काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनमा शहादत हुनुभएका दिवानसिंह राईका विषयमा कृति प्रकाशित भएको छ । चर्चित लेखक, पत्रकार तथा लोकतान्त्रिक आन्दोलनका अनवरत योद्धा रेवतीरमण सुवेदीले लेख्नुभएको सो कृतिलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कार्यवाहक कुलपति संस्कृतिविद् डा.जगमान गुरुङले लोकार्पित गर्नुभएको थियो ।
कृति लोकार्पण गर्दै डा.गुरुङले दिवानसिंह राई जस्ता अनेक इतिहास पुरुषहरूले गरेको योगदानको परिणाम नै नेपालमा अनेक परिवर्तनहरू भए पनि उचित र लक्षित प्रतिफल आमनागरिकले नपाएकोमा चिन्ता प्रकट गर्नुभएको थियो । लेखक सुवेदी सबैभन्दा सानो उमेरमा निर्दलीय पञ्चायतविरोधी सशस्त्र आन्दोलनमा बम बोकेर आउँदा पक्राउपरी लामो समय जेलसमेत पर्नुभएको थियो ।
सुवेदीले यसअघि निष्ठका सगरमाथा गणेशमान सिंह, रामलाल श्रेष्ठ, शहीद क्या.यज्ञबहादुर थापा र शक्रराज शर्मा विषयक कृतिहरू लेखिसक्नु भएको छ । सुवेदीले केही निश्चित विचारहरूका कारण दिवानसिंह राईका विषयमा लेख्न आफू उत्प्रेरित भएको जानकारी दिनुभएको थियो ।
२३२ पृष्ठको शहीद दिवानसिंह राई नामक कृतिलाई शहीद दिवानसिंह राई स्मृति पुस्तकालयले प्रकाशित गरेको हो भने यसको वितरक ज्ञानज्योति बुक्स् पब्लिकेशन प्रा.लि. बागबजार रहेको छ । कृति चार अध्यायमा विभक्त छ ।
लोकार्पण कार्यक्रममा पुस्तकको समीक्षा गर्दै हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले कृति नेपालको लोकतान्त्रिक आन्दोलन, त्यस आन्दोलनमा शहीद राईको योगदान र अन्तिममा आफ्नो विचार र त्यसमाथि लेखकीय विचार र भाष्य रहेको बताउँदै लेखक सुवेदीले प्रस्तुत गर्नुभएका कतिपय स्वविचार, सन्दर्भ, भाष्यमा आफू र सिंगो लोकतान्त्रिक आन्दोलन सहमत हुननसक्ने विचार प्रकट गर्नुभएको थियो ।
उहाँले लोकतान्त्रिक आन्दोलन, त्यसमा उल्लेखित सूचना अभिलेख र शहीद दिवानजीको योगदानको पक्ष भने लेखक सुवेदीले राम्ररी प्रस्तुत गर्नुभएकोमा कृति महत्वपूर्ण हुने विचार प्रकट गर्नुभएको थियो । पुस्तकालयका अध्यक्ष, नेपाली कांग्रेसबाट विगतमा राष्ट्रपतिको उम्मेदवार, पूर्वसांसद लक्ष्मी राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा युवा विद्वान शंकर तिवारी, इतिहासविद् डा.गोविन्दमानसिंह कार्की, नेपाली कांग्रेस नेतृ कमला राई, शिखा बुक्सका निर्देशक पुष्पराज पौडेल र साहित्यकार सुमन वर्षाले समेत कृतिबारे आफ्ना विचार प्रकट गर्नुभएको थियो ।
दिवानसिंह राई भोजपुरको छिनामखु गाउँको राजनीतिक र स्थानीय हिसाबले समृद्ध परिवारमा विसं १९८१ मा जन्मनुभएको थियो । उहाँको पिताजी ध्यानबहादुर राई नेपालको लोकतान्त्रिक आन्दोलनमा सुरुका दिनमा निकै सक्रिय रहे पनि ०१७ पछि भने निर्दलीय पञ्चायत प्रवेश गर्नुभएको थियो । तर, युवावय बेलयती सेनामा काम गर्नुभएर दोस्रो विश्व युद्धमा सहभागी दिवानजीको अध्ययन र बुझाइले आफूलाई लोकतनत्रप्रति समर्पित गरायो । ००८ सालदेखि दिवानजी निरन्तर लोकतान्त्रिक आन्दोलनमा लाग्नुभयो, ०१४ को भद्रअवज्ञा आन्दोलनमा सहभागी हुनुभयो, ०१५ मा कांग्रेसबाट सांसद हुँदै बीपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा गृहराज्यमन्त्री हुनुभयो, ०१७ पुस १ पछि निरन्तर आठ वर्ष बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनहरूसँगै सुन्दरीजल जेलमा बस्नुभयो । उहाँलाई अनेकप्रकारले निर्दलवादीहरूले फकाउने प्रयास गरे पन उनीहरू असफल भए ।
जेलमुक्तिपछि उहाँ शिक्षा र सामाजिक अभियानसँगै राजनीतिक आन्दोलनमा सक्रिय हुनुभयो । राई साहित्यकार समेत हुनुहुन्थ्यो । उहाँका निर्दोष हत्या र रिकुटे जस्ता कृति प्रकाशित छन् । अन्ततः २०२९ भदौ २ गते कुमकुम झोडामा षड्यन्त्रमूलक ढंगले उहाँको हत्या गरियो । नेपालको लोकतान्त्रिक आन्दोलनक्रममा योगेन्द्रमान शेरचन, सरोजप्रसाद कोइराला र दिवान सिंह राईको हत्याले एउटा पुस्ता नै रिक्त भएको विश्लेषण हुने गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच