भारतीय गोलभेँडाले किसान मारमा

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । गोलभेँडाको भाउ निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेँडा ओइरिएपछि यहाँका स्थानीय किसानले उत्पादन गरेको गोलभेँडाले बजार नपाएको हो । किसानले गोलभेँडा प्रतिक्रेट १५० देखि दुई सय रुपैयाँमा बिक्री गरिरहेका छन् । एक क्रेटमा २५ केजी गोलभेँडा हुन्छ । यसरी गोलभेँडा प्रतिकेजी छदेखि आठ रुपैयाँमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल रहेको किसानको गुनासो छ । ‘सुरुमा एक क्रेट गोलभेँडा एक हजार दुई सय रुपैयाँसम्ममा पनि बेच्यौँ तर अहिले आएर १५० रुपैयाँमा बेच्नुपरेको छ,’ किसान बताउँछन् ।

लालबन्दी बजारबाट तरकारी जाने मुख्य बजारमा भारतीय गोलभेँडा बिनारोकटोक भित्रिँदा यहाँका किसानलाई गोलभेँडा बेच्नै समस्या हुन थालेको हो । यसरी क्रेटको डेढ सयले गोलभेँडा बेच्दा लागत र हैरानी नउठ्ने उनीहरू बताउँछन् । काठमाडौंमा नै गोलभेँडाको भाउ नरहेको भन्दै व्यापारीले गोलभेँडामा भाउ नै नलगाउने गरेको किसानको गुनासो छ । बारीभरि पाकेर राताम्मे भएको गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्ने बाध्यतामा छन् । पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान थप मारमा परेका छन् । लालबन्दी कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका व्यापारी तोरनबहादुर मगरले भारतीय गोलभेँडा भित्रिरहेको र गोलभेँडा उत्पादन हुने मध्य सिजन भएकाले यहाँ फलेको गोलभेँडाले भाउ पाउन नसकेको बताउनुभयो ।

सर्लाहीमा उत्तरी भेगको लालबन्दी, रानीगञ्ज, पत्थरकोट, चन्द्रपुर, हिरापुर, नवलपुर, अत्रौली, सासापुरलगायत क्षेत्रमा गोलभेँडाको व्यावसायिक खेती हुने गरेको छ । लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेँडा कालीमाटीलगायत देशका प्रमुख बजारमा जाने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?