निराश बनाउँदै रवि

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 15 mins

राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्यसँग रवि लामिछानेको भविष्यका साथै अन्य धेरैको भविष्य गाँसिएको छ । रविको खास एउटा समूह र वर्गमा उच्च एवं निष्कलंक छवि कायम भएको छ भने यो पार्टीका सौम्य मानिएका शिक्षामन्त्री शिशिर खनाल, जोसिली राज्यमन्त्री तोसिमा कार्की र फरक पहिचान बनाएकी सोविता खनाल जस्ता अरू थुप्रै नेता नेतृहरूको समाजमा बेग्लै परिचय स्थापित भएको छ । रविमाथि उठ्दा अरूको हैसियत माथि पुग्ने र रवि तल गिरे भने उनीसँगै अरू सबै डुब्ने काम हुन गयो भने धेरै युवाहरूको भविष्यमाथि खेलबाड हुनेमात्र होइन कि मुलुककै भावी दिशामा समेत ठूलो अवरोध सिर्जना हुन पुग्दछ । त्यसैले रवि लामिछानेको वर्तमान प्रगति र क्रियाकलापमा मात्र यो पार्टीका सबै नेताहरू पूर्णरूपेण आश्रित भएको देखिनु त्यति सुखद् विषय मान्न सकिँदैन ।

रवि लामिछानेले पत्रकारिता गर्दा उठाएका मुद्दाहरू फगत आफू सत्तामा पुग्नका लागि मात्रै रहेछन् भन्ने सावित हुन खोज्दैछ । सुशासन र जवाफदेहितामा पुराना नेताहरू र ठूला दलहरू चुके भनी उनले गरेको खबरदारी ती नेताहरूप्रतिको डाहा र इष्र्यामात्रै रहेछ भन्ने कुरा अहिले उनले देखाएको सत्तालिप्साको चरम आकांक्षाले प्रमाणित गर्दैछ । नेपालका युवा हुन् वा पाका सबै राजनीतिमा होमिएकाहरूको अन्तिम लक्ष्य जनता र देश होइन रहेछ, आफ्नै महत्वाकांक्षाको परिपूर्ति रहेछ भन्ने रविका वर्तमानका कदमहरूले सावित गर्दैछन् । यस्तो अवस्थामा पनि स्वतन्त्र पार्टीका अन्य नेताहरू मौन देखिनुले यो पार्टीको भविष्यमा मात्र होइन, जनताको युवामाथि पलाएको विश्वासमा समेत आघात पुगेको अनुभव हुन थालेको छ ।

रवि पुराना दल र नेताहरूका विकृतिहरूको उजागर गरेरमात्रै उदाएका नेता होइनन् । ठूला दलहरूका कमजोरी जनता सामु उदांगो पारेरमात्रै स्थापनाको छ महिनामै रविको दल स्वतन्त्र पार्टी मुलुकको चौथो ठूलो दल हुन सफल भएको होइन ।

होइन भने रविका सबै मुद्दाहरू किनारा लाइसकेको अवस्था छैन । नागरिकताको विवाद भने संवैधानिक अदालतको फैसला र रविले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा गई पुरानो नागरिकतालाई पुनर्जीवन प्रदान गरेपछि सकिएको छ तर दोहोरो राहदानी प्रकरणको विवादले अझै सफाइ पाइसकेको अवस्था छैन । यो मामिला नेपाली नागरिकताको भन्दा पनि अझै सम्वेदनशील मानिएको छ तर यही विवादकै बीचमा सांसद नरहेकै अवस्थामा रवि पुनः गृह मन्त्रालयमा फर्कन खोज्नुले आम जनसमुदायका बीचमा धेरै आशंकाहरू जन्माएको छ । दुई महिनापछि हुने उपनिर्वाचन समेत पर्खन नसक्ने रविको हतारो केका लागि हो भन्ने चासो सबैमा उठेको छ ।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने आफू त निराश हुँदै छन् नै जनतालाई पनि पूर्णतः निराश बनाउनेतर्फ अग्रसर हुँदैछन् । जनताले ठूलो आशाले ल्याएको गणतन्त्रमा पुराना नेता र ठूला दलहरूले बेथिति भित्र्याएको सन्दर्भलाई चर्को आलोचना गरेर नयाँ दल र नयाँ नेताहरूप्रति विश्वास जगाउन सफल भएका रवि लामिछाने त्यही अनुपातमा जनताको उत्साहलाई अधोगतिमा दौडाउन प्रयत्नरत देखिएका छन् । रवि लामिछाने अहिले जुन मार्गमा अग्रसर देखिएका छन्, त्यसले उनी स्वयं, उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेता तथा समर्थकहरूको छविमा नकारात्मक प्रगति त गराउने नै छ, त्यसभन्दा पनि बढी पूरै व्यवस्थामाथिको जनताको भरोसालाई कमजोर बनाउँदै लैजाने देखिन्छ ।

रवि पुराना दल र नेताहरूका विकृतिहरूको उजागर गरेरमात्रै उदाएका नेता होइनन् । ठूला दलहरूका कमजोरी जनता सामु उदांगो पारेरमात्रै स्थापनाको छ महिनामै रविको दल स्वतन्त्र पार्टी मुलुकको चौथो ठूलो दल हुन सफल भएको होइन । जनताको आस्था र भरोसा अझै संघीय गणतन्त्रमाथि छ र यसको समुचित सदुपयोग पुराना दलहरूबाट हुन नसकेको अनुभव गरेका जनताले नैतिकता, इमान, उत्तरदायित्व आदिका चर्का र ठूला कुरा गर्ने रवि जस्ता नयाँ नेता र नयाँ दलहरूबाट यही व्यवस्थालाई सुदृढ बनाउने काम हुन्छ कि भन्ने आशाले मतदान गरेका थिए । आज उनै नेताले एकमाथि अर्को बेथिति थप्दै गएको प्रमाणित हुँदै जानु र स्वार्थ बाझिने खेलमा रमाउँदै गएको देखिनुले रवि र उनको दललाई मतदान गरेका मतदातालाई निराश बनाउने सिवाय केही हुँदैन ।

रविमात्रै होइन, उनका दलबाट जितेका सांसदहरूका पनि त्यस्तै ठूला कुराहरू हुने गर्दथे । पुराना दलहरू र नेताहरूका साना कुरालाई पनि जनताका माझमा भयानक स्वरूपमा देखाउने गर्दथे तर अहिले आफ्ना पार्टी सभापतिको विकराल समस्यामा पनि त्यो पार्टीका कुनै सांसद, केन्द्रीय सदस्य या अरू नेताहरू बोल्न नसक्नुले आमरूपमा स्वतन्त्र पार्टीप्रति जनताको धारणा अर्कै रूपमा निर्माण हुँदै जानथालेको पाइन्छ । यदि त्यो पार्टीका अन्य नेताहरूको पनि अस्तित्व छ भने उनीहरूले राहदानी प्रकरण नसुल्झिएसम्म सभापतिज्यू सरकारमा जाँदा हामी सबैको अस्तित्वमा असर पर्दछ भनेर बोल्न सक्नुपर्ने होइन र ? अझ सांसद नै नभएका बेलामा १९ सांसदको शक्ति देखाएर मन्त्री बन्नुले त झन् सत्तालिप्सामा स्वतन्त्र पार्टी भन्ने मान्यता विनिर्माण हुन जान्छ भन्दै उनलाई रोक्न नसक्ने सांसदहरूले पहिलेका नेताहरूलाई किन आरोप लगाएका होलान् भन्ने प्रश्न पनि जबर्जस्त रूपमा उठेकै छ ।

नेपालमा अहिले दुई खाले चर्चाले व्यापकता पाएको छ । अमेरिकी नागरिक बनेका रवि लामिछानेले नेपाली नागरिकता नलिइकनै नेपालको उपप्रधानमन्त्री एवं गृहमन्त्री सम्मको पद हत्याएको र सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएको प्रसंगका पक्ष र विपक्षमा उभिनेहरूका बीच आरोप प्रत्यारोपका शृंखलाहरू चलिरहेका छन् । एकथरि रविले स्वाद पाए भनेर खुच्चिङ भनिरहेका छन् भने अर्कोथरि रविमाथि ठूलो अन्याय भयो भनेर कोकोहोलो मच्चाइरहेका छन् । रविका विपक्षकाहरू उनीमाथि ठूलै शंका गर्दैछन् भने उनका समर्थकहरू आराध्य देवादिदेव महादेवमाथि भयानक आक्रमण भए झैँ गरी सर्वोच्च अदालतका विरुद्धमात्रै होइन कि रविका विपक्षमा विचार राख्नेहरूमाथि खनिएको देखिन्छ ।

नेपालका सर्वोच्च राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाले आत्मवृत्तान्त र जेल जर्नलमा उल्लेख गरेका कुराहरूमा रवि लामिछाने जानकार थिए । छिमेकी मुलुकले मन्त्रिपरिषद्मा आफ्नो दूत राख्न प्रयास गर्नेमात्रै होइन, प्रधानमन्त्री विदेश भ्रमणमा जाँदासमेत उसको प्रतिनिधि रहनुपर्ने मान्यता राख्ने र त्यही अनुरूप कार्य गर्नुपर्ने बाध्यता नेपालका प्रधानमन्त्रीलाई रहेको कुरा रवि लामिछानेलाई राम्रैसँग थाहा थियो । उनी त निकटका दक्षिणका प्रतिनिधि पनि होइनन् र वंशजका हिसाबले पूरापूर नेपाली हुन् भने यहाँको कानुनलाई मान्नै पर्ने अवस्था नदेख्नुलाई किन यति उरालिएको होला भन्ने धेरैलाई लागिरहेको छ ।

यहाँका नेताहरूले कानुन मिचेको उनले नदेखेका होइनन् । संविधानमै प्रष्ट उल्लेख भएका कुराहरूलाई समेत नजरअन्दाज गर्दै नेपालका राष्ट्रपति, प्रधानमन्त्रीहरूले आफ्ना कार्यहरू सम्पन्न गरेका उदाहरणहरू रविसँग प्रशस्तै थिए । पत्रकारिता गर्दै आफ्नो छविलाई जनतामाझ उजिल्याउन सफल रविलाई नेपालमा के गर्न सकिन्छ र के गर्न सकिँदैन भन्ने राम्रोसँग थाहा थियो । सबैले नियम मिच्न हुन्छ भने मैलेमात्रै किन नहुने भन्ने सर्वसाधारणमा पलाउनुलाई अपवाद मान्नु हुँदैन । त्यही अपवादबाहेकको रुचि रवि लामिछानेलाई उब्जँदा विरोधका स्वरहरू किन आएका छन् ? रविका धेरै समर्थकका निम्ति चासोको विषय बनेको छ ।

रविले त एउटा अनुपम नजिर नै बसालिदिएका छन् । पहिले पहिले नेपाली नागरिकता लिएका विदेशी दूतहरू छद्म रूपमा सांसद, मन्त्री र महत्वपूर्ण कार्यकारी पदहरूमा रहन्थे । रवि लामिछानेले त नेपालमा उपप्रधानमन्त्री र गृहमन्त्री बन्नसम्मका लागि नेपाली नागरिकता लिइरहनै पर्दैन भन्ने देखाइदिएका छन् ।

नेपालमा समाजसेवा र सामान्य आर्थिक कारोबार गर्नबाहेक गैरआवासीय नेपालीलाई अधिकार छैन भन्ने कुरा रविलाई थाहा थिएन र ? नेपालको संविधान र नागरिकतासम्बन्धी कानुनले विदेशबाट नेपाल आई राजनीतिक क्रियाकलापमा संलग्न हुने हो भने विदेशी नागरिकता परित्याग गरी नेपालको सम्बन्धित कार्यालयमा निवेदन दिएर पुरानो नेपाली नागरिकतालाई ब्युँताउनुपर्दछ भन्ने पत्रकारितामा खारिएका रविलाई ज्ञान नै थिएन र ? झुक्किएर गरेको गल्ती हो र यो ? सामान्य निवेदन दिन पनि उनले किन आनाकानी गरे ? यस्ता प्रश्नहरू गर्ने सोझा नेपालीलाई नेपाली नागरिकता त्याग गरेर अमेरिकी बन्नसमेत तयार भएका रविको के उत्तर छ भन्ने त थाहा छैन तर नेपाली बाबुआमाका छोराहरू ओली, देउवा, प्रचण्डहरूले पाएजस्तै कानुनमाथिको अधिकार उनले लिन खोज्नुलाई आपत्ति जनाउनुलाई भने सहजै पचाउन रविमाथि भरोसा गरेकाहरूलाई मुस्किल परेको छ ।

३२ दिन भए पनि रवि लामिछाने नेपालको सांसद भए, उपप्रधामन्त्री बने, गृहमन्त्रीको कार्यभार सम्हाले र नेपालको संसदीय राजनीतिको चौथो ठूलो पार्टीको सभापति बने । ‘घटं भिन्द्यात् पटंछिन्द्याद्रासभरोहणम्, येनकेन प्रकारेण प्रसिद्ध पुरुषो भवेत्’ अर्थात् भाँडो फुटाएर, कपडा च्यातेर या गधा चढेर जसरी भए पनि चर्चामा रहनु । जसरी भए पनि लोकमा प्रसिद्ध रहनु भनेको कुरा रविले राम्रैसँग पढेकै थिए । त्यसैले अरू नेताहरू भन्दा पनि एक कदम माथि चढेर नेपालको संविधान, कानुन र नियम विनियमलाई चुनौती दिए भने कुन ठूलो अपराध गरे र यतिविधि चर्चा परिचर्चा गरिँदैछ भन्नेमा रविका पक्षधरहरूले चासो राखेका छन् ।

रविले त एउटा अनुपम नजिर नै बसालिदिएका छन् । पहिले पहिले नेपाली नागरिकता लिएका विदेशी दूतहरू छद्म रूपमा सांसद बन्थे, मन्त्री बन्थे, महत्वपूर्ण कार्यकारी पदहरूमा रहन्थे । रवि लामिछानेले त नेपालमा उपप्रधानमन्त्री र गृहमन्त्री बन्नसम्मका लागि नेपाली नागरिकता लिइरहनै पर्दैन भन्ने देखाइदिएका छन् । किन लुकीछिपीका कुरा गर्नु ठाडै सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन् । यो उनले सत्ता लोलुपताका कारण गरेका होइनन्, नेपालका जनतालाई नेपालमा हुनेगरेको राजनीति, यहाँको कानुन र यहाँको प्रशासन बुझाउन यति गरेका हुन् भनेर बुझ्ने कि ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?