पक्राउ परेसँगै सांसद चौधरी निलम्बित, अदालतमा मुद्दा परे सांसद पद खारेज हुने

यज्ञराज पाण्डे
Read Time = 10 mins

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ पर्नुभएको छ । कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारूले जानकारी दिनुभयो ।

चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर हुनुभएको थियो । कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिनुभएको थियो । ट्याक्टरधनी बजगाईँले आठ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गर्नुभएको थियो । सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उहाँलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘तीनपटक चुनाव लड्दा फरार नहुने, अहिले पक्राउ ?’
पार्टीका सांसद अरुणकुमार चौधरीलाई बाँकेबाट पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले सामाजिक सञ्जालमा ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिँदैन रहेछ ।’ भनेर प्रतिक्रिया जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘नौ वर्षको घटनामा उहाँलाई दोषी भनी पक्राउ गरिएको छ । अनि नौ वर्षमा उहाँले तीनवटा चुनाव लड्नु भयो । चुनाव लडुन्जेल पनि नदेख्ने अनि सांसद जितेपछि फरार नहुने, अनि अहिले किन पक्राउ गरियो ?’

कैलालीमा प्रदर्शन
पार्टीका प्रतिनिधिसभा सदस्य तथा सचेतक अरुणकुमार चौधरी पक्राउ परेपछि कैलालीमा विरोध प्रदर्शन गरिएको छ । उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले कैलालीस्थित बौनियामा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि बौनिया बजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नाउपाका नेता जन्मदेव सञ्जालले शुक्रबार बिहान १० बजेदेखि कैलालीमा यातायात बन्द गर्ने चेतावनी पनि दिनुभएको छ ।

के हुन्छ चौधरीको सांसद पद ?
पक्राउ परेसँगै कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभामा विजयी हुुनुभएका चौधरी सांसद पदबाट निलम्बित हुनुभएको छ । चौधरी पक्राउ परेको सूचना प्रहरीले संसद् सचिवालयलाई जानकारी गराएपछि उहाँको पद स्वतः जाने संवैधानिक व्यवस्था छ । प्रहरीले बिहीबार नै संसद्लाई चौधरी पक्राउ परेको सूचना दिइसकेको छ । अब संसद्ले उहाँ निलम्बन परेको सूचना टाँस गर्नेछ । यदि संसद् बैठक बस्दै छ भने बैठकमै निलम्बन भएको सूचना सभामुख देवराज घिमिरेले सुनाउनुहुन्छ ।

नेपालको संविधान २०७२ को धारा १०३ मा संघीय सांसदलाई विशेषाधिकारको व्यवस्था गरेको छ । तर, त्यही धाराको उपधारा ६ मा भने संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन भन्ने उल्लेख छ ।

तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पु¥याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने व्यवस्था छ । त्यसो त अदालतले यसरी केही सांसदको पद खारेज गरिदिएको नजिर छ । प्रतिनिधिसभाको पहिलो बैठकअघि नै नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको थियो । उहाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको छ । मनाङबाट निर्वाचित भएका गुरुङले शपथ पनि लिन पाउनुभएको छैन ।

को हुन् सांसद चौधरी ?
नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित हुनुभएका चौधरीले एमालेका चर्चित नेता झपट रावललाई ५७४३ मत अन्तरले पराजित गर्नुभएको थियो । चौधरीले २१ हजार ७१ मत प्राप्त गर्नुभएको थियो भने एमालेका रावलले १६ हजार १२ मत प्राप्त गर्नुभएको थियो ।

चौधरी ट्याक्टर आगाजनीको मुद्दामा २०७० सालमा दोषी ठहर भई जेल सजाय नभोगेर ‘फरार सूची’मा रहनुभएको थियो । उहाँलगायत तीन जनालाई अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो ।

२०६६ मा स्थानीय महादेव बजगाईंको ट्याक्टरमा आगो लगाएको कसुरमा उहाँलगायत पर्शुराम चौधरी र वीरबहादुर चौधरी दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको थियो । उहाँहरूले ट्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्किँदै ट्याक्टरमा आगो लगाउनुभएको थियो । उक्त विषयमा जाहेरी परेपछि उहाँहरू तीनैजना बयान दिन अदालत नआएर फरार हुनुभएको थियो । तीनैजना प्रतिवादीहरूका नाममा अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको थियो ।

एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि फरार सूचीमा
त्यसो त एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरी पनि ज्यान मुद्दामा ‘फरार सूचीमा’ हुनुहुन्छ । महोत्तरी–१ बाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै चुनाव जित्नुभएका एमाले सांसद कोइरीमाथि पनि मधेश आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । कोइरीमाथि नेपाल प्रहरीका सई थामन विश्वकर्माको हत्या गरेको आरोप छ ।

सात वर्षअघि मधेश प्रदेशमा आन्दोलन हुँदा महोत्तरीमा विश्वकर्माको हत्या भएको थियो । घाइते भएर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सनबाट थुतेर विश्वकर्माको हत्या गरिएको भन्दै जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो । यसअघि धनुषा जिल्ला अदालतले १० लाख धरौटीमा उहाँलाई छोडेको थियो । उहाँलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको छ ।

अहिले यो विषय पनि सबैका लागि चासोको विषय बनेको छ । पुस ७ गते चुनाव जितेर आएका नयाँ सांसदहरूलाई शपथ गराउँदा कोइरी नयाँ बानेश्वस्थित संसद् भवनमा उपस्थित हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिँदा पनि उहाँ संसद् भवनमै उपस्थित हुनुहुन्थ्यो ।

सभामुखको चुनावका लागि पनि उहाँ संसद् भवन पुग्नुभएको थियो । तर, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएपछि उहाँ एकाएक संसद् भवनबाट गायव हुनुभएको थियो । संसद्बाट गायव हुनुभएका सांसद कोइरीलाई प्रहरीले हालसम्म फेला पार्न सकेको छैन । अहिले उहाँ कहाँ हुनुहुन्छ भन्ने विषयमा गृह मन्त्रालय पनि अनभिज्ञ छ । गृहमन्त्रीले यसयघि नै सांसद कोइरीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताए पनि उच्च स्रोतका अनुसार संसद् भवनबाट निस्किनुभएका कोइरीले नेपाल छोडिसक्नु भएको बताइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?