मन्त्रिपरिषद् बैठक : योजना आयोगमा तीनजना सदस्य नियुक्त

परराष्ट्रमन्त्री पौड्यालको श्रीलंका भ्रमण स्वीकृत

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीनजनालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई आयोगको सदस्य नियुक्त गरेको सरकारकी प्रवक्तासमेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । नियुक्त हुनेमा ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्व-सिइओ हुनुहुन्छ भने शाक्य पूर्व-राजदूत हुनुहुन्छ । महत यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य हुनुहुन्थ्यो । योजना आयोगको उपाध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो ।

प्रवक्ता शर्माका अनुसार बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका दुई पक्षीय संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ । यसैगरी ऊर्जा मन्त्रालयअन्तर्गत अमरपुर-ढुंगेसाघु १३२ केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र अधिकारी तोक्ने निर्णय भएको छ । अधिकारीमा आयोजनाका इञ्जिनियर नितेश यादवलाई तोकिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले नेपाल र युरोपियन युनियनबीचको संयुक्त उपआयोगको फेब्रुअरी २ मा बस्ने बैठकमा परराष्ट्र सचिवलाई नेतृत्व गर्ने जिम्मा दिएको छ । यस्तै, बैठकले श्रीलंका स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा जानका लागि परराष्ट्रमन्त्रीलाई सहमति दिएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण स्वीकृत गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?