रवि : कर्मभूमि र जन्मभूमि दुवैको कानुनविरुद्ध

Read Time = 20 mins

✍️ प्रा. पुरुषोत्तम दाहाल

अहिले नेपाली राजनीतिमा बहुचर्चित हुनुभएका पत्रकार, नेता र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका विषयमा केही लेख्नु वा बोल्नु भनेको आगोमा हात राख्नु जत्तिकै हुनसक्छ । म व्यक्तिगत रूपमा पनि एउटा जाँगरिलो, चतुर र निरन्तर विकृतिविरुद्ध कानुन न्यायका पक्षमा खरो रूपले उभिने रविको अधपतनका पक्षमा छैन । तर, मानिस आफैंले अधपतनको बाटो समातेपछि अरू कसैको शुभेच्छाको कुनै अर्थ हुँदैन । नेपाली राजनीतिको पछिल्लो चरण अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्रको मुहूर्तपश्चात् अनेक युवाहरू चमत्कारी हुनखोज्दै अहंकारको सगरमाथामा पुगिरहेको अवस्था छ ।

रविको मात्रै होइन कांग्रेस, एमाले, राप्रपा र अरू दलमा वा स्वतन्त्र जुन नाममा भए पनि चमत्कारीहरूले आमनागरिकको निराशाको दोहन गरिरहेका छन् । चमत्कारी चिन्तनकै बीचमा अनायास सर्वोच्च अदालतले नागरिकता विषयमा गरेको फैसलाको लगत्तै रविले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गरेको प्रतिपश्नले मेरो ध्यान खिच्यो । उनको प्रतिप्रश्न थियो, ‘कहाँको नागरिक ? म अब अनारिक हुँ, मसँग के प्रश्न गर्नुहुन्छ ?’

(क) राज्यसँग ब्ल्याकमेलिङ र जनभावनाको दोहन
यद्यपि रविलाई नेपालको कुनै पनि अदालत वा सर्वोच्चको त्यो फैसलामा अनागरिक भनिएको थिएन । तर, उनले यो प्रतिप्रश्नबाट समर्थक र आमनागरिकको भावनालाई दोहन गर्दै राज्यसँग ब्ल्याकमेलिङ गरिरहेको स्पष्ट थियो । नागरिकता प्रमाण पत्रविना बैंक खाता खोल्न, कुनै जागिर पाउन, कतै नियुक्तिमा जान, उम्मेदवार हुन, मतदान गर्न, पासपोर्ट लिन, कुनै दल दर्ता गर्न, कुनै संस्था दर्ता गर्न पाइँदैन । तर, १६ वर्ष नपुगी नागरिकता पाइँदैन । के १६ वर्षमुनिका सबै नेपालीहरू अनागरिक हुन् त ? रविजीका अनुसार ती सबै अनागरिक मान्नुपर्ने हुन्छ ।

रविले अमेरिकी नागरिकता लिन गरेको प्रतिज्ञाविपरीत नेपालको नागरिकता लिन खोजेका छन् र पाए पनि । तर, उनले प्रत्येक पाइलामा झुठबाहेक केही प्रदर्शन गरिरहेका छैनन् । करिब दुई दशक अमेरिका बसेका रविले कानुनको मर्यादा थाहा पाउनुपर्ने हो ।

(ख) अमेरिकी नागरिक हुन रविजीको प्रतिज्ञा
रविजीले केही वर्षपहिले अमेरिकाको नागरिकता लिएको र केही वर्ष पहिले नेपाल फर्केर त्यो नागरिकता परित्याग गरेको घोषणा गरेको सबैलाई थाहा छ । उहाँले अमेरिकाको नागरिकता लिन गरेको प्रतिज्ञा यहाँ उल्लेख गर्नु उपयुक्त हुनेछ ।

अमेरिकाको नागरिकता लिन रविले गर्नुभएको प्रतिज्ञा
‘यो शपथसँगै म नागरिक वा प्रजा भएको विदेशी राजा, शासक, राज्य, वा सार्वभौमिकताप्रति मेरा सम्पूर्ण बफादारीता पूर्णरूपमा त्यागेको घोषणा गर्दछु । स्वदेशी र विदेशी बैरीविरुद्ध अमेरिकाको संविधान, कानुनको समर्थन र रक्षा गर्दछु, सच्चा विश्वास, बफादारीता राख्छु, कानुनले आवश्यक ठानेको समयमा अमेरिकाको पक्षमा हतियार लिन्छु, अमेरिकाको सशस्त्र बलका पक्षमा निःशस्त्र सेवा प्रदान गर्छु, कानुनले आवश्यक ठानेको समयमा नागरिक निर्देशनअन्तर्गत राष्ट्रिय महत्वका कार्य गर्नेछु, म यो दायित्व कुनै मानसिक शंका नमानी, छलछाम नगरी स्वतन्त्ररूपमा स्वीकार्छु, त्यसैले प्रभु मलाई सहयोग गर्नुहोस् ।’

अमेरिकामा गएर कसैले पनि विधिसम्मत तरिकाले नागरिकता लिनुअघि उल्लिखित प्रतिज्ञा अनिवार्य रूपमा गर्नैपर्छ । नागरिकता फम्र्याटमा नै रहेको पहिलो वाक्य हो यो । यो वाक्यअनुसार : रविले पुरानो राज्य अर्थात् नेपाल र नेपालको सार्वभौमिकताको बफादारीतालाई पूर्णरूपमा त्याग गरेको, अमेरिकाको कानुनको समर्थन र विश्वास गर्दै बफादारीता राख्ने, अमेरिकाका सबै शत्रुविरुद्ध अमेरिकाको पक्षमा हतियार उठाउने, शस्त्र बलमा निःशस्त्र सेवा गर्ने र कुनै छलछाम नगरी अमेरिकी कानुनको निर्देशन पालना गर्ने प्रतिज्ञाकासाथ प्रभुसँग सहयोगको याचना, प्रार्थना गरेका छन् ।

यो प्रतिज्ञा अनुसार अमेरिकाको नागरिकता लिने जसकसैले पनि अमेरिकाका पक्षमा काम गर्न प्रभु अर्थात् भगवान्सँग सहयोगको याचना गरेका हुन्छन् । यो प्रतिज्ञा अनुसार : रविले नेपालप्रतिको निष्ठा, राष्ट्रभक्ति, देशप्रेम सम्पूर्ण परित्याग गरी अमेरिकाको सेवा गर्ने स्वीकार गरेका छन् ।

(ग) द्वैध निष्ठा कतापट्टि हो ?
तर उनले अन्तिममा पुनः नेपाल फर्कने निर्णय गरे । करिब दुई दशकसम्मको अमेरिका बसाइमा अनेक अनुभव लिएका होलान् उनले । ती अनुभव नेपालका लागि महत्वपूर्ण पनि होलान् । नेपालमै बसेर जनता र देशको सेवा गर्ने विचार गरे होलान् । नेपालीका लागि यो सुखद् विषय हुनसक्छ । तर उनले आउनासाथ जिम्मेदार जति सबैलाई नाङ्गेझार पार्ने र सडकमा नै कुदाउने अहंकारजन्य विचार प्रवाहित गर्न लागे । उनी आफूबाहेक यो देशका लागि योगदान दिने कोही पनि छैन भन्ने स्थापित गर्न खोजे । आजको परिवर्तनको नेतृत्व गर्ने ‘नेताहरूका बंगारा झार्ने, टाउको फुटाउने, हातखुट्टा भाँच्ने, खुला मञ्चमा उभाएर टाउके नेताहरूका नाकका डाँडी भाँच्ने’ जस्ता गैरमर्यादित शब्दहरूलाई टेलिभिजनको पर्दामा प्रस्तुत गरे ।

उनको यो उत्तेजनात्मक र आक्रामक प्रस्तुतिले नकारात्मक सोच र निरासाले भरिएको पुस्ता र जनमत आकर्षित भयो । यसैकारण उनको विगत हेर्ने, विधि र मर्यादाको प्रश्न उठाउने सोच कसैमा पनि भएन । नागरिकता, ग्रिन कार्ड, पिआर के हुन् भनेर छुट्याउने र जानकारी लिने काम पनि नेपालीहरूबाट भएन । सबैलाई समान मानियो । रविले अमेरिकामा गरेको प्रतिज्ञामा विश्वास गर्ने कि उहाँले लिएको नेपालको नागरिकतामा ?

(घ) ग्रिन कार्ड पिआर र नागरिकता समान होइन
श्रमबजारमा जाने जसकसैले पनि श्रमस्वीकृति लिनु अनिवार्य हुन्छ । श्रमस्वीकृति नभएको मानिसले विदेशमा काम पाउँदैन । अमेरिकमामा, क्यानडा, अष्ट्रेलिया वा युरोपका अनेक देशहरूमा नेपालीहरूले रोजगारीको स्वीकृति लिएकै हुन्छन् । अमेरिकामा ग्रिन कार्ड भनेको कम गर्न पाउने स्वीकृति हो र सामाजिक सुरक्षा प्राप्त गर्नु हो । तर, उनीहरूसँग अरू कुनै पनि राजनीतिक अधिकार जस्तो पार्टीमा आबद्ध हुने, मतदान गर्ने वा उम्मेदवार हुने स्वीकृति होइन त्यो । राजनीतिक अधिकारका लागि नागरिकता अनिवार्य हुन्छ । विदेशमा जन्मेको तर अमेरिकी नागरिकता लिएको व्यक्तिसरह रविले अमेरिकामा राजनीतिक अधिकार पाएका थिए ।

धेरै नेपालीहरूले ग्रिन कार्ड पाएर चार वर्ष पूरा गरे पनि नागरिकता नलिई ग्रिन कार्ड नवीकरण गर्दै काम गरिरहेका छन् । कतिपय मानिसहरू ग्रिन कार्डविरुद्ध हल्ला गरिरहेका छन् तर त्यो खाडीमा वा अन्य कुनै देशमा काम गर्न चाहिने श्रमस्वीकृति जस्तै हो अमेरिकाको ग्रिन कार्ड । त्यसको कुनै राजनीतिक अर्थ रहँदैन । एनआरएन अमेरिकाले वक्तव्य नै जारी गर्दै ग्रिन कार्ड, पिआर र नागरिकताको विषय फरक भएको हुनाले रविको मुद्दाले कसैलाई असर नपार्ने स्पष्ट गरेको समाचार प्रासंगिक हुन्छ । तर, विदेशमा पिआर ग्रिन कार्ड लिएर काम गरिरहेकाहरू समेतलाई भ्रमित तुल्याउने गरी रविको प्रचार अभियान देखिन्छ ।

(ड.) रविले नेपाल र अमेरिका दुवैलाई ढाँटिरहेका छन्
रविले अमेरिकी नागरिकता लिन गरेको प्रतिज्ञाविपरीत नेपालको नागरिकता लिन खोजेका छन् र पाए पनि । तर, उनले प्रत्येक पाइलामा झुठबाहेक केही प्रदर्शन गरिरहेका छैनन् । करिब दुई दशक अमेरिका बसेका रविले कानुनको मर्यादा थाहा पाउनुपर्ने हो । केही दिन पहिले मात्रै अमेरिकी राष्ट्रपतिको कार्यकक्षमा एफबिआइले खानतलासी लियो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई काननुतः मुद्दा चलाएको छ । कानुनले राष्ट्रपति भनेर विशेष छुट दिएको देखिँदैन । तर, रविजी त्यस्तो कानुनी मर्यादाको देशबाट स्वदेश फर्कनासाथ विशेषाधिकार खोज्न लाग्नुभयो, नेपालको कानुको मर्यादा भंग गर्दै अरूलाई कानुनको कठघरामा उभ्याउने नारा लगाउन थाल्नुभयो, विशेषाधिकार जस्तो गरी उहाँलाई जिल्ला कार्यालय काठमाडौंले तुरुन्त नेपाली नागरिकता प्रतिस्थापन गरिदियो ।

जबकि रविले पहिले गृहमन्त्रालयले सूचना तथा सञ्चारमन्त्रालयमा लेखेको पत्रमा अमेरिकी नागरिक र पासपोर्ट भएको रविलाई सञ्चार क्षेत्रमा काम गर्न दिने वा नदिने राय लेख्न किटानीका साथ पठाएको पत्र सुरक्षित छ । निर्वाचन आयोगमा दल दर्ता गर्दा, उम्मेदवारी दर्ता गर्दा र गृहमन्त्रालयको कार्यभार लिँदासमेत रविले नेपाली नागरिकता लिएका थिएनन् । उनले अमेरिकी नागरिकता त्याग गरेको जानकारीमात्रै दिएका थिए । अदालतले यसैकारण प्रक्रिया नपुगेको भनेर उनको सबै पद खारेज गरिदियो ।

अदालतविरुद्ध नारा जुलुस र रविलाई पुनः गृहमन्त्री बनाउनुपर्ने दबाब प्रायोजित जस्तो हुनपुगेको छ । कतिपय कुरामा अदालत चुकेको होला, नेताहरू भ्रष्ट र नालायक होलान् त्यसो भन्दैमा सुधार र परिवर्तनको जोशिलो नारा दिनेहरू पनि भ्रष्ट र विधिविरोधी हुन मिल्छ ? रविजी र उहाँका समर्थकहरूले यो प्रश्नको जवाफ नदिई हुँदैन । रविजीले अमेरिकी जनता र सरकारलाई जसरी ढाँटे त्यसरी नै नेपाली जनता र सरकारलाई ढाँट्ने काम गरेका छन् । अमेरिकामा बसेर यस्तो ढाँट काम गरेको भए उनी यतिखेर जेलमा हुन्थे तर नेपालीहरूका काँधमा विराजमान छन् । स्मरणीय के छ भने मेरिल्याण्डको जुडिसियरीमा रविविरुद्ध नौवटा मुद्दा छन् ।

केही उनी हिँडेपछि बन्द छन् भने तीनवटा संगीन मुद्दाको फाइल अझै पनि खुला रहेको प्रमाण प्राप्त छन् । खास गरी क्रेडिक कार्डको दुरुपयोगबारेको मुद्दा अहिले पनि खुला छ । अमेरिकामा ठगी गरेको आरोप यथावत् रहेका रवि नेपालको गृहमन्त्री । त्यतिमात्रै होइन अहिले उनी संसदमा नभए पनि ६ महिनाका लागि गृहमन्त्रीमा नै नियुक्ति दिनुपर्ने अन्यथा गठबन्धन तोड्ने धम्की दिइरहेका छन् । जसलाई एमालेका अध्यक्ष प्रत्यक्षतः समर्थन गरिरहनुभएको छ । किन पुनः गृहमन्त्री ? यो प्रश्न पनि महत्वपूर्ण छ ।

(च) दबाब दिने र प्रमाण नष्ट गर्ने निहित उद्देश्य
पुरानै नागरिकता प्रयोग गरी दोहोरो नागरिकताका आधारमा पासपोर्ट बनाएको, नेपाली नागरिकता पुनप्र्राप्त नगरी राजनीतिक अधिकार उपयोग गरेको जस्ता विषयमा गृहमन्त्रालय अन्तर्गतको प्रहरी अधिकृतको नेतृत्वमा रविजीविरुद्ध अनुसन्धान भइरहेको छ । तर, आफैंविरुद्ध अनुसन्धान भइरहेको मन्त्रालय पाएमा गठबन्धनमा जाने सर्त राखेपछि राजनीतिक नैतिकता स्खलित भएको अनुभव सबैले गरेका हुन् । किनकि रविले त्यसरी गृहमा नै गएपछि : अनुसन्धान समय लम्बिए पनि रविका कारण, रविका पक्षमा परिणाम आए पनि रविको दबाबका कारण र विपक्षमा आएमा रवि दोषी थियो र उसको केही चलेन भन्ने अपयसको भारी रविले लिने गरी किन त्यही मन्त्रालय रोजेका हुन् ? प्रश्न उठिरहेको थियो ।

अदालतविरुद्ध नारा जुलुस र रविलाई पुनः गृहमन्त्री बनाउनुपर्ने दबाब प्रायोजित जस्तो हुनपुगेको छ । कतिपय कुरामा अदालत चुकेको होला, नेताहरू भ्रष्ट, नालायक होलान् त्यसो भन्दैमा सुधार र परिवर्तनको जोशिलो नारा दिनेहरू पनि भ्रष्ट, विधिविरोधी हुन मिल्छ ?

अदालतले नागरिकतामा दोषी प्रमाणित गरेको भोलिपल्ट उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट किन यसरी दोहोरो नागरिकता दिइयो ? किन उनले दोहोरो नागरिकताका आधारमा नयाँ पासपोर्ट लिए भन्ने कुनै छानविन नै नगरी दुई घण्टामा नागरिकता पुनःस्थापित गर्नु आफैंमा रहस्यपूर्ण लाग्छ । के हल्लाका भरमा कानुन प्रयोग अनि परिवर्तीत हुनसक्छ ? सानालाई ऐन, ठूलालाई चैन भनेको यही त होला ?

(छ) अन्तिममा केही थप जिज्ञाषा
नागरिकताका विषयमा निर्वाचन आयोगमा उजुरी परे पनि किन उपेक्षा गरियो र अनावस्यक विवाद खडा हुने अवस्था सिर्जना भयो ? एउटा उत्साही युवाले नेपालमा कानुन तोडेर गृहप्रशासनको जिम्मेदारीमा किन पुग्ने अवस्था सिर्जना गरियो ? निर्वाचन आयोगका पदाधिकारीहरू जिम्मेदार हुने कि नहुने ? उनीहरूमाथि समेत लापरबाही गरेको अभियोगमा किन कारबाही नचलाउने ? चितवन दुईको रिक्त संसदीय स्थानमा निर्वाचन गर्दा उपनिर्वाचन मान्ने कि महानिर्वाचनकै हिस्सा ? उपनिर्वाचन मान्ने हो भने रविको नागरिकतालाई महानिर्वाचनले मान्यता दिएको पुष्टि हुँदैन ?

पहिलो उम्मेदवार अवैधानिक घोषित भएपछि पुनः निर्वाचन गराउने कि अर्को निकटतम प्रतिस्पर्धीलाई विजयी घोषित गर्ने ?, उनको पार्टी बैध हुने कि नहुने ?, उनका सांसदको पनि वैधानिक हैसियत के हुने ? यी प्रश्नहरूबारे रवि स्वयं र सम्बन्धित निकायले समेत खोज्नु जरुरी छ । अस्वस्थ राजनीति र समाजलाई परिष्कार गर्न अग्रसर युवाले आफूलाई निर्दोष प्रमाणित नगरी सत्ताको भोक र तृष्णामा मात्रै केन्द्रित गर्ने हो भने सुखद् परिणाम र भविष्यका लागि असल उदाहरण बन्न सक्दैनन् ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
तारा ब बुढाथोकी
तारा ब बुढाथोकी
2023-02-02 8:50 am

राम्रोसँग पढे।

भट्टराई बन्धु
भट्टराई बन्धु
2023-02-02 12:36 pm

कति सटिक , कति सत्यपरक ! \हाम्रा महान रविजीले अमेरिकाको नागरिकता लिन रविले कस्तो प्रतिज्ञा गरेका रहेछन ,त्यो मनन गर्नु जरुरि छ- त्यो यस्तो रहेछ —
‘यो शपथसँगै म नागरिक वा प्रजा भएको विदेशी राजा, शासक, राज्य, वा सार्वभौमिकताप्रति मेरा सम्पूर्ण बफादारीता पूर्णरूपमा त्यागेको घोषणा गर्दछु । स्वदेशी र विदेशी बैरीविरुद्ध अमेरिकाको संविधान, कानुनको समर्थन र रक्षा गर्दछु, सच्चा विश्वास, बफादारीता राख्छु, कानुनले आवश्यक ठानेको समयमा अमेरिकाको पक्षमा हतियार लिन्छु, अमेरिकाको सशस्त्र बलका पक्षमा निःशस्त्र सेवा प्रदान गर्छु, कानुनले आवश्यक ठानेको समयमा नागरिक निर्देशनअन्तर्गत राष्ट्रिय महत्वका कार्य गर्नेछु, म यो दायित्व कुनै मानसिक शंका नमानी, छलछाम नगरी स्वतन्त्ररूपमा स्वीकार्छु, त्यसैले प्रभु मलाई सहयोग गर्नुहोस् ।’
उनी नेपाल-आमाको छातीमा लात मारेर अमेरिकन नागरिक भएको खुलस्त देखियो | अमेरिकाका क्रेडिट कार्डको ( उहाको भाषामा सदुपयोग होला ) चरम दुरुपयोग गरि नेपाल फर्केर सोझा-नेपालीलाई झुक्क्याउने चाल चलेको देखिने अवस्थामा गृह-मन्त्रालय फौजदारी अभियुक्तको नौटंकीबाट अव नेपाली झुक्किनु हुदैन | उनीमाथि अमेरिकामा चलेका मुद्दाको सामना गरुन | यस्तो प्रवृत्तिको घोटाला गर्ने व्यक्तिलाई तत्काल नागरिकता दिने , निर्वाचन आयोगले जानी-जानी मुद्दा पन्छाएर राष्ट्रलाई क्षति पुराउनेहरु माथि सक्त कारवाही हुनु पर्छ |
बहुतै स्पष्ट ,सत्य-तथ्य सान्दर्भिक लेखका लागि विद्वान लेखक श्री दाहालजीलाई मुरी-मुरी साधुवाद |

रिलेटेड न्युज

छुटाउनुभयो कि ?