पाकिस्तानको मस्जिदमा भएको घातक हमलाको चीनद्वारा निन्दा

Read Time = 2 mins

एजेन्सी । पाकिस्तानको पेसेबारस्थित मस्जिदमा सोमबार भएको घातक हमलाको चीनले निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै यस घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । प्रवक्ता माओले उक्त घटनामा परी निधन भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले मृतक र घाइतेका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै चीन जुनसुकै प्रकारको आतंकवादको विरुद्धमा रहेको र आतंकवादविरुद्धको लडाइमा पाकिस्तानको पक्षमा रहेको पनि बताउनुभएको छ । सार्वजनिक गरिएको विवरणनुसार सोमबार भएको सो आक्रमणमा एक सयजनाले ज्यान गुमाएका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

डुंगा डुब्दा ५२ जना विद्यार्थीको मृत्यु
उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुंगा डुब्दा ज्यान गुमाउने विद्यार्थीको संख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् । ज्यान गुमाएका अधिकांश सातदेखि १४ वर्षका स्कुले केटाकेटी हुन् । उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए । गोताखोरले १६ जनालाई उद्धार गरेका थिए । उद्धारमा देशको जल तथा स्थलसेना परिचालन भएको थियो । हराइरहेका दुई जना विद्यार्थीको अझै खोजी भइरहेको कोहाट जिल्लाका प्रहरी अधिकृत अब्दुल रफुर बाबर कुरेसीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?