कालीकोट । महाबुधाम कालीकोटको मुख्य पर्यटकीय स्थल हो । महावै गाउँपालिकामा पर्ने उक्त पर्यटकीय गन्तव्यसम्म पुग्न निकै असहज छ । भरपर्दो सडक सञ्जाल र खान बस्नका लागि होटलहरू छैनन् । धामसम्म पुग्नलाई पर्यटकले निकै सास्ती खेप्नुपर्छ । थुप्रै अप्ठ्यारा झेलेर भए पनि आस्थाको केन्द्र र मनमोहक दृश्यको अवलोकन गर्न त्यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक गइरहेका छन् । कालीकोट र दैलेखको सिमानामा रहेको धाममा आवागमनमा निकै सास्ती हुने गरेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै पर्यटकको सहजताका लागि महावै गाउँपालिकाले गत वर्षदेखि धामसम्म पुग्न मोटर बाटो निर्माणको काम थालेको छ । पर्यटकलाई आवागमन र आवासका लागि संरचना निर्माणको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । सडक विस्तार र होटलहरू सञ्चालनका काम थालिए पनि पालिकाको बजेटले मात्रै पूर्वाधार निर्माण भने सम्भव नहुने उहाँले जानकारी दिनुभयो ।
पालिकामा थुप्रै ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थलहरू रहे पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको उहाँको भनाइ छ । महावै गाउँपालिकासँग पर्यटकीय स्थलको विकास र प्रवद्र्धनका योजना भए पनि स्रोत-साधन सीमित हुँदा आवश्यक लगानी हुन सकेको छैन । महावुधामका लागि पूर्वाधार निर्माण गर्न अहिले तीन तहकै सरकारले पहल थालेका छन् । पालिकाले गत वर्ष महावुधामसहित गाउँपालिकाभित्रका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
बजेट थोरै हुँदा अपेक्षित काम गर्न नसकिरहेको अध्यक्ष सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले चालू आर्थिक वर्षमा पनि पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा विकास शीर्षकमा १० लाख रुपैयाँ छुट्याएको छ । गत वर्ष पालिकाको बजेटबाट शौचालय र पर्यटकका लागि टेन्ट निर्माण गरिएको थियो । अहिले तीनवटै तहका सरकारको संयुक्त लगानीमा पाँचवटा आवास निर्माणको काम अघि बढाइएको छ ।
महावु सीमा विवाद, धामको विकासमा दुवै पालिकाको करोडौँ खर्च
कालीकोट र दैलेखको सिमानामा पर्ने महावु धाम दुई जिल्लाको विवादमा परेको छ । विकासका नाममा जिल्ला विकास समितिदेखि अहिलेसम्म करोडौँ खर्च भए पनि अहिलेसम्म सीमा विवादमै अल्झिएको छ । दैलेखको महावु गाउँपालिकाले आफ्नो भनेर दाबी गरेको छ भने, यता कालीकोटको महावै गाउँपालिकाले आफ्नो भूमिमा पर्ने दाबी गर्दै आइरहेको छ । सबैभन्दा ठूलो शिवलिंग रहेको महावु धाम पश्चिम नेपालकै ठूलो धामका रूपमा मानिँदै आइरहेको छ ।
समुद्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा दैलेख जिल्लाको महावु र कालीकोट जिल्लाको महावै गाउँपालिकाको सिमानामा पर्ने यो सुन्दर महावु धाममा बर्र्सेनि १५ हजारभन्दा बढीको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने गरेका छन् । महावुकै नामबाट यी दुई स्थानीय तहको नाम महावु र महावै रहन गएको हो । आ-आफ्नो भूमिमा रहेको दाबी गर्दै आएका महावै र महावु गाउँपालिकाले नापी नक्सासहितको प्रमाणित अझै गर्न सकिरहेका छैनन् ।
के छ यसको महत्व ?
जब वर्षायाम सुरु हुन्छ, तब बेला–बेलामा पर्ने सिमसिम पानीसँगै अग्ला र अँध्यारा लेकहरू पनि विस्तारै रंग फेर्दछन् । वर्षामा पाटनको भित्री गोलार्धमा रहेको तालमा पनि पानी टमक्क भरिन्छ । हरिया मैदानमाथि फूलेका रंगिबिरंगी फूलहरू सिरसिर हावासँगै लहराइरहेका हुन्छन् त अर्कातिर पाटन वरिपरि चराचुरुंगीको चिरबिर आवाज गुन्जिरहन्छ । घाम लाग्दा बिहानीको पारिलो घाममा रंगहरू बदल्दै आफ्नो महिमा झल्काउँछ, महावु धाम । यति मनमोहक महावु धामले जो कोहीलाई पनि मोहित तुल्याउँछ ।
त्यसैले त बेला-बेलामा रंग फेर्ने भएकाले नै धेरै पर्यटकलाई आकर्षित गरिरहेको महावुधाम धार्मिक पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ । सुन्दर पाटनको बीचमा विशाल ढुंगा र त्यसमाथि शिवलिंगको मूर्ति छ । यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ । दैलेख र कालीकोटका साथै देशका विभिन्न भागबाट यहाँ आउने धार्मिक पर्यटक यस महावु धामको प्राकृतिक सौन्दर्यमा रमाउँदछन् ।
महावु धामलाई पछिल्लो समय कर्णाली प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा लिइएको छ । महावुबाट कर्णाली मात्र नभई प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका डाँडाकाँडाहरू र बाँके, बर्दिया तथा कैलालीका समथल भूमिहरूको सजिलै अवलोकन गर्न सकिन्छ । रातिको समयमा भारतको नयाँ दिल्ली, लखनउ र उत्तरतर्फ मुगुल हिमाल लगायतका ठाउँ देख्न सकिन्छ । हिउँदमा बेला-बेलामा पर्ने सेताम्य हिउँले ढाकिदिँदा महावु धाममा बेग्लै आनन्दको अनुभूति गर्न सकिन्छ । विभिन्न जिल्लादेखि महावु पाटनमा भैँसी, भेडाबाख्रा चराउन आउने गोठलाहरूले पहिले बनाएका स-साना गोठहरू पनि यहाँ छन् ।
महावुधामको धार्मिक महत्व र मुख्य समस्या
महावुधाम यहाँको धार्मिक महत्व पनि छ । पाटनको बीचमा रहेको ढुंगामाथि रहेको देवतालाई महावु जगन्नाथ भन्ने गरिन्छ । महावु जगन्नाथलाई महादेवको प्रतीकको रूपमा लिइन्छ । जगन्नाथलाई प्राथना गरे आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ । धाममा हरेक वर्ष जनैपूर्णिमा मेलाका अवसरमा धेरै भक्तजनहरूको भिड लाग्ने गर्दछ । यहाँको मुख्य चुनौती भनेको सडक तथा भक्तजनको लागि आवश्यक धर्मशालाहरूको अभाव नै हो । जसले गर्दा यहाँ आउने पर्यटक एवम् भक्तजनहरूले सास्ती भोग्नु परिरहेको छ । सबै भौतिक पूर्वाधारको जोहो गर्न सके यहाँ अत्यधिक संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउन सकिन्छ ।
देशका १०० महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महावु धाम पनि समेटिएको छ । अहिले महाबु गाउँपालिकाले यहाँका भौतिक पूर्वाधार लगायतको विकासमा पहल थालेको छ ।
धामको विकासमा करोडौँ रकम खर्च
महावुलाई पूर्णरूपमा विकसित र महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन करिब चार अर्ब रुपैयाँ बराबरको रकम आवश्यक पर्ने महावु गाउँपालिकाको अनुमान छ । आउँदो वर्ष धाममा धर्मशाला निर्माण थाल्ने तयारी गरिएको महाबु गाउँपालिका दैलेखका अध्यक्ष लछुमन गुरुङले बताउनुभयो । उता, कालीकोटको महाबै गाउँपालिकाले आफ्नो भूमिमा पर्ने दाबी गरेको छ यता हाम्रो भूमिमा पर्ने दोहोरो दावी छ । यसको लागि हामी दुवै जिल्लाबाट नापीको टिमलगायत प्रमुखहरूको सयुंक्त अनुगमनसहित सीमा विवाद सुल्झाउने सल्लाह भएको अध्यक्ष गुरुङको भनाइ छ । ‘हाल संघीय सरकारको त्रिदेशीय सडक निर्माणको कार्य अघि बढेको छ, जस्ले केही सहयोग हुने अपेक्षा छ,’ गुरुङले भन्नुभयो ।
यस्तै, यसभन्दा अगाडीको स्थानीय सरकारले यसको विकासको लागि लाखौँ रकम खर्च गरिसकेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभएको छ । आफ्नै भूमिभित्र रहेको मुख्य धामको विकासका लागि महावैले सडकदेखि मन्दिर निर्माणसम्म एक करोड बढी खर्च गरिहसेको छ । अझै हामीले संघीय सरकार र स्थानीय सरकारले सडकको स्तोरोन्तीका लागि बजेट विनियोजन गरेका छौँ,’ सिंहले भन्नुभयो । यस विषयमा नेपाल पत्रकार महासंघ कालीकोटले चासो देखाएको छ । वर्षौंदेखि सीमा विवादबारे दुवै जिल्लाका स्थानीय सरकार नापीको टोली लिएर छलफल र सहजीकरण गरी सीमा विवाद सुल्झाउने महासंघका अध्यक्ष भरतराज विष्टले बताउनुभयो । यसमा हामी सहजीकरण गर्छौं । विकासका लागि कलम पनि चलाएका छौँ । उहाँले भन्नुभयो, केही महिनाअघि मात्र महासंघको चौथो बैठक पनि महावैको औला टाकुरामा सम्पन्न भएको छ । हामीले केही निर्णय पनि गरेका छौँ उहाँले भन्नुभयो ।
हट्यो अनिष्ट हुन्छ भन्ने मान्यता
पहिले–पहिले महाबुधाममा महिला गए ‘अनिष्ट हुन्छ’ भन्ने मान्यता थियो । महिलालाई तल्लो पाटनबाट शिवलिंग भएको स्थानमा जान बर्जित थियो । अहिले भने महिलालाई महाबुधामको दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । सशस्त्र द्वन्द्वकालदेखि महिलाहरू पनि धाममै पुग्न थालेका छन् । विशेष गरी सन्तान प्राप्ति नभएका महिला तथा पुरुषहरू धाममा पूजा गरी अनुष्ठानको तिलक ल्याएर फर्किएका श्रद्धालुहरूबाट आशिस थाप्ने गर्छन् ।
श्रद्धालुहरूलाई आफूले प्रसादस्वरूप ल्याएको सातु, कसार, फलफूल दिने गर्छन् । कतिपय आशिष थाप्न बसेका भेटिन्छन् त कतिपय महिलाहरू मागेको फल प्राप्त भएकाले धन्यवाद दिन बाटोमा लाम लागेर बस्ने गर्छन् । तल्लो पाटनबाट भिरको बाटो र जोखिमपूर्ण हुने भएकाले अहिले जाने र फर्कने बाटो छुट्टाछुट्टै बनाइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका