अमेरिक उपविदेशमन्त्री नुल्याण्डद्वारा उच्चस्तरीय भेटवार्ता

बहुपक्षीय सहयोग निरन्तरता दिने प्रतिबद्धता

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । नेपालको दुईदिने भ्रमणका क्रममा आइतबार साँझ नेपाल आउनुभएकी नुल्याण्डले सोमबार उच्चस्तरीय भेटवार्ता गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीदेखि नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्षसँग भेटवार्ता गर्नुभयो । न्युल्याण्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभयो । त्यसलगत्तै उहाँले धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्नुभयो । देउवालाई भेटपछि न्युल्याण्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नयाँ सरकार बनेपछि विदेशबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसँग ‘द्विपक्षीय सहयोग र आपसी हितका विविध विषयमा छलफल भएको’ प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा अमेरिकाले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हँुदै जाने अपेक्षा गर्नुभएको थियो । भेटमा उपविदेशमन्त्री नुल्याण्डले प्रधानमन्त्री प्रचण्डलाई नयाँ कार्यकालका लागि बधाई तथा शुभकामना दिनुभएको थियो । प्रधानमन्त्रीसितको भेटवार्ताका क्रममा उपविदेशमन्त्री नुल्याण्डले अमेरिकालाई नेपालले प्राथमिकता दिनुपर्ने, कतिपय विश्वराजनीतिक विषयमा साथ दिनुपर्ने र नेपालको शान्ति प्रक्रियाप्रति चासो राख्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभयो । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको पूर्व–प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भेटमा देउवाले नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्नुभएको थियो ।

उपविदेशमन्त्री नुल्याण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभयो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको हितका र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । उच्चस्तरीय भेटघाटको अन्यमा उहाँले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेटवार्ता गर्नुभयो । मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, द्विपक्षीय सहयोग र आपसी हितका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

भेटवार्तापछि उहाँले पाटन दरबार स्क्वायर अवलोकसमेत गर्नुभएको थियो । उप विदेशमन्त्री नुल्याण्डसहित अमेरिकी राजदूत र अन्य अधिकारीहरूले सोमबार दिउँसो प्राचीन सहर पाटन पुगेर मल्लकालीन कला संस्कृतिको अवलोकन गरेका हुन् । सम्पदा अवलोकन गर्न उपमन्त्री नुल्याण्डसँगै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन पनि पुग्नुभएको थियो ।

अमेरिकी उपविदेश मन्त्री नुल्याण्डले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिनुभएको थियो । त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज गु्रपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो । नुल्याण्ड आफ्नो भ्रमण सकेर सोमबार नै फिर्ता हुनभएको छ । नेपालपछि उहाँले भारत र श्रीलंकाको भ्रमण गर्ने कार्यतालिका छ ।

बहुपक्षीय सहयोग निरन्तरता दिने प्रतिबद्धता
अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ । दुईदिने नेपाल भ्रमणका क्रममा सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उपविदेशमन्त्री नुल्याण्डले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताउनुभयो । अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने उहाँको प्रतिबद्धता छ । उहाँले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पु¥याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने उहाँको प्रतिबद्धता छ ।

छिमेकीहरूसँग आर्थिक सहकार्य गर्दा सार्वभौमसत्ता रक्षामा ध्यान दिनुहोस् : नुल्याण्ड
उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाललाई सबै छिमेकीहरूसँग आर्थिक सहकार्य गर्न सुझाव दिनुभयो । नेपालले छिमेकी मुलुकहरूसँग आर्थिक सहकार्य गर्दा महत्वपूर्ण पक्षको रूपमा आफ्नो सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्दा त्यसमा कुनै पनि भ्रष्टाचार नहोस् । सबै कुराहरू पारदर्शी होऊन्,’ उहाँले भन्नुभयो, ‘नेपालले सबै आफ्ना छिमेकीहरूसँग बनाएको सुमधुर सम्बन्धलाई हामी स्वागत गर्दछौँ ।’ अमेरिकाको भारतसँग बलियो सम्बन्ध रहेको बताउँदै चीनसँग पनि सम्बन्ध सुमधुर रूपमा अघि बढिरहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?