अधिक नुन सेवनले मुटुदेखि मस्तिष्कघातसम्मको खतरा

Read Time = 8 mins

काठमाडौं । खान नपाएरभन्दा पनि खान नजानेर धेरै मानिस रोगको शिकार हुने गरेका छन् भने खान नजानेकै कारण धेरैको मृत्युसमेत हुने गरेको छ । जतिसुकै स्वस्थकर र पोषणयुक्त खाना किन नहोस्, बढी खाएमा स्वास्थ्य जोखिम बढाउँछ । विभिन्न खानाका साथै बढी चिनीयुक्त खाना हानिकारक हुने बताइन्छ तर खानाका परिकारमा बढी नुन प्रयोगको असरबारे खासै चर्चा भएको पाइँदैन । बढी नुन सेवन स्वास्थ्यका लागि झनै हानिकारक रहेको विज्ञहरूले बताएका छन् ।

अन्य मुलुकको तुलनामा नेपालीहरूले नुन धेरै खाने गरेको र बढी नुनले स्वास्थ्यसम्बन्धी जोखिम पनि बढ्दै गएको चिकित्सक तथा अनुसन्धानकर्ताले बताएका छन् । उनीहरूका अनुसार नसर्ने रोगहरूमा देखिएको वृद्धि पनि नुनको अधिक प्रयोग एउटा प्रमुख कारण हुनसक्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका पछिल्ला अध्ययनले पनि नेपालीले औसतमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेभन्दा बढीमात्रामा नुन सेवन गर्ने गरेको देखाएका छन् । नेपालीले औसतमा दैनिक ९.१ ग्राम नुन खाने गरेको देखिएको छ ।

डब्लुएचओले भने दैनिक पाँच ग्रामभन्दा कम नुन खानुपर्ने सिफारिस गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार अत्यधिक नुन सेवनले गम्भीर स्वास्थ्य समस्या आउन सक्छ । नुनकै कारण नेपालमा उच्च रक्तचापको समस्या बद्दोक्रममा रहेको उहाँको भनाइ छ । त्यसैगरी बढी नुन सेवनले अन्य मुटुसम्बन्धी समस्या, हाइपरटेन्सन, हृदयाघात र मस्तिष्कघातको जोखिमसेत बढाउने उहाँ बताउनुहुन्छ । अनिन्द्रा, जोर्नी सुनिने र दुख्नेलगायतका समस्या पनि देखा पर्छन् । दीर्घकालमा थाइरोइडलगायतका समस्याले सताउन सक्छ । मिर्गौला रोगको मुख्य कारण पनि नुनको अधिक प्रयोग भएको चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार शरीरलाई सोडियम चाहिने भए पनि बढी भयो भने स्वास्थ्यमा एकदमै नराम्रो असर पर्छ । नुन बढी खाएपछि उच्च रक्तचापका साथै मिर्गौलामा पनि गम्भीर असर पर्छ ।

अधिक नुन सेवनले हाइपरटेन्सन, हृदयाघात र मस्तिष्कघात, अनिन्द्रा, जोर्नी सुनिने र दुख्ने, मिर्गौला, थाइरोइडलगायत समस्या आउन सक्ने बताइएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन जंक फुडको बढ्दो प्रयोगले खानामा प्रतिव्यक्ति दैनिक नुनको मात्रा बढाएको बताउनुहुन्छ । नेपालमा खपत भइरहेका मुख्य जंक फुडमा अधिकमात्रामा नुनको मात्रा पाइएको अध्ययनहरूले समेत देखाएका छन् । नेपालमा विशेषगरी बालबालिकाले जंक फुडको अत्यधिक प्रयोग गर्ने गरेकाले त्यसको असर दीर्घकालसम्म पर्ने पोषणविद् डा. अरुणा उप्रेतीले बताउनुभएको छ । सरकारले आयोडिनयुक्त नुनको प्रयोगलाई प्रोत्साहित गर्दै आएको छ । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले पनि आयोनुन प्रवद्र्धन गर्दै आएको छ । तथापि आयोडिनयुक्त नुन पनि बढी सेवन गर्दा स्वास्थ्यमा जोखिम बढाउने विज्ञहरू बताउँछन् ।

आयोडिन मन्थको अवसरमा बुधबार राष्ट्रिय उपभोक्ता मञ्चद्वारा काठमाडौंमा आयोजित अहिलेको नुन बजारको अवस्था र आयोडिनयुक्त नुनको उपभोग विषयक अन्तरक्रियामाका वक्ताहरूले पनि खानामा बढी नुन प्रयोगले स्वास्थ्यमा जोखिम बढाउने भन्दै नुनको सेवन घटाउनुपर्नेमा जोड दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले दैनिक एक चिया चम्चाभन्दा बढी नुन सेवन गर्न नहुने बताउनुभयो । जोशीका अनुसार नेपालमा औद्योगिक उत्पादनका लागि मात्रै नुनमा ५० पिपिएम आयोडिनको मात्रा अनिवार्य गरिएको छ । आयोडिन सजिलैसँग उडेर जाने भएकाले प्याकिङ गर्दा, ढुवानी गर्दा, स्टोर गरेर खुद्रा व्यापारीसम्म पुर्‍याउँदा ३० पिपिएम हुने र भान्सासम्म पुग्दा र पकाउँदा १५ पिपिएमसम्म पुग्ने अनुमान गरेर सरकारले मापदण्ड बनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका कार्यकारी निर्देशक कुमारराज भण्डारीले पछिल्लो समय नेपालमा आयोडिन नुनको गुणस्तर उत्कृष्ट रहेको भए पनि सरकारले पनि बजारमा नुनको गुणस्तर निगरानी गर्नुपर्ने बताउनुभयो । नेपालभर सरकारी स्वामित्वको साल्ट ट्रेडिङले मात्र आयोडिनयुक्त नुनको कारोबार गर्न पाउँछ । तर, कतिपय उद्योगी व्यापारीले नुनको अवैध कारोबार गरिरहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जनको दाबी छ । सरकारी कर्मचारीकै मिलेमतोमा दुगड ग्रुप र मिलेनिया ग्लोबल कम्पनीलगायतले भारतबाट ल्याएर अवैधरूपमा नुनको कारोबार गर्दै आएको उहाँ बताउनुहुन्छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले पनि नुनको अवैध कारोबारबारे विभागमा पनि उजुरी परेको भन्दै नुनको गुणस्तर र अवैध कारोबारबारे खाद्य विभागले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । सो अवसरमा मञ्चका महासचिव पुष्पराम पौडेल, स्वास्थ्य सेवा विभागकी जनसेवा अधिकृत कल्पना पाण्डेलगायतले पनि नुनको कारोबार र गुणस्तर नियमनमा जोड दिनुभएको थियो ।

साल्ट ट्रेडिङसँगको सहकार्यमा सरकारले आयोडिनयुक्त नुनको प्रवद्र्धन तथा आयोडिनको कमीबाट हुने समस्याबारे जनचेतना जगाउने उद्देश्यअनुरूप सन् २०२३ फेब्रुअरी महिनालाई आयोडिन मन्थका रूपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । थोरै खाऊँ, सहीमात्रामा खाऊँ, दुई बालबालिकाको चिहृन अंकित आयोडिनयुक्त नुन नै खाऊँ भन्ने नाराका एक महिनाभरी कार्यक्रम सञ्चालन हुने साल्ट ट्रेडिङले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?