सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले सार्वजनिकस्थलमा फ्री वाइफाई सेवा दिएको छ । सिन्धुली अस्पताल र सिन्धुली बसपार्कमा निःशुल्क इन्टरनेटको सुविधा दिएको हो । इन्टरनेट प्रयोगकर्ताले सदरमुकामका यी दुई स्थानबाट २४औँ घण्टा फ्री वाइफाईको सुविधा लिन सक्ने नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । यात्रु र अस्पतालका सेवाग्राहीलाई लक्षित गरेर उक्त सेवा प्रवाह गरिएको उहाँको भनाइ छ । सूचना र सञ्चारको पहुँच बढाउन नगरभित्रका सार्वजनिकस्थलमा यसको विस्तार गर्दै जाने उहाँले सुनाउनुभयो ।
‘उपचार लिन आउने बिरामी, बिरामीका कुरुवा र बसपार्कमा बसको प्रतीक्षामा बस्ने यात्रुहरूका लागि आइतबारबाट फ्री वाइफाईको सेवा शुभारम्भ गर्यौँ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा व्यस्त चोक र अन्य आवश्यकता पर्ने सार्वजनिक स्थानमा यसको सेवा विस्तार गर्दै जानेछौँ ।’
मोबाइलमा ब्यालेन्स सकिएर पट्यारलाग्दो अवस्थामा बिरामीलाई कुर्नुपर्दा समय कटाउन नगरले दिएको यस सेवाले सहयोग गर्ने उहाँको तर्क छ । त्यस्तै, बस कुर्ने वा बस हिँड्ने समयको प्रतीक्षा गरेर बसपार्कमा बसिरहेका यात्रुलाई पनि फाइदा हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार सदरमुकाममा रहेको बसपार्क र सिन्धुली अस्पतालमा फ्री वाइफाई जडान गर्दा ४९ हजार ५९० रुपैयाँ खर्च भएको छ । नगरले निःशुल्क उपलब्ध गराएको फ्री वाइफाई सेवाको सदुपयोग गर्न सेवाग्राहीलाई उहाँको आग्रह छ ।
कमलामाई नगरपालिका र नगर क्षेत्रका प्रमुख सार्वजनिक क्षेत्रलाई प्रविधिमैत्री बनाउने नगरको योजना छ । नगरका हरेक गतिविधिहरू कार्यालयबाहिरबाटै सहज जानकारी लिन सक्ने गरी यस्ता प्रविधि नगरका गाउँबस्ती पु¥याउने योजना नगरले अघि सारेको नगरप्रमुख पोखरेलले बताउनुभयो । नगरले अस्पतालमा फ्री वाइफाई जडान गरिदिएर अस्पतालको सेवा प्रवाह र सेवाग्राहीमा थप सहजता थपिदिएकोमा अस्पताल विकास समितिका अध्यक्ष सतिसचन्द्र ढकालले खुसी व्यक्त गर्नुभयो । फ्री वाइफाई सेवा निवर्तमान नगरप्रमुख खड्गबहादुर खत्रीले सुरुवात गर्नुभए तापनि यसले निरन्तरता पाउन सकेको थिएन । नगरप्रमुख पोखरेलले यसको प्रभावकारिताका आधारमा दिगोपना दिइने बताउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका