ओली-प्रचण्डको आग्रहपछि रास्वपा ‘ब्याक’, दुई दिनसम्म सरकार नछोड्ने

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकार नछोड्ने भएको छ । बिहीबार अबेरसम्म बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकार नछोड्ने निर्णय गरेको हो । बैठकले पार्टीको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दिनको समय दिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकोले त्यति बेलासम्म पर्खिने निर्णय पार्टीले गरेको हो । सरकारमा बस्ने या हट्नेबारे दुई दिनपछि मात्रै निर्णय लिइने उहाँले बताउनुभयो । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीको पनि फोन आएको थियो,’ बैठकपछि प्रवक्ता ढकालले भन्नुभयो, ‘दुवै जनाले दुई दिनको समय माग्नुभएको थियो । त्यसकारण हामी दुई दिन कुर्न तयार भएका हौँ ।’

दुई दिनभित्र सहमति कार्यान्वयन भए गठबन्धनमा रहने र नभए पुनः बैठक बसेर आवश्यक निर्णय लिने उहाँको भनाइ छ । बैठकमा अधिकांश नेताहरूले हठात् सरकारबाट बाहिरिन नहुने धारणा राखेका थिए । केहीले भने तत्काल सरकारबाट बाहिरिनुपर्ने धारणा राखेका थिए । रास्वपाले यसअघि गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नुभएको थियो । तर, उहाँको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त हुनुभएको थियो । गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएपछि लामिछाने पुनः गृहमन्त्री बन्न दौडधुप गरिरहनु भएको छ । तर, प्रधानमन्त्री प्रचण्ड भने उहाँलाई गृहमन्त्री दिन तयार देखिनुभएको छैन । लामिछानेको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले भने बेवास्ता गर्दै आउनुभएको छ । लामिछाने मात्रै होइन सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत गृह मन्त्रालय रास्वपालाई दिन दबाब दिइरहनु भएको छ । गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हाल्नुभएको छ । गत पुस १० गते तत्कालीन गठबन्धनको सरकार बन्न नसकेपछि नेकपा (एमाले) सहितको सात दलीय गठबन्धन बनेको थियो । जसमा एमाले-माओवादीसहित रास्वपा, राप्रपालगायत दलहरू सामेल छन् ।

गृह मन्त्रालयको अडानबाट पछि हट्दैनौँ : प्रवक्ता ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने बताउनुभएको छ । पूर्व-सहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वाभाविक दाबी भएको ढकालले दोहोर्‍याउनुभयो । रास्वपालाई गृह मन्त्रालय दिएपछि मात्रै कसलाई पठाउनेबारे पार्टीले निर्णय गर्ने उहाँको भनाइ छ । ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । यो अडानबाट हामी पछाडि हट्दैनौँ,’ उहाँले भन्नुभयो, ‘गृह मन्त्रालयमा कसलाई पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो । गृह पाएपछि पार्टीले त्यो निर्णय गर्छ ।’

पूर्व-सहमतिअनुसार गृह मन्त्रालय रास्वपालाई दिनुपर्छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्व-सहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने दोहोर्‍याउनुभएको छ । बिहीबार विराटनगर पुगेर एमाले अध्यक्ष ओलीले पूर्व-सहमतिअनुसार रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्ने बताउनुभयो । पूर्व-सहमतिअनुसार रास्वपालाई गृह मन्त्रालय नदिए अफ्ठेरो स्थिति पैदा हुनसक्ने उहाँको भनाइ छ । ओलीले यसअघि पनि गृह मन्त्रालय रास्वपालाई दिनुपर्ने बताउँदै आउनुभएको थियो । ‘पूर्व-सहमति के हो भन्ने कुरा सबैलाई थाहै छ । रास्वपालाई उपप्रधानसहित गृह र अन्य मन्त्रालय दिएको हो,’ उहाँले भन्नुभयो, ‘उसले कसलाई मन्त्री बनाउँछ त्यो उसको कुरा हो । उसलाई गृह मन्त्रालय नदिने कसैको एकतर्फी छुट्टै निर्णयले अफ्ठेरो पैदा गर्छ । तर, त्यस्तो भएको छैन ।’ ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने तर्कसमेत गर्नुभयो ।

राजनीतिक समीकरण फेरबदल हुँदैन, सरकार पनि तलमाथि हुँदैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने बताउनुभएको छ । बिहीबार पार्टीको स्थायी समिति बैठकबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले सरकार केही नहुने र आफूले बुझेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता पनि नलिने बताउनुभयो । तत्काल सत्ता समीकरण फरेबदल नहुने उहाँको भनाइ छ । ‘राजनीतिक समीकरण फेरबदल हुँदैन । सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन,’ उहाँले भन्नुभयो । तर, बैठकमा भने अध्यक्ष प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने परिस्थिति बनेको ब्रिफिङ गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?