुई विकेट लिनुभयो । पाश्रवी चोपडाले चार ओभरमा १३ रन खर्चेर २ विकेट लिनुभयो । महिला यू-१९ विश्वकपमा कुल १६ टोलीको सहभागिता थियो ।

भारतले सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । इंग्ल्याण्डले अष्ट्रेलियालाई सेमिफाइनलमा तीन रनले हराएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?