नयाँ नोटमा बेलायती नरेशको तस्वीर नछाप्ने अष्ट्रेलियाको घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

सिड्नी । अष्ट्रेलियाले आफ्नो ब्यांकनोटमा बेलायती नरेशको तस्वीर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले बिहीबार उक्त घोषणा गरेको हो । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको तस्वीर अंकित अष्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको यो निर्णयसँगै हालै राजसिंहासन सम्हाल्नुभएका बेलायतका राजा चाल्र्स तृतीयको फोटो नोटमा छापिने छैन । नोटबाट राजाहरूको फोटो हटाउने निर्णयको अर्थ अष्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहने छैनन् ।

गत सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको मृत्यु भएपछि राष्ट्राध्यक्षको सम्मानमा अष्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेकामा केही आदिवासी समूहले त्यसको विरोध गरेका थिए । विरोधका क्रममा उनीहरूले राजतन्त्रको उन्मूलनका निम्ति आहृवान गरेका थिए । यसले संवैधानिक राजतन्त्रको भविष्यबारेको बहसलाई पुनः सतहमा ल्याएको छ । संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक मुलुक अष्ट्रेलियाका राष्ट्राध्यक्ष राजा चाल्र्स तृतीय हुनुहुन्छ । सन् १९९९ मा भएको जनमत संग्र्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो ।

केन्द्रीय बैंकको उक्त निर्णयलाई एन्थोनी अल्बानिजको वामपन्थी सरकारले समर्थन गरेको बताएको छ । सरकारको यो समर्थनबाट अष्ट्रेलिया गणतन्त्रको मार्गमा उन्मुख भएको संकेत गरेको छ । नयाँ नोट छापिन केही वर्ष लाग्ने बताइएको छ भने सरकारले पनि आदिवासी समूहहरूसँग परामर्श गर्ने जनाएको छ । नयाँ नोटको प्रारूप पनि तयार भइसकेको छैन भने त्यसबारे थप निर्णय पनि नभएको केन्द्रीय बैंकका अधिकारीले बताएका छन् ।

राजा चाल्र्स तृतीयको फोटो नोटमा नछाप्ने निर्णयको आदिवासी राजनीतिज्ञ तथा समुदायका नेताले स्वागत गरेका छन् । बेलायतको उपनिवेशबाट मुक्त हुने आफ्नो चाहनापूर्तिको दिशामा यो पहिलो विजय भएको टिप्पणी आदिवासी नेताले गरेका छन् । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?