यू-१९ टोलीको कप्तानमा गुल्सन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा तीव्र गतिका बलिङ अलराउण्डर गुल्सन झा चयन हुनुभएको छ । आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको कप्तानी उहाँले गर्नुभएको हो । क्यानको पोखरामा भएको बैठकले गुल्सनलाई कप्तान चयन गरेको हो ।

गुल्सन नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने गर्नुहुन्छ । गुल्सनले तल्लोक्रममा ब्याटिङसमेत गर्ने गर्नुहुन्छ । गुल्सनले सिनियर टोलीको अनुभवसमेत लिइसक्नुभएको छ । काठमाडौं मेयर्स कपमा उहाँले नेपाल पुलिस क्लबबाट खेल्नुभएको थियो । प्रतियोगितामा राम्रो प्रभाव पारेपछि उहाँ राष्ट्रिय टोलीमा पर्नुभएको हो ।

१६ वर्षीय गुल्सनले नेपालबाट ९ ओडिआई र एक टी-२० आई खेल खेल्नुभएको छ । उहाँले देव खनालको स्थान लिनुहुनेछ । देवले गत वर्ष नेपालको यू–१९ को कप्तानी गर्नुभएको थियो । यू-१९ विश्वकपको एसिया क्षेत्र छनोटको पहिलो खेल नेपालले फागुन १२ गते सिंगापुरसँग खेल्दैछ । दोस्रो खेल नेपालले फागुन १३ गते कुवेत र तेस्रो खेल फागुन १५ गते हङकङसँग खेल्नेछ । त्यसपछि फागुन १६ गते मलेसियासँग र फागुन १८ गते युएईसँग नेपालको खेल रहेको छ ।

नेपाल प्रतियोगिताको शीर्षस्थानमा रहन सके २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नेछ । नेपालले २०१६ पछि यू-१९ विश्वकप खेल्न सकेको छैन । टोलीको मुख्य प्रशिक्षक जगत टमाटा रहनुभएको छ । उहाँले यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ ।

नेपाली यू-१९ टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुल्सन झा, देव खनाल, सुवास भण्डारी, विशालविक्रम केसी र मिलन बोहरा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?