प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । फिल्ड निर्माण कार्यमा अनियमितता गरेको आरोपमा मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतलगायत सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरूले गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्रममा समथर चौर भत्काई कुनै हार्ड रकसमेत नभएको अवस्थामा प्राविधिक गलत प्रतिवेदन पारेको अख्तियारको ठहर छ । उजुरीका आधारमा सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब-इञ्जिनियर मनोज धामी र सब-इञ्जिनियर जगतबहादुर मल्लविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त फिल्ड निर्माण योजनामा गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच गर्ने, सो नापी किताब स्वीकृत एवं फिल्डमा नभएको नगरेको कामको मूल्यांकन गरेको उनीहरूमाथि अख्तियारले आरोप लगाएको छ ।

यस क्रममा उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९३० रुपैयाँ रकम भुक्तानी गरेको र उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर ठहरिएको अख्तियारको दाबी छ । उनीहरू तीनै जनाउपर त्यति नै बिगो र बिगोबमोजिम जरिवाना माग गरिएको छ । साथै उनीहरूलाई ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैदसमेत अख्तियारले माग गरेको छ ।

यसैगरी, सोरुकोट खौलाचौर फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतनबहादुर शाही, सचिव धर्मबहादुर मल्ल र कोषाध्यक्ष धनदेवी छत्याल (शाही) ले सोरु–६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण कार्यमा गाउँपालिकासँग गरेको सम्झौताविपरीत कार्य गरेको भन्दै उनीहरूलाई पनि सोही रकम बिगो कायम गरी सजाय माग गरिएको छ । साथै सोरु-६ का तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको कार्य सम्पन्न गरेको भन्दै भुक्तानी गरिदिन सिफारिस गरेकाले उनलाई पनि दोषी ठहर गर्दै अख्तियारले सजाय माग गरी बुधबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा साक्षीविरुद्ध मुद्दा दायर
घुस लिएर भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको भन्दै अख्तियारले साक्षीविरुद्ध पनि मुद्दा दायर गरेको छ । मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महतको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेकी भावना महतले बयान व्यहोराको प्रतिकूल बकपत्र दिएकी थिइन् । बुधबार भावना महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सह सचिव) श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयोे ।

पनेरुले एक लाख ५० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको आरोपमा उनीमाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो । घुसबापतको रकम राखिदिने महतलाई उक्त मुद्दाको अनुसन्धानका क्रममा सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रूपमा पेस गरिएको थियो । तर, भावना महतले विशेष अदालत काठमाडौंसमक्ष बकपत्र गर्दा बयानको प्रतिकूल हुने बकपत्र गरेको पुष्टि भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारको मतियार मानी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भावना महतउपर एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी ऐनअनुसार राष्ट्रसेवकलाई हुने सजायको आधा सजाय माग गरिएको छ । गत वैशाख ११ गते जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । टोलीले महतलाई सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो । बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रकम लिएको अभियोगमा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित पनेरु पक्राउ परेकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?