सुन्दर बजार कपको उपाधि गन्नी एफसीलाई

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । गन्नी एफसी पोखराले चौथो सुन्दर बजार कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । साबिक विजेता नाइन स्टार क्लब सुन्दर बजारलाई ३-१ ले पराजित गर्दै गन्नी उपाधि जित्न सफल भएको हो । लमजुङको सुन्दर बजार नगरपालिकास्थित कृषि क्याम्पस ग्राउण्डमा भएको फाइनल खेलमा गन्नीलाई उपाधि जिताउन सञ्जीव रानाले दुई तथा युनिक तामाङले एक गोल गर्नुभयो । नाइन स्टारका सन्तोष गुरुङको गोल सान्त्वना बन्यो ।

सन्तोष गुरुङको गोलबाट नाइट स्टारले अग्रता लिएको थियो । युनिक तामाङले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि सञ्जीव रानाले दुई गोल गर्दै गन्नीको जित पक्का गर्नुभयो । उपाधिसँगै गन्नीले दुई लाख रुपैयाँसँगै शिल्ड प्राप्त गरेको छ । उपविजेता बनेको नाइन स्टारले एक लाख रुपैयाँ हात पारेको छ । उत्कृष्ट टोली बन्दै सिन्दुरे एफसीले १० हजार रुपैयाँ प्राप्त गरेको क्लबका सदस्य सुजन राना मगरले जानकारी दिनुभयो ।

गन्नी एफसीका युनिक तामाङ सर्वाेत्कृष्ट खेलाडी तथा नाइन स्टारका इन्द्र दुरा सर्वाधिक गोलकर्ता हुनुभयो । उहाँहरूले समान पाँच हजार रुपैयाँ हात पार्नुभयो । विजयी टोली तथा खेलाडीलाई सुन्दर बजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला र क्लबका पदाधिकारीलगायतले पुरस्कृत गर्नुभयो ।

शहीद दिवसका अवसरमा सुन्दर बजार युवा क्लबले आयोजना गरेको सेभेन ‘ए’ साइड खुला फुटबल प्रतियोगिता माघ १० गतेबाट सुरु भएको थियो । नकआउटका आधारमा भएको प्रतियोगितामा विभिन्न २४ टोलीको सहभागिता रहेको थियो । पहिलो संस्करणमा सिदार्थ युवा क्लब खहरे सुन्दर बजार, दोस्रोमा आदर्श युवा क्लब बेंशीशहर र तेस्रोमा नाइन स्टारले उपाधि जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?