नेपाल प्रहरीलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरी क्लबले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा स्वर्ण जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३-० ले पराजित गर्‍यो ।

डबल्समा प्रहरीका मञ्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११-९, ११-६ र ११-९ को सोझो सेटमा पराजित गर्‍यो । सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले दिया देउलालाई सिधा सेटमा ११-४, ११-५ र ११-८ ले हराउनुभयो ।

अर्को सिंगल्समा एलिनाले रविनालाई ११-४, ३-११, ५-११, ११-४ र ११-७ ले पाखा लगाउनुभयो । ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुली पहिलो हुनुभयो । इन्दिराले फाइनलमा आफ्नै क्लबकी सम्झना पोखरेललाई ११-६, ११-५ र ११-४ को सोझो सेटमा पन्छाउनुभयो ।

लगनखेलकी हिरादेवी नकर्मी र ज्ञानभैरवकी सविता बस्नेत केसी तेस्रो हुनुभयो । सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालिको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न सात स्पर्धामा दुई सय पुरुष र ५६ महिला गरी २५६ खेलाडी सहभागी छन् । पुरुषमा भारतबाट नौ, बेलायतबाट दुई तथा फ्रान्स र पोर्चुगलबाट समान एक-एक खेलाडी सहभागी छन् । महिलामा विदेशी खेलाडी सहभागी छैनन् ।

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथिमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार नगद पुरस्कार हात पार्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?