माओवादीकाे पदाधिकारी बैठक जारी : गठबन्धन, गृह मन्त्रालय लगायतका विषयमा छलफल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा मंगलबार पनि प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका पदाधिकारीहरु सहभागी हुनुहुन्छ ।

बैठकमा गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ भने सरकार सञ्चालन र गठबन्धनको भविष्यबारे समेत छलफल चलिरहेको बुझिएको छ ।

सत्ता गठबन्धनमा गृहमन्त्रालय र राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर मतभेद देखिएको छ । रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिनु भएको थियो । त्यसयता गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैँले सम्हाल्नुभएको छ । तर नागरिकता पुनर्प्राप्ति गरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका लामिछानेले पार्टीबाट समेत निर्णय गराएर पुनस् आफैँले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहनु भएको छ ।

उहाँले आजै मात्र पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको थियो । रास्वपा स्रोतका अनुसार सभापति लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने चेतावनी समेत दिनु भएको छ ।

उता प्रधानमन्त्रीले भने कानुनी जटिलताका विषय र गठबन्धनका अन्य दलसँग सल्लाह गरेर निर्णयमा पुग्ने बताउनु भएको छ । साथै उहाँले नागरिकता पुनः लिए पनि पुरानै नागरिकताका आधारमा राहदानी लिएको विषयमा अझै विवाद रहेको भन्दै रविलाई अहिले हतार नगर्न आग्रह समेत गर्नुभएको बालुवाटार स्रोतले बतायो ।

यस्तै, राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ । उसले कांग्रेससहितको राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएको छ ।

बैठकमा राष्ट्रपति र गृहमन्त्रीका साथै भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे पनि छलफल हुने जनाइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?