अध्यक्षको राजीनामा माग्दै क्यान सदस्यद्वारा बैठक बहिष्कार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सातजना केन्द्रीय सदस्यले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् । पोखरामा सुरु भएको क्यानको बैठक सुरु भएकामा असन्तुष्ट पक्षले कार्यसम्पादन समितिको राजीनामा माग्दै बैठक बहिष्कार गरेको हो ।

बहिष्कार गरेका सदस्यले कार्यसम्पादन समितिको राजीनामा माग गर्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । असन्तुष्ट पक्षले पत्रकार सम्मेलन आयोजना गरी नेपाल क्रिकेट संघ र भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सबीच भएको सम्झौतापश्चात् नेपाली टी-२० लिगमा भएका विभिन्न अवाञ्छित गतिविधिबाट नेपाली क्रिकेटको बदनाम भएको दाबी गरिएको छ ।

क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले टी-२० लिगलगायतका विषयमा कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरी बोर्डलाई जानकारी नगराइएको र क्यानको बदनाम भई संघ दुर्घटनाको संघारमा पुगेकाले कार्यसम्पादन समिति र गभर्निङ सदस्य जिम्मेवार रहेकाले राजीनामा माग गरी बोर्ड बैठक बहिष्कार गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा क्यानले गम्भीर गल्ती गरेको निष्कर्ष निकाली राखेपलाई क्रिकेट संघ विघटन गर्न सिफारिस गरेको छ । क्यान निलम्बनको खतरा भइरहेको अवस्थामा क्रिकेट संघको साख र मर्यादा बचाउनका लागि सम्पूर्ण निर्णय र काम कारबाही अगाडि बढाउने कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्यले राजीनामा दिनुपर्दछ भन्ने हामीहरूको माग हो ।’

असन्तुष्ट पक्षले नेपाल क्रिकेट संघको विघटन र निलम्बनबाट जोगाउन मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा सदस्य दुर्गाराज पाठक रहनुभएको छ ।

बोर्ड बैठक बहिष्कार गर्ने केन्द्रीय सदस्यमा गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?