स्टार्टअप नीति छिट्टै ल्याउने मन्त्रीको आश्वासन

Read Time = 7 mins

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्टार्टअप नीति अन्तिम चरणमा पुगेको जानकारी गराउँदै छिट्टै पारित हुने बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भण्डारीले महासंघतर्फबाट राखिएका सुुझाव आफूले अघि बढाउने र महासंघसँग नियमित संवाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनुुभएको छ ।

उहाँले बन्द, हड्ताल तथा लोडसेडिङका कारण उत्पादन बन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने, बजेटको मध्यावधि समीक्षामार्पmत् सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गरिने, व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहकार्य गर्ने विश्वाससमेत दिलाएको महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नयाँदिल्लीमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआइआई सह–आयोजक रहने कार्यक्रम रहेकाले मन्त्रालयतर्फबाट आवश्यक समन्वय गरिदिन आग्रहसमेत गरेको छ । भारतले गहुँ आयात रोक्दा नेपाली मैदा मिल समस्यामा परेको भन्दै समस्या समाधानका लागि यथाशीघ्र पहल गर्न पनि महासघले ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीले गहुुँबारेमा भारतसँग छलफल भइसकेको र तत्काल आयात खुल्ने दाबी गर्नुभएको छ ।

त्यस्तै, महासंघले नेपालबाट भारत निर्यात गर्दा जारी हुने उत्पत्ति प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले सहयोग गर्न, मन्त्रालयसँगको साझेदारीअनुसार सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्न महासंघसँग सहकार्य गर्ने उल्लेख भएकाले जतिसक्दो छिटो कार्यान्वयनमा लैजान, साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेको जानकारी गराउँदै सरकारसँगको सहकार्यका लागि आग्रह गरेको छ । त्यसैगरी महासंघका अध्यक्ष गोल्छाले अस्थिर ब्याजदरका कारण विशेषगरी साना व्यवसायी अत्यन्त प्रताडित हुनुुपरेको, इन्धनको मूल्य समायोजन हुन नसक्दा लागत बढ्न गई मुद्रास्फीतिमा समेत चाप परेको, उद्योगहरूमा अघोषित लोडसेडिङका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारो समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिनुुभयो । कोरोना महामारीपछि लगानी हुन नसकेका कारण आगामी केही वर्ष अर्थतन्त्रमा समस्या कायम रहने पनि उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले महासंघतर्फबाट राखिएका सुुझाव आफूले अघि बढाउने र नियमित संवाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनुुभएको छ ।

त्यस्तै, राष्ट्रिय आर्थिक रूपान्तरण नेट २०३० कार्यान्वयनबारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्य, महासंघले तयार पारेको स्टार्टअप नीतिका सम्बन्धमा अन्तिम छलफल गरी पारित गर्न पनि महासंघले आग्रह गरेको छ ।

बैंकहरूविरुद्ध व्यवसायीहरू सडकमा
नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र मानसिक आतंकविरुद्ध सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सो अवसरमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघलगायतले माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा वित्तीय संस्थाले आतंक फैलाउँदा व्यवसायी पीडित भएकाले आन्दोलनमा उत्रिनुपरेको महासंघका अध्यक्ष कुमार कार्कीले बताउनुभएको छ ।

बैंकहरूले व्यवसायीलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको उहाँले बताउनुभयो । दुई वर्षअघि आठ प्रतिशत रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पुर्‍याएको, अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेका बेला बैंकहरूले उद्योगी व्यवसायीलाई अपमान गरेको, मुलुकको अर्थतन्त्रको मेरुदण्ड उद्योगी व्यवसायीमाथि राज्य र बैंकले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको कार्कीको भनाइ छ ।

महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई विगत लामो समयदेखि माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदासमेत माग सम्बोधन नगरेका कारण बाध्य भएर सडकमा आएको बताउनुभयो । सरकारले तत्काल माग सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीले उद्योग व्यवसायीको चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने चेतावनीसमेत उहाँले दिनुभयो । महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीबीच साथीको सम्बन्ध हुनुपर्नेमा गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाउनुभयो । बैंकहरूले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृत्ति लिएको उहाँको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?