म्याग्दी । बेनीबजारलाई कालीगण्डकी नदीको कटानबाट जोगाउन थप पक्की पर्खाल निर्माण कार्य सुरु भएको छ ।
रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को कटानको उच्च जोखिम क्षेत्रमा थप पक्की आरसीसी पर्खाल निर्माण काम सुरु गरेको हो ।
म्याग्दी जेसिजको भवन देखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडीको भागसम्म कालिगण्डकी नदी किनारमा ८ मिटर अग्लो १३४ मिटर लामो काउण्टर फोर्ट प्रविधिको आरसिसि पर्खाल निर्माण गर्न जग खनिरहेको छ ।
कालीगण्डकी नदी कटानको उच्च जोखिममा रहेको कालिपुल वसपार्क र जेसिज भवन रहेको भागमा पक्की पर्खाल लगाउन गत वर्ष रुपताल संरक्षण एकीकृत विकास परियोजनाले ९ करोड ४५ लाख रुपियाँमा रौताहट–विएनबी कन्ट्रक्शन जेभीसँग ठेक्का सम्झौता गरेको परियोजनाका इन्जिनियर कृष्णबहादुर विकले जानकारी दिनुभयो ।
परियोजनाका अनुसार २२ महिना भित्र योजना सम्पन्न गर्ने गरी गत वर्ष पुसको दोस्रा हप्ता ठेक्का सम्झौता भएको थियो ।
सम्झौता अनुसार गत वर्ष कालिपुल वसपार्क स्थित कालिगण्डकी नदीले कटान गरेको क्षेत्रमा ८० मिटर पक्की पर्खाल निर्माण सम्पन्न गरिएको छ ।
चालु आर्थिक वर्षको जेठ महिना भित्र जेसिज भवन देखि उद्योग वाणिज्य संघको कार्यालय पछाडी सम्मको एकसय ३५ मिटर पक्की पर्खाल निर्माण सक्ने गरी काम थालिएको छ ।
रौताह–बिएनबी कन्ट्रक्शन जेभीको सहायक निर्माण कम्पनी माउन्ट धवलागिरि कन्ट्रक्सनका प्रतिनिधि विक्रम हमालले नदी किनारमा पक्की पर्खाल निर्माण गर्न जग खन्न थालिएको बताए । नदी किनारमा चौध मिटर फराकिलो जग ढलान गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र ८ मिटर अग्लो आरसिसी पर्खाल निर्माण गर्ने योजनामा उल्लेख छ ।
दुईवर्ष अघि कालीगण्डकीमा आएको बाढीले बेनीको संगमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो ।
वर्षातका समयमा नदी कटानबाट बजारलाई जोगाउन पक्की पर्खाल लगाउन थालिएको बेनी नगरपालिका ७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनु भयो ।
म्याग्दी खोलातर्फ मंगलाघाट देखि बेनी नगरपालिकाको कार्यालय सम्मको भागमा पक्की पर्खाल लगाउन ठेक्काको प्रक्रिया थालिएको परियोजनाले जनाएको छ । कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनीबजारलाई संरक्षण गर्न करिब ५३ करोड बराबरको लागत अनुमान गरिएको छ ।